हिलोबाट सिकौं
यतिबेला काठमाडौंका प्रायः सडक हिलाम्मे छन्। केही साताअघि भक्तपुरको राधेराधेपरिसरको टोल त पूर्णरूपमा डुबानमा पर्यो। काठमाडौं उपत्यकाका सबैजसो मुख्य सडकमा बाढी आयो। यसले उपत्यकावासीको दैनिकीमा धक्का पुगेको छ। उपत्यकाको यस्तो विरक्तलाग्दो अवस्थाले उपत्यकावासीको आक्रोश अहिले सामाजिक सञ्जालमा देख्न पाइन्छ।
हरेक वर्ष नेपालभरि नै यसैगरी सताउँदै आएको छ। बाढीले जीवन, अन्न र सम्पत्तिको विनाश गर्दै आइरहेको छ। हजारौंको संख्यामा मानिसहरू विस्थापित हुने गरेका छन् भने सयौंको संख्यामा ज्यान जाने गरेको छ। तर यसबारे सामाजिक सञ्जालमा खासै दह्रो आवाज कहिल्यै सुनिँदैन। काठमाडौंका सडक पानीले भरिँदा मात्रै सामाजिक सञ्जालका भित्ता रंगिएको देखेर प्रश्न उठ्छ– नेपाल र नेपाली भनेको काठमाडौं मात्र हो त ?
द्वन्द्वकालमा पूरै नेपालबाट काठमाडौंमा बसाइँ सर्नेहरूको ओइरो लाग्यो। विकासका कार्यक्रममा पारदर्शिताको कमी हुँदा नेपालीबीच काठमाडौं उपत्यका मात्र अवसरले भरिएको सहरका रूपमा चिनिन पुग्यो। १५ वर्षको जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनले अहिले नेपालमा संघीयता आएको छ। यसले नेपालीमाझ उत्साह छरिरहेको छ। मिर्मिरे बिहानीमा देखिने सूर्यको किरणजस्तै आशाका किरणहरू नेपालीका आँखामा प्रतिविम्बित देखिन सकिन्छ। यो ‘संघीयताले दिएको’ आशा हो।
काठमाडौं उपत्यकाको हिलो र वर्षाको आतंकबाट हामीले केही सिक्नुपर्छ। नेपाली भनेको काठमाडौंमा मात्र सीमित छैन। उपत्यकावासीको दैनिकीमा वाधा आउँदा चर्चा र विरोधहरू छ, तर नेपालको ग्रामीण भागमा दिनचर्या कटाउनसमेत गाह्रो हुने वातावरण, वर्षभरि नै हुँदा पनि हामी सबै मौन नै बस्छन्। सरकार पनि काठमाडौंप्रति बढी आकर्षित देखिन्छ। काठमाडौंमा कुनै आपत्ति आउनासाथ त्यसका लागि ढिलै भए पनि कार्यविधि अगाडि बढाउँछ, तर नेपालको अरू भागमा भने उपर्युक्त राहत नपुगेको देख्दा सरकार पनि काठमाडौंमा मात्र सीमित छ भन्ने कुरा पुष्टि हुन्छ। ३४ वर्षअघि बाढी आएको स्थानमा कबुल गरेको राहत नपाउने बर्दिया, बाँके तथा अन्य जिल्लालगायतमा अझै धेरै बाँकी छन्।
काठमाडौंका सडक पानीले भरिँदा मात्रै सामाजिक सञ्जालका भित्ता रंगिएको देखेर प्रश्न उठ्छ– नेपाल र नेपाली भनेको काठमाडौं मात्र हो त ?
जनताले आफ्नो बहुमूल्य मत प्रदान गरी पहिलोपटक नेपालमा दुईतिहाइ बहुमतले जिताएको सरकार आएको छ। तर यस सरकारको नेता अरूभन्दा बढी चर्को आवाजमा बोलेको देखिन्छ। तर मैदानमा उत्रेर कुनै सकारात्मक कदम चालेको देखिँदैन। अझै पनि काठमाडौंलाई स्मार्ट सिटी र विकसित सहर बनाउने, मोनोरेल ल्याउने जस्ता आश्वासनमै सीमित छन्। व्यवस्थित र सफा राखे काठमाडौंको रूप आफैंमा सुन्दर र नमुना रूप हुन जान्छ। सानो र भरिभराउ सडक नै सफा, ट्राफिक व्यवस्थित र घरजग्गा बेचविखन गर्नमा उपर्युक्त कानुन भए प्रकृति र ऐतिहासिक, मौलिक मान्यताले भरिभराउ काठमाडौं कुनै युरोपेली सहरभन्दा कम देखिँदैन। काठमाडौंको यो रूपलाई पूर्ण तरिकाले बदल्नुभन्दा यही रूपलाई राम्ररी प्रस्तुत गर्न सके धेरै आर्थिक भार नपर्ने र सहर राम्रो हुनेछ। यो तथ्य हाम्रा केही नेताले बुझेकै छैनन् भने केहीले बुझेर पनि बुझ पचाएका छन्।
पूर्वाधारको पनि पूर्वाधार सडक हो भनेर हामीले स्कुलमा सामाजिक शिक्षामा पढेकै हो। तर नेपालमा अझैसम्म पनि अति दुर्गम ठाउँमा सडकसमेत नपुग्दा त्यहाँको पूर्वाधारहरूको विकास हुन पाएको छैन। मौलिक अधिकारलाई नेपालको संविधानले सुनिश्चित गरेको छ, तर विडम्बना त्यो कागजमा मात्र सीमित छ। देशको यो हालत हुँदा पहिला यस विषयलाई बहस र विकासको प्राथमिकता दिनु सरकारका मूल एजेन्डा हुन्, जरुरी छ।
अब काठमाडौंबाट निस्कने बेला आएको छ। हरेक गाउँमा अवसर भए त्यहाँका युवाहरूले आफ्नै जन्मभूमिलाई नै कार्यभूमि पनि बनाउन सहज हुन्छ। यसले देशको अर्थतन्त्रमा ठूलो राहत पुग्न आउँछ। नेपालीको पसिना नेपालमै बग्छ र नेपालकै निमित्त बग्छ।
नेपालीका आँखामा प्रतिविम्बित नयाँ नेपालको सपना देख्न मात्र नभई वास्तविकतामा विपनामा उतार्न यसले ठूलो साहस र आत्मविश्वासको राप दिन्छ। संघीयताको सक्दो उपयोग नगरे हामीले देखेको संघीयताको आस त्रासमा र संघीयताको सूर्यको प्रकाशको चमक भने कालो बादलमा परिणत भई गडगडाउँदो वर्षा र चट्याङले हामीलाई सधैं पिरोलिरहनेछ भनेर नभन्न सकिन्न।