माैसमी बिरामीको चाप बढ्यो
कालिकोट : बर्खा लागेसँगै जिल्ला अस्पताल कालिकोटमा बिरामीको चाप बढेको छ । अस्पतालमा विभिन्न समस्याका मौसमी बिरामीको चाप बढेको हो । दैनिक ८० देखि १ सय जनासम्म बिरामी अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालका डा. नहकुल शाहीले बताए । डा. शाहीका अनुसार झाडापखाला, रुघाखोकी, ज्वरो, आउँ, पेट दुख्नेलगायत समस्याका बिरामी अस्पतालमा बढी आउने गरेका छन् । उनले भने, ‘वर्षायाममा मौसम परिवर्तन भइरहने भएकाले अघिपछिको तुलनामा धेरै बिरामी हुने गरेका छन् ।’
खानपान, सरसफाइलगायत कुरामा ध्यान दिनाले यस्ता रोगबाट बच्न सकिने डा. शाहीको भनाइ छ । यस्तो समयमा पिउने पानीमा विशेष ध्यान दिनुपर्ने उनी बताउँछन् । जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानीसमेत अभाव भएका कारण बिरामी बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ । जिल्ला अस्पताल कालिकोटमा आउने बढीजसो बिरामीमा महिला, बालबालिका तथा वृद्धवृद्धा छन् । गर्मी समयमा जिल्लाका अधिकांश स्थानमा पानीको अभाव हुँदा र सरसफाइमा ध्यान नदिँदा बिरामीको संख्या बढ्दै गएको डा. शाहीको भनाइ छ । गर्मी मौसममा खानपिन र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव छ । ८ महिनाअघि एक सुत्केरी महिलाको अपरेसनका क्रममा अत्यधिक रक्तस्राव भएका कारण मृत्यु हुँदा जिल्ला अस्पताल कालिकोटमा उपचार गर्ने बिरामीको संख्यामा निकै कमी आएको थियो । अहिले निकसाइमनबाट एमजीपी डाक्टर विज्ञान प्रजापति आएर विभिन्न खालका अपरेसन सेवासमेत सुचारु भएका छन् ।