अग्रज चित्रकार मनुजबाबु मिश्रको निधन
काठमाडौं : अग्रज चित्रकार मनुजबाबु मिश्रको निधन भएको छ। मंगलबार राति २ बजे चाबहिलस्थित निवासमा मिश्रको निधन भएको उनकी बुहारी शारिकाले अन्नपूर्णलाई जानकारी दिइन्।
विश्व चित्रकलाको इतिहास र अभ्यासका अध्येता मिश्र आफ्नो बेलामा गायनदेखि अभिनयसम्म, निबन्ध लेखनदेखि उपन्यासलेखनसम्म सक्रिय रहे। चित्रकला उनको मूल विषय थियो। उनले सन् १९६९ मा बंगलादेशको कलेज अफ आर्ट एन्ड क्राफ्टबाट ललितकलामा स्नातक गरेका थिए।
२०४६ सालयता उनी एकान्तबासमा थिए। उनी ८३ वर्षका थिए।
मिश्रका श्रीमतीसहित दुई छोरा र दुई छोरी छन्। जेठा छोरा पूर्व पत्रकार रवीन्द्र मिश्र विवेकशील साझा पार्टीका संयोजक छन्। उनकी एक छोरी मञ्जु मिश्र ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का संस्थापक एवं क्याम्पस प्रमुख हुन्।
मनुजबाबुका कान्छा छोरा रोशन लन्डनमा रहेकोले उनी फर्केपछि बिहीबार अन्तिम संस्कार गर्ने पारिवारले तयारी गरेको छ।