पार्टी बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा दीपकराज जोशी ‘अयोग्य देखिएकै कारण अस्वीकृत’ भएको ब्रिफिङ पार्टी नेताहरूबीच गरेका छन्। बद्नियत राखी प्रधानन्यायाधीशमा अस्विकार गरेको नभएर छानबिन क्रममा अयोग्य भएपछि संसदीय सुनुवाइ विशेष समितिले उनलाई अस्वीकृत गरेको प्रधानमन्त्रीले बताएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकमा समसामयिक विषयको जानकारी गराउँदै प्रधानमन्त्रीले जोशीलाई पहिले प्रधानन्यायाधीश बनाउनकै लागि संवैधानिक परिषद्बाट सिफारिस गरिएको भए पनि सुनुवाइका क्रममा नयाँ–नयाँ विवादित तथ्य आउन थालेपछि अस्वीकृत गर्नुपरेको बताएका थिए।
‘उहाँ (जोशी)लाई प्रधानन्यायाधीश नबनाउने भन्ने छँदै थिएन, बनाउने भनेरै संवैधानिक परिषद्बाट सिफारिस गरिएको थियो’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने, ‘तर सुनुवाइ समितिमा पुगेपछि छानबिनका क्रममा अस्वीकृत गर्नुपर्ने अवस्था उत्पन्न भयो।’
प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय कार्यसमितिले मंगलबार मात्र प्रधानन्यायाधीश प्रकरणमा प्रधानमन्त्रीले दोहोरो चरित्र देखाएको निष्कर्ष निकालेपछि प्रधानमन्त्रीले पार्टी बैठकमा यस विषयमा ब्रिफिङ गरेका हुन्। ‘म समसामयिक विषयमा आज केही कुरा राख्छु’, भन्दै बैठकमा प्रधानमन्त्रीले सरकार गठन भएयताका राजनीतिक घटनाक्रम, छिमेकी देशहरूसँगको सम्बन्धलगायत विषयमा केन्द्रित रहेर दुई घण्टा लामो सम्बोधन गरेका थिए।
जोशीका विषयमा आफूले दोहोरो चरित्र नदेखाएको भन्दै प्रधानमन्त्रीले न्याय परिषद्ले पठाएको सिफारिसकै आधारमा पहिलो नम्बरमै रहेकालाई सुनुवाइका लागि संसदीय समितिमा सिफारिस गरी पठाएको धारणा राखेका थिए। जोशीलाई संसदीय समितिमा सिफारिस गर्ने संवैधानिक परिषद्को अध्यक्ष संविधानतः प्रधानमन्त्री हुन्छन्। संवैधानिक परिषद्बाट सिफारिस आफैं गर्ने र पार्टीका सांसदलाई ह्विप लगाइ सुनुवाइ समितिबाट अस्वीकृत गर्न लगाएर प्रधानमन्त्रीले दोहोरो चरित्र देखाएको आरोप कांग्रेसले लगाएको थियो।
कांग्रेस अहिले सरकार असफल बनाउने योजनामा रहेकाले त्यस्तो आरोप आफूमाथि लगाएको प्रधानमन्त्रीको भनाइ थियो। ‘कांग्रेसको काम नै अहिले कसरी सरकारलाई असफल पार्न सकिन्छ सूत्र खोज्दै हिँड्ने हो, यसका लागि उसले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा जेजस्ता एजेन्डा पाइन्छ, उछाल्न खोजेको छ’, प्रधानमन्त्रीले भने, ‘कांग्रेसको त्यस्तो आरोप र षडयन्त्र कसै गरी पनि सफल हँुदैन।’
जोशीका विषयमा आफूले दोहोरो चरित्र नदेखाएको भन्दै प्रधानमन्त्रीले न्याय परिषद्ले पठाएको सिफारिसकै आधारमा पहिलो नम्बरमै रहेकालाई सुनुवाइका लागि संसदीय समितिमा सिफारिस गरी पठाएको धारणा राखेका थिए।
तर उनले सरकारका काम प्रभावकारी बन्न नसकिरहेको भने स्वीकार गरेका छन्। ‘सरकारका सबै काम राम्रा भएका छन् भन्ने होइन, कतिपय मन्त्रीको काम सन्तोषजनक देखिएको छैन। सबै मन्त्रीलाई राम्रो काम नगरे हटाउन सकिन्छ भन्ने जनाउ पनि दिइएकै छ’, बैठकमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै अर्का नेताले भने, ‘सरकारको कामको पनि समीक्षा गरेर जान सकिन्छ, गरौं।’
