पुजारी घरमा मकै खेती !
भक्तपुर : चारैतिर आठ वटा ढलान गरिएका पिल्लर। बीचमा मकै खेती। मकै जोगाउन तेर्सो बाँसमा प्लाइउडका पाटाले छेकिएको। मकैको बीचमा काँक्रो, घिरौलालगायतका लहरेबारी।
माथिको तस्बिरमा देखिएको यो दृश्य कुनै व्यवसायिक मकै खेतीको भने होइन। त्यस्तै पैसा नभएर पूरा गर्न नसकेको भूकम्प पीडितको अपुरो घर पनि होइन। तस्बिर हेर्दा मुद्दा परेर निर्माण त्यत्तिकै छाडिएको घर जस्तो पनि लाग्छ।
यो भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरका पुजारीको बन्न लागेको घर हो। पुजारी घरको गत वर्ष शिलान्यास गरिएको थियो। शिलान्यासलगत्तै ठड्याइएका पिल्लरले अहिलेसम्म पर्खालको साथ पाएका छैनन्। न त ढलान नै भेट्टाएको छ।
भारतको उत्तराखण्डस्थित केदारनाथको शीर घोषणा गरिएको डोलेश्वर महादेव मन्दिरमा करिब ५७ करोडको गुरुयोजनाअनुसार मन्दिर क्षेत्र विस्तार र विकास भइरहेको छ। डोलेश्वर महादेव मन्दिरको संरक्षण र विकास गर्न गठित समितिले यहाँ धेरै भौतिक निर्माणको कार्य गरिरहेको हो।
२०७२ सालको भूकम्पले भत्काएको गुम्बज शैलीको मन्दिरको ठाउँमा अहिले दुईतले प्यागोडा शैलीको मन्दिर निर्माण भइरहेको छ। त्यस्तै मन्दिरको चारैतिर चौघेरा सतलसमेत ढलान भइसकेको छ। मन्दिर परिसरमा अन्य धेरै भौतिक निर्माण भइरहेको छ तर मन्दिरका पुजारी बस्नको लागि बनाइएको पुजारी घर भने आर्थिक अभावले मकै खेती गर्ने थलो बनेको हो।
आर्थिक समस्याले उक्त पुजारी घरलाई पूर्णता दिन नसकिएको केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका कोषाध्यक्ष विश्वराम थापाले जानकारी दिए। समितिसँग भएको रकमले शिलान्यास गरेर जग उठाइएको उनको भनाइ थियो।
उनका अनुसार दुईतले पुजारी घरको लागि करिब ९० लाख रुपैयाँ लाग्ने इस्टिमेट गरिएको थियो। निर्माण सुरु गरेपछि दाताहरु आउने विश्वासले उक्त पुजारी घर निर्माण सुरु गरिएको उनको भनाइ थियो।
‘समितिसँग भएको रकमले निर्माण सुरु गरेपछि भक्तजनले सहयोग गर्ने विश्वास थियो’, कोषाध्यक्ष थापाले भने, ‘तर त्यस्तो सहयोग जुट्न सकेको छैन। त्यसैले त्यत्तिकै राख्नुपरेको छ।’ उनका अनुसार अर्थ अभावले त्यत्तिकै राख्नुभन्दा मन्दिरमा काम गर्नेले मकै लगाएको हुन्। यता मन्दिरका पुजारीले भने उक्त घर बन्न नसक्नु विडम्बना भएको प्रतिक्रिया दिएका छन्।
छुट्टै पुजारी घरको व्यवस्था नहुँदा आफूहरुलाई पूजाको सामानको व्यवस्थापनमा असहज भइरहेको पुजारी बच्चुराम जंगम बताउँछन्। ‘शिलान्यास भएर काम अघि बढेको पुजारी घर बीचैमा रोकिनु दुर्भाग्य हो’, उनले भने।
डोलेश्वर मन्दिरमा अहिले एकमहिन श्रावणी मेला चलिरहेको छ। तेस्रो सोमबारसम्म करिब दुईलाख भक्तजन मन्दिर पुगेको समितिका कोषाध्यक्ष थापा बताउँछन्।
दान भेटी ५५ लाख संकलन
उनले उक्त दिनसम्म करिब ५५ लाख रुपैयाँ दान तथा भेटी संकलन भएकोसमेत जानकारी दिए। उक्त रकम संकलनपछि अब पुजारीघर ठडिने उनी बताउँछन्।
‘तेस्रो सोमबारसम्म करिब ५५ लाख रुपैयाँ दान तथा भेटी संकलन भएको छ। अब पुजारीघर ठडिन्छ’, कोषाध्यक्ष थापाले थपे, ‘भाद्र ६ गतेसम्मको श्रावणी मेलामा हामीले एक करोड दान तथा भेटी संकलन गर्ने अनुमान गरेका छौं।’
उनका अनुसार सोमबार र शनिबार मन्दिरमा पाइला टेक्ने ठाउँ पाइँदैन। वर्षालाई वास्ता नगरी भक्तजन डोलेश्वर महादेवमा आइरहेको उनको भनाइ थियो। उनका अनुसार समितिले यस वर्ष डोलेश्वर महादेव मन्दिरमा करिब पाँच लाख भक्तजन पुग्ने अनुमान छ। तेस्रो सोमबारसम्म डोलेश्वर महादेव पुग्ने भक्तजन दुई लाख नाघेको समितिको दावी छ।