दरबन्दीमा जाँदैनन डाक्टर

दरबन्दीमा जाँदैनन डाक्टर

महेन्द्रनगर/ टीकापुर  :  २०७३ असोजमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीको अन्यत्र सरुवा भयो। उनको सरुवा भएको करिब २ वर्ष पुग्न लाग्यो अहिलेसम्म सरकारले अस्पतालमा उनको स्थानमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पठाएको छैन्।

अहिलेसम्म निमित्तको भरमा अस्पताल चलिरहेको छ। डाक्टर तिवारी ११ औं तहका चिकित्सक हुन्। सरकारले अहिलेसम्म महाकाली अञ्चल अस्पतालमा दरबन्दी अनुसारको मेडिकल सुपरिटेन्डेन्ट पठाएको छैन्। अस्पतालका कार्यरत रहेका नवौं तहका डाक्टरहरु निमित्त भएर काम गर्नुपर्ने अवस्था रहेको छ।

महाकाली अञ्चल अस्पतालमा स्थापना भएको तीनदशक सम्म कहिले पनि दरबन्दी पुरा भएन। प्राथमिक स्वास्थ्य केन्द्रबाट शुरु भएको महाकाली अञ्चल अस्पताल २०४३ सालमा अञ्चल अस्पतालका रुपमा स्वीकृत पाएर सञ्चालनमा आएको हो। त्यसअघि २०३३ सालमा जिल्ला अस्पतालका रुपमा सेवा दिएको थियो।

महाकाली अञ्चल अस्पताल बनिसकेपछि स्वीकृत भएको दरबन्दी अहिलेसम्म पुरा हुन सकेको छैन्। महाकाली अञ्चल अस्पतालमा तोकिएको दरबन्दी पूर्ति नहुँदा स्वास्थ्य सेवा समेत प्रभावित हुदै आइरहेको छ। तत्कालिन महाकाली अञ्चल अस्पतालका ४ जिल्लाबाट रिफर भएर आएका बिरामीहरुलाई उपचार गर्नुपर्ने महाकाली अञ्चल अस्पताल आफै बिरामी रिफर गर्नुपर्ने अवस्थामा छ।

अस्पताल स्थापनादेखि कार्यरत महाकाली अञ्चल अस्पतालका सुचना अधिकारी केशवदत्त अवस्थीले सरकारले अहिलेसम्म कहिल्यै महाकाली अञ्चल अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नपठाएको बताए। उनले महाकाली अञ्चल अस्पतालमा २०७३ सालदेखी दरबन्दी अनुसारको मेडिकल सुपरिटेन्डेन्ट नभएको र दरबन्दी अनुसार चिकित्सक भने अहिलेसम्म पुर्तिहुन नसकेको बताए।

१८ जना चिकित्सकको दरबन्दी रहेको महाकाली अञ्चल अस्पतालमा, पुरानै दरबन्दीमा चिकित्सक नआएका बेला त्यो संख्या बढाएर २८ जना पु¥याईएको छ। सरकारले २०७२ साउन १५ गतेको निर्णयबाट अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको दरबन्दी २८ जना कायम गरेको हो। तर अहिले उक्त दरबन्दीमा मात्रै ४ जना मात्रै चिकित्सक कार्यरत रहेका छन्।

२४ जनाको दरबन्दी रिक्त रहेको छ। अस्पतालमा अहिले एकजना फिजिसियन, एकजना अर्थोपेडिक, एकजना गाईनो र एकजना सर्जन डाक्टर मात्रै कार्यरत रहेका छन्। सरकारले तोकेको दरबन्दी अनुसार महाकाली अञ्चल अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी मात्रै १८ कायम गरिएको छ। जस अन्र्तगत ११ औं तहका चिकित्सको दरबन्दी ४ जना रहेको छ। तर अहिलेसम्म रिक्त दरबन्दी कायम हुन सकेको छैन्।

यस्तै सामान्य उपचार बाहेकका कुनैपनि उपचार सेवा प्रदान नहुँदा यहाँ उपचारका लागि आउने बिरामीहरु अन्यत्र रिफर भएर जानुपर्ने वाध्यता छ। सरकारले दरबन्दी कागजमा थप गर्दै आएपनि पदपूर्ति नगर्दा यस क्षेत्रका बिरामीहरु स्वास्थ्य सेवा पाउनबाट वञ्चित रहनु परेको अस्पताल विकास समितिका पुर्व अध्यक्ष भोजराज बोहराले बताए। लिखित तथा मौखिक रुपमा बारम्बार दरबन्दी पदपूर्तिका बारेमा सरकारको ध्यानाकर्षण गराउदै आएपनि कार्यान्वयन हुन नसकेको निमित्त मेसु रोजन ताम्राकारले बताए।

‘दरबन्दी अनुसार चिकित्सक परिपूर्ति मात्रै होईन, अरु नर्सिङ स्टाफ पनि पुरा भए मात्रै प्रभावकारी सेवा दिन सकिन्छ, अहिले एक दुई चिकित्सकले चाहेर पनि सेवा दिन सक्ने अवस्था छैन’ उनले भने।

चार वर्षदेखि आईसीयु अलपत्र

आईसीयुका लागि उपकरण जडान भएर कार्यकक्ष बनेको पनि करिब ४ वर्ष हुन थालिसक्यो तर त्यो अझै सञ्चालनमा ल्याउन सकिएको छैन्। स्टाफ नर्स सहित अन्य स्वास्थ्यकर्मीहरुको समेत दरबन्दी रिक्त भएकाले आईसीयु सञ्चालन गर्न नसकिएको अस्पताल प्रशासनले जनाएको छ।

