पेरिसडाँडाको जग्गा निखन्दै नेकपा
काठमाडौं : नेकपाले पेरिसडाँडा पार्टी कार्यालय अगाडिको बैंकमा रहेको जग्गा निखन्न थालेको छ । पार्टी कार्यालबाहिरको २१ आना जग्गामध्ये साढे १३ आना जग्गा तीन साता अगाडि मात्रै नेकपाले निखनेको हो ।
जग्गा निखन्नका लागि अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेताहरूलाई बोलाएर २ करोड रूपैंया दिएका थिए । नेकपाको पूर्वघटक माओवादी केन्द्रको मुख्यालय रहेको पेरिसडाँडाको बाँकी साढे ७ आना जग्गा पनि निखन्ने प्रक्रियामा रहेको नेताहरूले बताएका छन् ।
तत्कालीन माओवादीको मजदुर संगठनले पार्टीको नाममा रहेको पेरिसडाँडाको जग्गा नेताहरू गणेश रेग्मी, बाबुराम गौतम र जय कार्कीको नाममा ल्याई बंैकमार्फत ऋण लिएका थिए । २०७० सालको दोस्रो संविधानसभा चुनावमा खर्च गर्ने गरी ५ वर्षअघि लाजिम्पाटस्थित नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत २ करोड ऋण लिइएको थियो ।
ऋण लिइएको रकम तत्कालीन धादिङ क्षेत्र नम्बर ३ मा चुनाब लडेका शालिकराम जम्मकट्टेल र काठमाडौं ३ मा चुनाब लडेका रेग्मीको निर्वाचन क्षेत्रमा खर्च गरिएको थियो । ऋण लिइएयता उक्त रकमको अहिलेसम्म ब्याज समेत तिरिएको थिएन ।
मजदुर संगठनले ०६८ सालमा मजदुर सहिद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेडका नाममा अलग्गै ५ करोड रूपैयाँ ऋण लिएको थियो । उक्त ऋणको पनि सावा–ब्याज गरी कुल ४ करोड ४७ लाख रूपैयाँ तिर्न बाँकी थियो ।
उक्त ऋण नतिरेपछि मजदुर नेताहरू नै ‘कालो सूची’मा पर्न थालेपछि पेरिसडाँडाको जग्गा बेचेर तिर्ने योजनामा मजदुर नेताहरू लागेपछि विवाद बढेको थियो ।
विवाद पार्टी अध्यक्ष दाहालसामु पुगेपछि दाहालले जग्गा बेच्न रोकेका थिए । उनले पार्टी कार्यालयअगाडिको २१ आनाको उक्त जग्गा बैंकबाट निखनेर पार्टीको नाममा ल्याउनुपर्ने बताएका थिए । ‘तर स्वरोजगारको ऋण भने जसले चलाएको हो, उनीहरूले नै व्यक्तिगत रूपमा तिर्नुपर्छ’, दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो । दाहालको भनाइपछि मजदुर नेताहरू अत्तालिएका थिए ।
पूर्वमाओवादी केन्द्रीय कार्यालयको साढे १३ आना जग्गा पार्टीमै फर्काइयो, बाँकी साढे ७ आना फर्काउने तयारी
अध्यक्ष दाहालले तीन साताअगाडि मात्रै जग्गा बैंकबाट निखन्न रेग्मी, कार्की, मजदुर संगठनका फ्याक्सन इन्चार्ज जयपुरी घर्तीलगायतलाई खुमलटारस्थित आफ्नो निवास बोलाई २ करोड रूपैयाँ दिएका थिए । सो रकम बैंकलाई तिरेपछि तीनमध्ये दुई व्यक्तिका नाममा रहेको जग्गा निखनिएको हो ।
‘बैंकमा ऋण लिनका लागि हाम्रो नाममा ल्याएको जग्गा बैंकको ऋण तिरेर पुनः पार्टीले आफ्नो नाममा पास गरेर लगिसकेको छ,’ कार्कीले अन्नपूर्णसँग भने, ‘अब बाबुरामजीको नाममा रहेको जग्गा निखन्न र पार्टीको नाममा ल्याउन बाँकी छ ।’
गौतमको नाममा रहेको जग्गा भने उनले पार्टी नाममा फिर्ता गर्न आनाकानी गरेका छन् । उनले स्वरोजगार कोषमा रहेको ऋण चुक्ता नभएसम्म आफ्नो नाममा आएको जग्गा पार्टीलाई नदिने बताएका छन् । नेपाल इन्भेस्टमेन्ट बंैकको ऋणको ब्याज र सावासहित यसअगाडि पनि नेतृ घर्तीको पहलमा केही महिनाअघि मात्रै १ करोड रूपैयाँ तिरिएको थियो ।
गौतमको नाममा रहेको जग्गामा ७५ लाख रूपैयाँ बंैकमा दाखिला गर्दा साढे ७ आना जग्गा पार्टीकै नाममा आउने छ ।
बैंकमा ऋण तिरेपछि जग्गा पुनः पार्टीको नाममा ल्याउन पेरिसडाँडास्थित कार्र्यालयका मुख्य सचिव प्रल्लाद बुढाथोकी पार्टीको अख्तियारी पत्रसहित मालपोत पुगेका थिए ।
अध्यक्ष दाहालले दिएको २ करोडमध्ये १ करोड १७ लाख रूपैयाँ बंैकलाई तिरिएको कार्कीले बताए । दाहालले दिएकामध्ये बाँकी ८३ लाख रूपैयाँले भने स्वरोजगार कोषमा रहेको ऋण तिरिएको छ ।