चरिकोटमा पहिरो, दुई गम्भीर घाइते, दुई घर बगे
चरिकोट : उत्तरी दोलखाको विगु गाउँपालिका-३ खानीगाउँ बुलुङमा मंगलबार राति परेको अबिरल वर्षाका कारण आएको पहिरोमा पुरिएर दुईजना गम्भीर घाइते भएका छन्। मंगलबार राति करिब १२ बजेको समयमा विगु गाउँपालिका-३ खानीगाउँ बुलुङ बस्ने ५५ वर्षीय श्याबहादुर श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया दलमाया श्रेष्ठ गम्भीर घाइते भएको विगु गाउँपालिका -३ का वडाध्यक्ष श्रीराम खड्काले जानकारी दिए।
मध्यराति करिब १२ बजे घर माथिबाट आएको पहिरोले श्रेष्ठ दम्पति बसेको घर पुरेको वडाध्यक्ष खड्काले जानकारी दिए।घाइते दुबैलाई स्थानीयले उद्धार गरी सुरक्षित स्थानमा राखिएको र थप उपचारका लागि हेलिकप्टरको बन्दोबस्त मिलाउन लागिएको वडाध्यक्ष खड्काले जानकारी दिए।
पहिरोले विगु गाउँपालिका-३, खानीगाउँ बुलुङका रामकृष्ण श्रेष्ठको गोठ पुरिँदा भैंसी र बाख्रा गरी ५ चौपायाको मृत्यु भएको विगु गाउँपालिकाका प्रवक्ता लेखनाथ चौलागाईंले जानकारी दिए।
प्रवक्ता चौलागाईंका अनुसार बुलुङमा मात्र अन्य ७ ओटा चौपायाको मृत्यु भएको छ भने केही व्यवसायिक कुखुरा फार्ममा समेत पहिरोले क्षति पुर्याएको छ।
यस्तै गौरीशंकर गाउँपालिका-८ खारेको टुनिटारमा अबिरल वर्षाका कारणले आएको पहिरोले दुई घर बगाएको छ । स्थानीय सञ्चारकर्मी उद्धव विसीले दिएको जानकारी अनुसार रामबहादुर तामाङ र रामकुमार बुढाथोकीको घर पहिरोले बगाएको छ भने गणेश कुँवर, चटकबहादुर बुढाथोकी र लक्ष्मण बुढाथोकीको घरमा भल पसेर आंशिक क्षति भएको छ। त्यसैगरी खारे उपस्वास्थ्य चौकीको भवनमा वर्षाले क्षति पुर्याएको छ।