१९ जना स्टाफ नर्सको दरबन्दी रहेको महाकाली अञ्चल अस्पतालमा ११ जनाको दरबन्दी खाली छ। महाकाली अञ्चल अस्पतालको तथ्यांक हेर्ने हो भने हालसम्म मन्त्रालयले स्वीकृत गरेको चिकित्सक र नर्सिङ कर्मचारीहरुको दरबन्दी एकसय ११ जनाको हो। तर अहिले महाकाली अञ्चल अस्पतालमा जम्मा ७५ जना मात्रै कार्यरत रहेका अस्पताल प्रशासनले जनाएको छ।


एघारको दरबन्दी कार्यरत एक जना

कैलालीको टीकापुरस्थित टीकापुर अस्पतालमा पनि दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा विरामीहरु गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन।

नेपाल सरकारले २०७२ असोज २२ गते टीकापुर अस्पताललाई ५१ शैयाको जिल्ला अस्पतालको अनुमति प्रदान गरेको थियो। तर दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा विरामीहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनु परेको छ।

टीकापुर अस्पतालमा ११ जना कन्सल्टेन्ट डाक्टर, १२ जना स्टाफ नर्स र ११ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ। अस्पतालमा हाल एकजना जनरल फिजिसियन, ७ जना नर्सिङ्ग स्टाफ र एक जना कार्यालय सहयोगी मात्रै कार्यरत छन्।

टीकापुर अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर नरेन्द्रकुमार खनालले दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको बताए। ‘अस्पताल राम्रोसँग सञ्चालन गर्नका लागि खाली रहेका सबै दरबन्दी पूर्ति हुनुपर्छ’ डाक्टर खनालले भने। ‘११ जना कन्सल्टेन्ट डाक्टरले दिने सेवा एकजनाले दिदा कत्तीको प्रभावकारी होला, आफै अनुमान गर्न सकिन्छ।’

अस्पतालमा बालरोग विशेषज्ञ, महिला तथा प्रसुती रोग विशेषज्ञ, जनरल फिजिसियन, जर्नल सर्जन, हाडजोर्नी रोग विशेषज्ञ सर्जन, छालारोग विशेषज्ञ, रेडियोलोजिस्ट, मानसिक रोग विशेषज्ञको दरबन्दी रहेको छ तर डाक्टर अहिले सम्म आएका छैनन।

‘अस्पतालको स्तरवृद्धि भएसँगै दरबन्दी थपिएको हो तर हालसम्म मन्त्रालयले एकजना पनि डाक्टर पठाएको छैन’ मेसु डाक्टर खनालले भने। ‘कर्मचारीका लागि मन्त्रालय र विभाग धाउँदा धाउँदा हामी हैरान भइसकेका छौं।’ केही दिन अघि मात्र विभाग पुगेका डाक्टर खनालले अर्थ मन्त्रालयले बजेट व्यवस्था गरे यसै वर्ष एक जना बालरोग विशेषज्ञ, एकजना जनरल सर्जन र एक जना हाडजोर्नी रोग विशेषज्ञ पठाउने आश्वासन पाएको बताए।

अस्पतालमा डाक्टरका लागि आवश्यक आवासको व्यवस्था नहुँदा कतिपय डाक्टरहरु आउन नमानेको खनालले बताए। ‘एउटा विशेषज्ञ डाक्टरले आवास र सरकारी बाहेक नीजि क्लिनिकबाट पनि आम्दानी खोज्छन, तर त्यो सानो ठाउँमा हुदैन, अनी आउन मान्दैनन’ उनले भने।

विशेषज्ञ डाक्टर र दक्ष स्वास्थ्यकर्मी नहुँदा विरामीहरुलाई अन्यत्र रिफर गर्नुपरेको अस्पतालले जनाएको छ। सरकारी दरबन्दीमा एक जना मात्र भएपनि अस्पतालमा ३ जना स्थायी डाक्टर, एक जना करार र २ जना नेपाल सरकारको छात्रवृत्ति प्राप्त डाक्टर तथा एकजना डेण्टल सर्जन कार्यरत छन्। अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर खनालका अनुसार अस्पतालमा दैनिक तीन शयको हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गरेका छन्।

टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर, भजनी लगायत बर्दियाको पश्चिमी क्षेत्रका विरामीहरु समेत टीकापुर अस्पतालमा उपचारका लागि आउने गरेका छन्। अस्पतालले गत आर्थिक वर्षमा झण्डै ६० हजार बिरामीको उपचार गरेको थियो।

जिल्ला अस्पतालकै मान्यता पाएको टीकापुर अस्पतालबाट विशेषज्ञ सेवा नपाउँदा यहाँका विरामीहरु धनगढी, नेपालगञ्ज लगायत भारतीय शहरमा धाउन बाध्य छन्। ‘सामान्य हात टुटे पनि हामीले नेपालगञ्ज, धनगढीसम्म धाउनु पर्ने बाध्यता छ’ मुनुवाका रमेश कठरियाले भने ‘सरकारले दरबन्दी अनुसारका व्यवस्था गरिदिए सर्वसुलभ स्वास्थ्य सेवा पाउन सकिन्थ्यो।’

फोटो क्याप्सनः १) दक्ष जनशक्तिको अभावमा रहेको टीकापुर अस्पताल। २) टीकापुर अस्पतालमा उपचारका लागि लाइन लागेका सेवाग्राही। तस्वीरः परमानन्द पाण्डे÷अन्नपूर्ण।

फोटो क्याप्सन ः महाकाली अञ्चल अस्पताल। तस्बीर ः बिष्णु प्रसाद देबकोटा÷अन्नपूर्ण पोष्ट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.