युवा नै भ्रष्ट भएपछि के आशा गर्ने ?
काठमाडौं : सरकारी सेवामा भर्खरै मात्रै छिरेका युवा लेखा अधिकृत रविनचन्द्र ढकालले साढे दुई वर्षको अवधिमा ७ करोडभन्दा बढी अनियमितता गरेको खबर सार्वजनिक भएपछि कर्मचारीप्रति सर्वसाधारणको आक्रोश एवं संशय चुलिएको छ ।
हालै सेवामा प्रवेश गरेका युवा नै भ्रष्टाचारमा लिप्त हुने गरेका घटनाले सेवामा प्रवेश गरेका युवाप्रतिको विश्वासमा समेत प्रश्नचिह्न सिर्जना हुन पुगेको छ । कर्मचारीतन्त्र झनै खतरानाक भ्रष्टीकरणको जालोमा फसेको टिप्पणी सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम बढेको छ ।
उदयपुरको कटारी र इलामको माई नगरपालिकामा लेखा अधिकृतका रूपमा रहदा ७ करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप खेपेका उनीविरुद्ध अहिले विशेष अदालतमा बयान जारी छ । बुधबार उनको बयान सकिएको र बिहीबार थुनछेक आदेश जारी हुने विशेष अदालतमा रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए ।
गत २० असारमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी २०७२ साल १५ मंसिरमा मात्रै निजामती सेवामा प्रवेश गरेका थिए । उनी लेखा समूहका कर्मचारी हुन् । हाल उनी अख्तियारको कस्टडीमा छन् ।
काम, नैतिकता र इमानदारीभन्दा पनि पैसा र सम्पत्तिलाई पुज्ने हाम्रो सामाजिक संस्कारका कारण युवामा भ्रष्ट संस्कृति मौलाउन पुगेको समाजशास्त्री एवं त्रिविका प्रा. मधुसूदन सुवेदीको टिप्पणी छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा उनले राजनीतिक नेतृत्वका रूपमा रहेको मुहान नै खराब भएकाले कर्मचारी संयन्त्रका सदस्यमा मलाई के हुन्छ भन्ने प्रवृत्ति मौलाएको र फलस्वरूप ७ करोडको भ्रष्टाचारको घट्ना हुने गरेको धारणा राखे ।
लोकसेवा पास गर्नेको मनोवैज्ञानिक अध्ययन गरी नैतिकता एवं इमानदारी परीक्षण गर्नुपर्नेमा जोड ।
कर्मचारीतन्त्रमा भ्रष्टचार हाबी हुन थालेपछि अहिले सरकारले शाखा अधिकृतमा प्रवेश गरेका विद्यार्थीलाई दिइने ६ महिनाको आवासीय तालिममा सदाचार र नैतिकताको पाठ पढाउन थालेको छ । स्टाफ कलेजले दुई वर्षदेखि त्यस्तो तालिम दिएर पासआउटको समयमा प्रतिबद्धतासहितको शपथसमेत खुवाउन थालेको छ । निजामती सेवामा प्रवेश गरेका युवालाई नैतिकवान् एवं चरित्रवान् बनाउन नसके आगामी दिनमा सरकारी सेवा विकृतिको अखडा बन्न सक्ने स्टाफ कलेजका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले चिन्ता व्यक्त गरे ।
कार्यक्षेत्रमा खटिएका अधिकृतलगायत कर्मचारीको बानीव्यहोरा, चरित्र र कार्य सम्पादनबारे उनीहरूभन्दा माथिको निकायबाट नियमित अनुगमन जरुरी रहेको उनको भनाइ छ ।
लोकसेवा आयोगले पनि अब परीक्षा प्रणालीमार्फत सरकारी सेवामा प्रवेश गरेका अधिकृतको मनोवैज्ञानिक पक्षमाथि अध्ययन गरी नैतिकता एवं इमानदारी परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।
युवा पुस्तामा रातारात धनी हुने लोभका कारण यस्ता घटना हुने गरेको महालेखा नियन्त्रक सुरेश प्रधानले बताए । यस्ता प्रवृत्तिलाई समयमै नियन्त्रण गर्न नसके भयावह स्थिति आउन सक्ने उनको भनाइ छ ।