भक्तपुरमा उपत्यकाव्यापी साइकल हन्ट हुने
भक्तपुर : भक्तपुरमा पहिलोपटक उपत्यकाव्यापी साइकल हन्ट हुने भएको छ। विश्व स्काउटअन्तर्गत युवाहरुको रोभर स्काउट सुरु भएको सय वर्ष पुगेको अवसरमा साउन २६ गते उक्त साइकल हन्ट हुन लागेको हो।
भक्तपुरस्थित पायोनियर ओपन क्र्युले लायन्स क्लब अफ भक्तपुर गोल्डेनगेट, भादगाउँ र बागमतीसँग मिलेर साइकल हन्ट गर्ने कार्यक्रम संयोजक रमेश सितिखूले जानकारी दिए।
उनका अनुसार साइकल हन्टका सहभागीले २२ किलोमिटर साइकल हाँक्नुपर्नेछ। साइकलमार्फत २२ किलोमिटर दूरी पार गर्न कम्तीमा तीनघन्टा लाग्ने कार्यक्रम संयोजक सितिखू बताउँछन्।
र्यालीका उत्कृष्ट तीन साइकल यात्रीलाई आकर्षक उपहारको व्यवस्था गरिएको छ। भक्तपुर दरबार क्षेत्रबाट सुरु हुने उक्त र्याली चाँगुनारायण नपाको झौखेल र छालिङ हुँदै विश्व सम्पदा चाँगुनारायण मन्दिरमा समापन गरिने उनले जानकारी दिए। बाटोको अधिकांश भाग उकालीओराली छ। त्यस्तै कतै साइकल चढ्नुभन्दा डोर्याएर लानुपर्ने ठाउँ छन्।
‘उकालीओराली भएको ठाउँमा साइकल चलाउनु नै साहसिक साइकल यात्रा हो’, लायन्स क्लव अफ भक्तपुर गोल्डेन गेटका संस्थापक अध्यक्ष रविनारायण कायस्थले भने, ‘भक्तपुरमा साहसिक साइकल यात्राको आधार तयार गर्न नै कार्यक्रम गरको हौं।’
उनले युवाहरुलाई खेलसँगै स्वास्थ्यबारे सचेत गर्दै साहसिक साइकल यात्राबारे जानकारी गराउन र्याली गराउन लागिएको स्पष्ट पारे। र्यालीमा करिब तीनसय जना सहभागी हुने आयोजकको अनुमान गरिएको छ।
र्यालीमा १४ वर्षमाथिका उमेर समूहका पुरुषले भाग लिन सक्नेछन्। त्यसको लागि दुई सय पचास रुपैयाँ शुल्क तिरेर आफ्नो दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। दर्ता शुल्क तिरेपछि सहभागीले र्यालीको दिन एउटा टिसर्ट, बिहानको खाजा र दिउँसोको खाना खाने सुविधा पाउनेछन्।
साइकल नहुने सहभागीलाई भने एकदिनको पाँचसय रुपैयाँ शुल्क तिरे आयोजकबाट साइकलको समेत व्यवस्था हुने कार्यक्रम संयोजक सितिखू बताउँछन्। ‘आफूसँग साइकल छैन भने हामीले नै साइकलको व्यवस्था गरिदिन्छौं’, उनले भने, ‘तर त्यसको लागि अग्रिम बुकिङ गर्नुपर्नेछ।’
र्यालीमा भक्तपुरकै डा. इवामुरा मेमोरियल अस्पतालले स्वास्थ्य सेवा उपलब्ध गराउनेछ। रोभर स्काउटिङ एकसय वर्ष पूरा भएको अवसरमा विश्वभर विभिन्न कार्यक्रम गर्ने क्रममा भक्तपुरमा भने साइकल हन्ट गरिएको पायोनियर ओपन क्र्युका अध्यक्ष रवीन्द्र बासुकलाले बताए। उनका अनुसार साइकल हन्ट गर्न करिब तीनलाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।