जोखिम मोलेर बालुवा निकाल्छन् महिला
जुम्ला : ‘बिहान–बेलुका घरायसी काम गर्दै ठिक्क हुन्छ, दिनमा पनि खासै फुर्सद मिल्दैन, फुर्सद मिलिहाल्यो भने नदीबाट बालुवा संकलन गर्छु’, चन्दननाथ नगरपालिका–६ छिना गाउँकी ४५ वर्षीया कुसुकला सुनारले भनिन्, ‘दैनिक काममा घोटिए पनि घरमा ३ महिना पनि खान पुग्दैन ।’ श्रीमान्ले अरूकोमा काम गरेर कमाएको ज्यालाले मात्र सात जनाको परिवार पाल्न धौधौ पर्ने गरेको उनले बताइन् । उनी ज्यान जोखिममा राखेर नदीमा बालुवा संकलन गर्छिन् । ‘बालुवा संकलन नगरुँ भने घरखर्च चलाउनै मुस्किल पर्छ, संकलन गरुँ भने कतिखेर नदीले बगाउने थाहा छैन’, उनले भनिन् । अन्य आयस्रोत नभएको उनले बताइन् ।
कुसुकला सुनारजस्तै पीडा बोकेका हजारांै जुम्ली महिला आफ्नो ज्यान जोखिममा राखेर नदीमा बालुवा संकलन गरिरहेका छन् । जिल्लाको दानसाँगु, कारागार नजिक, हाँकु, कुडारी त्रिवेणी, सिंजा क्षेत्रलगायत दर्जन बढी नदीबाट गरिब महिला जीविकोपार्जनका लागि बालुवा संकलन गर्न बाध्य छन् ।
नदीको बहाव बढेसँगै बालुवा पनि धेरै र गुणस्तरीय पाइने भएकाले हरेक वर्ष साउने भेलमा गएर जुम्ली महिला बालुवा झिक्न तयार हुन्छन् । गरिबीका कारण बालुवा संकलन गरी घरखर्च सञ्चालन गर्ने महिला बालुवा संकलन गर्ने क्रममै नदीमा बगेर मृत्यु भएको विगत वर्षका प्रशस्त उदाहरण छन् । तर, त्यो बुझेर पनि नबुझेझैँ गरी महिला ज्यानको प्रवाह नगरी हरेक वर्ष साउने भेलमा नदीको बालुवा उतारिरहेको देखिन्छ । नदीमा बालुवा संकलन गर्ने अधिकांश उमेर ढल्किसकेका महिला भेटिन्छन् । उनीहरूको परिवारमा पुरुषले अन्य काम गर्ने र महिलालाई नदीमा बालुवा संकलन गर्न पठाउने चलन छ । यहाँका कुनै पनि स्थानीय तहले महिलालाई नदीबाट बालुवा संकलन गरेर बेच्न रोक लगाएका छैनन् । त्यसले गर्दा पनि बालुवा संकलन गर्ने महिला महिना दिनमा ५० हजार रुपैयाँभन्दा बढी रकम कमाउन सफल भएका छन् । नदीबाट संकलन गरेको बालुवा ट्र्याक्टरको प्रतिट्रली पाँच हजार रुपैयाँमा बिक्री हुने गरेको छ ।
गत वर्ष नदीको साउने भेलमा बालुवा संकलन गरेर महिना दिनभित्र एक लाख कमाउन सफल चन्दननाथ–७ की ४४ वर्षीया गोरी सुनार यस वर्ष सोअनुसार आम्दानी नहुने बताउँछिन् । ‘नदीको बहाव निकै ठूलो छ, बालुवाले ज्यान खतरामा देख्छु’, उनले भनिन्, ‘उमेर ढल्किँदै गएपछि अहिले पानीमा जाँदा रिँगटा लाग्छ, नदीको छालमा पाइने बालुवा संकलन गर्नेको भीड हुन्छ, नदीको बीचमा जान सकिँदैन ।’ श्रीमान्ले ज्यामीमा काठ र ढुंगाको मिस्त्री काम गरेर कमाएको पैसाले पाँच जना परिवारको घरखर्च चलाउन र छोराछोरी पढाउन मुस्किल भएपछि आफूले बालुवा बेचेर कमाउने गरेको उनले बताइन् । नदीको बालुवा बेचेरै घरखर्च टार्दै आएकी तातोपानी गाउँपालिका–६ की काली कामीले पनि आफ्नो आयआर्जनको मुख्य स्रोत बालुवा बनाएकी छन् ।
जिल्लामा बढ्दो सहरीकरण र सरकारी तथा निजी घर, भवन निर्माणले बालुवाको माग बजारमा बढ्दो छ । बढ्दो मागअनुसार जताततै खनिएका सडक कालोपत्रेदेखि पुल, पुलेसा निर्माणले महिलाले संकलन गरेको बालुवा बेच्न बजार खोज्नुपरेको छैन । महिलाले जहाँ बालुवा संकलन गर्छन्, त्यहीँ ठेकेदार पुगेर बालुवा किन्ने गर्छन् । कतिपय ठेकेदारले त पछि बालुवा दिने सर्तमा चाडबाडको अवसर पारी अग्रिम रकम दिने गरेको पनि पाइन्छ ।