संसदीय समितिको पहिलो बैठक : चिनजानमा सीमित

संसदीय समितिको पहिलो बैठक : चिनजानमा सीमित

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिको पहिलो बैठक सोमबार बसेको छ। सिंहदरबारस्थित संसद् सचिवालयमा रहेका समितिका आ–आफ्ना भवनमा पहिलो बैठक सम्पन्न भएको हो।

संघीय संसद् सुरु भएको करिब पाँच महिनापछि गठित सबै समितिको पहिलो बैठक सांसदहरूबीच सामान्य चिनजानमै सीमित भयो। कांग्रेसका सांसद तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सदस्य प्रकाश रसाइली (स्नेही)ले भने, ‘पहिलो बैठक भएकाले औपचारिकता मात्र निर्वाह भयो। समिति सदस्यहरूबीच परिचयात्मक (चिनजान)कार्यक्रम भयो। अरु कुनै महŒवपूर्ण विषयमा औपचारिक छलफल भएन।’ समितिको सभापति चयन नभएकाले सबै बैठकको सभापतित्व भने जेष्ठ सदस्यले गरेका थिए।

बैठकमा समिति सदस्यहरूबीच चिनजान, समितिको कार्यक्षेत्र र सरोकारका विषय प्रवेश भएको थियो। नेकपाका सांसदसमेत रहेका अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य डा.दीपकप्रकाश भट्टले भने, ‘पहिलो बैठकमा विषय प्रवेशबारे छलफल भयो। विदेश नीतिसँग सम्बन्धित भएकाले हामीले विदेश नीति कसरी साझा बनाउने तथा सैन्य कूटनीति र अर्थ कूटनीति कसरी प्रभावकारी बनाउन सकिन्छ सामान्य छलफल भयो।’

राज्यव्यवस्था समितिले भने पहिलो बैठकमै दुई निर्णय गरेको छ। समितिले मौलिक हकसम्बन्धी विधेयक छिटो बनाउन र बाढीपहिरोको क्षति न्यूनीकरणबारे सरकारसँग जानकारी माग्ने निर्णय गरेको छ। राजपाका सांसदसमेत रहेका राज्यव्यवस्था समिति सदस्य राजकिशोर यादवले भने, ‘संविधान कार्यान्वयनका लागि असोज २ गतेभित्र मौलिक हकसम्बन्धी दर्जनौं कानुन बनाइसक्नु पर्नेछ, यसका लागि सरकारले चाँडोभन्दा चाँडो विधेयक सदनमा ल्याउन समितिले सरकारको ध्यानाकर्षण गराएको छ भने देशभर अहिले बाढीपहिरोको सन्त्रास छ। सरकारले यसबारे कस्तो तयारी गरेको छ, जानकारी माग गर्ने निर्णय भएको छ।’

 ‘मिनी पार्लियामेन्ट’ मानिने संसदीय समितिहरू भर्खर गठन भएकाले अधिकांश समितिमा छलफलका लागि कुनै विधेयक दर्ता भएका छैनन्।
 

‘मिनी पार्लियामेन्ट’ का रूपमा लिइने संसदीय समितिहरू भर्खर गठन भएकाले अधिकांश समितिमा छलफलका लागि कुनै विधेयक दर्ता भएका छैनन्। यसअघि सरकारले संसदीय समिति नहुँदा विधेयकहरू सिधै संसद्बाट पारित गरिरहेको थियो। अब समिति गठन भएसँगै विधेयकहरू छलफलका लागि सम्बन्धित समितिमा पठाइनेछन्। समितिले व्यापक छलफल र बहसपछि विधेयक संसद्मा पठाउनेछ। विधेयक संसद्मा पेस भएपछि अहिले फुर्सदिला रहेका सांसदहरू व्यस्त हुनेछन्। संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले दुवै सदनमा दर्ता भएका विधेयक सम्बन्धित समितिमा आउने क्रम सुरु भएको जानकारी दिए। उनले भने, ‘अब विधेयक धमाधम समितिमा आउन थाल्छन्। सदनमा दर्ता भएका विधेयकहरू सम्बन्धित समितिमा छलफलका लागि आउने क्रम सुरु भएको छ।’

संयुक्त सदन अन्तर्गतरहेको संसदीय सुनुवाइ समितिको बैठक भने यसअघि नै बसिसकेको छ। समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ गर्दै उनलाई अस्वीकृत गर्ने निर्णय गरेको थियो। राष्ट्रियसभाअन्तर्गतका ४ वटै समितिका पहिलो बैठक भने मंगलबार बस्ने छन्। समितिका बैठक दिउँसो २ बजे संसद् सचिवालयमा बस्ने सहायक प्रवक्ता अर्यालले जानकारी दिए।

प्रतिनिधिसभाअन्तर्गत अर्थसमिति, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समिति, कानुन न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति छन्। राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन समिति, विधायन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.