यसअघिको पार्टी स्थायी समिति बैठकमा सरकारको काम प्रभावकारी हुन नसकेको भन्दै नेताहरूले आलोचना गर्न थालेपछि सरकारका विषयमा छुट्टै बैठक बोलाएर छलफल गर्ने भन्दै बैठक टुंगिएको थियो।
अब बिहीबार बस्ने सचिवालय बैठकले सरकारका कामको समीक्षालगायत विभिन्न विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाउने मिति तोक्नेछ। ‘स्थायी समिति बैठक बोलाउने गरी अब बिहीबारको बैठकमा छलफल हुन्छ’, बैठकपछि नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपाले ५ भदौभित्र प्रदेश तथा जिल्ला कमिटीदेखि पार्टीको जनवर्गीय संगठनका केन्द्र्रीय समितिसम्मको एकीकरण सक्न आन्तरिक निर्देशन दिएको थियो। एकीकरणका लागि पार्टीको आन्तरिक निर्णय बिहीबारको बैठकले गर्ने पनि उनले बताए।
अध्यक्षद्वयले भने, ‘राजीनामा फिर्ता लिनोस्’, श्रेष्ठले भने, ‘लिन्नँ’
नेकपा सचिवालय बैठकमा नेता नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ताबाट दिएको राजीनामाको विषय पनि उठेको थियो। श्रेष्ठलाई बैठकको सुरुमै प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले प्रवक्ताबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। ‘पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर हुँदैन, यसमा तपार्इंको भूमिका महत्वपूर्ण छ, राजीनामा फिर्ता लिएर जिम्मेवारी सम्हाल्नुहोस्’, नेता श्रेष्ठसँग प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए।
अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि राजीनामा फिर्ता लिन श्रेष्ठसँग आग्रह गरेका थिए। तर श्रेष्ठले आफ्नो निर्णय अहिले पनि यथावत् रहेको भन्दै राजीनामा फिर्ता नलिने अडान लिएका थिए। ‘म आफ्नो निर्णयमा अडिग नै छु’, उनले बैठकमा भने, ‘प्रवक्ताबाट दिएको राजीनामा स्वीकृत गरिदिनुहोस्।’
वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका अनुसार अध्यक्षद्वयले पार्टी प्रवक्ताबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरे पनि नेता श्रेष्ठले अझै फिर्ता लिएका छैनन्। ‘अध्यक्षले प्रवक्ताबाट राजीनामा दिनुभएका नारायणकाजी श्रेष्ठलाई राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको थियो, तर उहाँले मान्नुभएको छैन, त्यो विषय अझै यथावत् नै छ’, वरिष्ठ नेता खनालले भने।
साउन ७ गतेको सचिवालय बैठकमा श्रेष्ठले पार्टी प्रवक्ताबाट राजीनामा दिएका थिए। बैठकमा प्रधानमन्त्री ओलीले डा.गोविन्द केसीलाई पार्टीको जानकारीबिना भेटेको भन्दै कसको अनुमतिमा भेटेको भनी मौखिक स्पष्टीकरण सोधेका थिए। अर्का अध्यक्ष दाहालले पनि डा.केसी र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग श्रेष्ठले भेट्दा कांग्रेसको आन्दोलनलाई सघाउ पुगेको बताएपछि नेता श्रेष्ठ अध्यक्षद्वयसँग आक्रोशित भएका थिए। त्यसलगत्तै श्रेष्ठले ‘मैले किन भेट्न नपाउने ? त्यसो भए मलाई यो प्रवक्ता पद चाहिएन, मैले राजीनामा दिएँ’ भन्दै राजीनामा बुझाएर बैठक छाडी हिँडेका थिए।