निर्माण नसकिँदै सडकमा भ्वाङ
जनकपुरधाम : जनकपुर उपमहानगरपालिकाभित्र सडक निर्माण नसकिँदै भ्वाङ पर्न थालेको छ । गुणस्तरहीन सामग्रीको प्रयोग भएको कारण निर्माणाधीन सडक बन्न नपाउँदै भत्किन थालेको हो । उपमहानगरपालिका–४ पिडरिया माइस्थानदेखि क्याम्पस जाने मुख्य सडकमा कालोपत्रे भएको एक महिना नबित्दै सोमबार ठूलो भ्वाङ परेपछि ठेकेदार र सम्बन्धित निकायको लापरवाही भएको स्पष्ट देखिएको छ ।
सो सडक भएर मोटरसाइकलमा जाँदै गर्दा एक्कासि सडकमा भ्वाङ परेर मोटरसाइकलको चक्का फसेको स्थानीय बिक्की पाठकले बताए । उनले भने, ‘मोटरसाइकल निकाल्दै गर्दासम्म त सडक फुटेर पूरै अलकत्रा हातले उखेल्न सकिने भयो ।
एक महिनाअघि मात्र पक्की गरिएको सडकमा भ्वाङ पर्नु र हातैले अलत्रासमेत निस्कनु सडकको गुणस्तरबारे शंका गर्छन्, वडा नं ४ का अध्यक्ष सुदर्शन सिंह । उनले भने, ‘ठेकेदार कम्पनीसँग मिलोमतो गरी सम्बन्धित निकायले गुणस्तरहीन सडक निर्माणको काम नगरक्षेत्रभित्र गर्दै आएको छ । यसकै उदाहरण हो यो सडक भासिनु ।’
सिंहले गुणस्तरहीन निर्माणलाई रोक्न आफूहरुले पटक–पटक दबाव दिए पनि ठेकेदारले टेरपुच्छर नलगाएको बताए । बाहिरबाट हेर्दा सडक निर्माण गर्न तोकिएको मापदण्ड पुरा गरेको देखिएपनि सडक पक्की गर्न प्रयोग गरिएको अलकतराको गुणस्तरतर्फ ध्यान नदिइएको स्थानीयहरुको भनाइ छ ।
जनकपुरको मालपोत कार्यालयदेखि राराब क्याम्पससम्म ५ सय २३ मिटर सडक निर्माण गर्न जनकपुरकै बलराम कन्स्ट्रक्सनले जिम्मेवारी पाएको छ । २ करोड ६१ लाख ५४ हजार ५ सय २२ रुपैयाँको लागतमा निर्माण भइरहेको सडकको चौडाई ९ मिटर रहेको छ । शहरी डिभिजन कार्यालयले बनाउँदै गरेकोे उक्त सडक खण्ड अहिले निर्माणाधीन अवस्थामा छ । करिब सय मिटर सडक पक्की गर्ने काम अझ बाँकी रहेको छ । नगरक्षेभरी हाल भईरहेको सडक तथा नाला निर्माणको क्रममा कमसल सामग्रीको प्रयोग भएकै कारण निर्माणाधिन अवस्थामै अलकतरा फुट्ने, म्यान होल भत्कीने र नाला भाँसिने जस्ता समस्याहरु देखा पर्न थालेको छ ।