सदाका लागि एकान्तबासमा मनुजबाबु
काठमाडौं : वरिष्ठ कलाकार एवं लेखक मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातका कारण मंगलबार राति २ बजे आफ्नै निवास चाबहिलमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
मधुमेहका बिरामी मिश्रलाई करिब तीन महिनाअगाडि पनि स्वास्थ्यमा समस्या देखा परेका कारण केही दिनका लागि अस्पतालमा भर्ना गरिएको उनकी बुहारी सारिका मि श्रले बताइन्। २०४६ सालपछि आफ्नै घरमा एकान्तबासमा रहेका मिश्रले यो अवधिभर आफ्नै कृतिसम्बन्धी कार्यक्रममा पनि सहभागिता जनाएनन्। पारिवारिक भ्रमणका क्रममा भने पोखरा, चन्द्रागिरिलगायतका ठाउँमा गएको सारिकाले बताइन्। उनका अनुसार आगामी जनै पूर्णिमामा ८३ वर्ष पूरा हुने मिश्रको उमेरकै कारण स्वास्थ्यमा समस्या भए पनि उनले स्केचहरू बनाउन भने अहिलेसम्म छाडेनन्।
सन् १९६९ मा ढाकाको कलेज अफ आर्ट एन्ड क्राफ्टबाट ललितकलामा स्नातक पूरा गरेका मिश्र नेपाली चित्रकलादेखि विश्व चित्रकलाको इतिहासका अध्येताका रूपमा चिनिन्छन्। समकालीन नेपाली चित्रकारमध्ये अग्रज मिश्रका चित्रकला स्वदेशमा मात्रै नभई विदेशमा पनि निकै चर्चित छन्।
मिश्रले कला समीक्षकको रूपमा लेखेका ग्रन्थहरूमा कलाको विश्व इतिहासदेखि नेपालको सन्दर्भसम्मलाई समेटिएको प्राध्यापक अभि सुवेदीले बताए। उमेरले ठूलो भए पनि आफूहरू साथीजस्तै भएकाले मिश्रका घरमा बेलाबेलामा जाने गरेको सुवेदीले बताए। चित्रकार मिश्रले डा.सुवेदीको पोट्रेटसमेत बनाएका थिए। मिश्रसँग कुराकानी गर्ने क्रममा उनलाई एक संघर्षशील मानिसको रूपमा आफूले पाएको र संसार भयानक भए पनि समाधान गर्ने बाटो भागेर होइन भोगेर हो भन्ने सोच उनमा पाएको सुवेदीले स्मरण गरे। आफूलाई लागेको कुरा नलुकाइकन प्रस्ट लेख्ने बानी मिश्रको छ।
डा.सुवेदीका अनुसार मिश्रका लेखनमा मानिसको स्वतन्त्रता र स्वाभिमानको विषयमा चिन्तन गरेको भेटिन्छ। आजको दिनमा मानिस ठूलो संकटबाट गुज्रेको अवस्थामा छ। आधुनिक युगले आतंकित रहेका मानिसलाई उनले आफ्नो चित्रमार्फत अभिव्यक्त गर्ने गरेकाले आफ्नै टाउको छेडेर उडिरहेको रकेट, युद्ध, उडिरहेका मानिसलगायतका विषयलाई चित्रमा समेट्ने गरेका गरेका सुवेदीले बताए। मिश्रको निधन नेपाली कला जगत्लाई मात्रै नभई राष्ट्रकै लागि एउटा ठूलो क्षति भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी उपकुलपति रागिनी उपाध्यायले बताइन्। ‘उहाँ आधुनिक कलाका महत्वपूर्ण पिलर हुनुहुन्थ्यो, आज त्यो पिलर ढल्यो’, आफ्ना प्रिय कलाकारको निधनमा दुःखी हुँदै उनले भनिन्। कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका मिश्रका कलाकृति अति कल्पनाशीलतामा आधारित रहेका उनको विश्लेषण छ। कलाकारको कृतिले धेरै दर्शकको मनमस्तिष्कमा छोएका हुने हुनाले उनका कलाकृति अमर रहने उनले बताइन्।
कलाकार मिश्रका चित्रकला सरियालिज्म स्टायलमा आधारित रहेका वरिष्ठ कलाकार केके कर्माचार्यको बुझाइ छ। उनका अनुसार यथार्थलाई बंग्याएर आफ्नो कल्पनामा डुब्ने र विषयसँग नजिक भएर भावनात्मक रूपमा प्रस्तुत हुने मिश्रका विशेषता हुन्। पृथक् ढंगका मिश्रका चित्र बेजोड हुन्थे भने तिनले विद्रोहको भावना समेट्ने कर्माचार्यले बताए। मोनालिसालाई गहना र गुन्यूचोली लगाइदिएर उनको नेपालीकरण गरेका, आफ्नै पोट्रेटमा सिंह बनाएर जंगली भाव अभिव्यक्त गरेकालगायतका मिश्रका चित्र धेरै लोकप्रिय छन्।
कलाकार मिश्रका दुई छोरा र दुई छोरी छन्। उनका जेठा छोरा रवीन्द्र मिश्र विवेकशील साझा पार्टीका संयोजक हुन् भने एक छोरी मञ्जु मिश्र कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी संस्थापक हुन्। उनका कान्छा छोरा बेलायतको लन्डनमा रहेकाले बिहीबार उनी आएपछि मात्रै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ।