क्यानडाली सैनिक २४ वर्षपछि अफ्रिकी मिसनमा

क्यानडाली सैनिक २४ वर्षपछि अफ्रिकी मिसनमा

माली : उत्तरी मालीको घाँसे मैदानमा प्रवेश गर्नुअघि नाइजर नदीको माथिमाथि उडान भर्दै एउटा क्यानडाली दुई–इन्जिनयुक्त सैनिक हेलिकप्टर मालीको विद्रोही इलाकामा पहिलोपटक प्रवेश गरेको देख्न सकिन्थ्यो। 

तोप लिएका दुईजना सैनिक माथिबाटै जमिनको स्थिति नियालिरहेका छन्। यसैबीच पाइलटले घोषणा गर्दन्, ‘लौ बर्बाद भयो। एउटा इन्जिनले काम गरेन। अब एउटा इन्जिनको भरमा उड्नुपर्छ।’ अफ्रिकामा २४ वर्षपछि क्यानाडाले पहिलो शान्ति सैनिक पठाएसँगै उनीहरूले द्वन्द्व र मौसमका बारेमा प्रत्यक्ष बुझ्न थालेका छन्। सायद, यस्तो परिस्थितिको उनीहरूले विगतमा कहिल्यै सामना गर्नुपरेको थिएन।

उनीहरू संयुक्त राष्ट्रसंघको सर्वाधिक कठिन र खतरनाक मिसनमा सहभागी भएका छन्। मालीमा हाल राष्ट्रसंघ मातहत १४ हजार सैनिक परिचालित छन्। उत्तरी मालीमा उडान भर्नु दुरुह ध्रुवीय क्षेत्रमा कार्य गर्नु जस्तै हो। गाओमा तैनाथ क्यानडाली हवाई सेनाका कमान्डर लेफ्टिनेन्ट कर्णेल क्रिस मोरिसनले भने, ‘यहाँ ध्रुवीय हिउँको ठाउँमा बालुवा छ र त्यहाँ माइनस ४० डिग्री छ, यहाँ ४० डिग्रीको प्रचण्ड गर्मी छ।’

सहारामा अति डरलाग्दो परिस्थितिमा हवाई उडान गर्नुपर्दछ, मर्मत गर्न वा तेल भर्न जमिनमा ठावै भेट्न मुस्किल भएको उनी बताउँछन्। उनीसँग यसअघि बोस्निया र अफगानिस्तानमा काम गरेको अनुभव पनि छ। क्यानडाले सन् १९५० को दशकमा राष्ट्रसंघ मातहत ठूलै स्तरमा शान्ति सेना गठन गर्नुपर्नेमा वकालत गरेको थियो। क्यानडाले दुई दशकयता ठूलो संख्यामा शान्ति सेना कतै पनि पठाएको छैन।

क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुडोले शान्ति अभियानमा पुनः सहभागी हुने इच्छा देखाएका छन्। सन् २०२१ मा राष्ट्रसंघ सुरक्षापरिषद्को अस्थायी सदस्य हुनका लागि पनि प्रधानमन्त्री जस्टिनले शान्ति अभियानमा सहभागी हुनेतर्फ कदम चालेका हुन सक्छन्। सन् १९९४ को रुवान्डाको जातीय नरसंहार यता अफ्रिकामा क्यानडाको यो पहिलो मिसन हो। त्यसबखत राष्ट्रसंघीय मिसनको नेतृत्व क्यानडाले नै गरेको थियो।

गत महिनादेखि ५ वटा हेलिकप्टर सहित २ सय ५० जना सैनिक यहाँ आइपुगेका हुन्। उनीहरूले यसअघि जर्मन सैनिकले गरिरहेको स्वास्थ्य उद्धारको कार्य गर्नेछन्। उनीहरूलाई गाओको क्यास्टोर क्याम्पमा राखिएको छ। यहाँ जर्मनीका ९ सय र नेदरल्यान्ड्सका १ सय सैनिक तैनाथ छन्।

त्यहीँ नजिक राष्ट्रसंघको अर्को क्याम्पमा गैरनेटो मुलुकका अरू ४ हजार सैनिक तैनाथ छन्। मालीमा रहेको मानुस्मालाई अहिले राष्ट्रसंघको सर्वाधिक खतरनाक शान्ति अभियानका रूपमा लिइएको छ। सन् २०१३ मा यो अभियान तैनाथ गरेयता १ सय ७० जनाभन्दा बढी सैनिक मारिइसकेका छन्। यो संख्या विश्वभर शान्ति सैनिक मारिएकामध्ये आधाभन्दा बढी हो।

अलकायदासँग निकट रहेका इस्लामिक लडाकुहरूले सन् २०१२ देखि उत्तरी मालीको मरुभूमिमा नियन्त्रण गरिरहेका थिए तर जनवरी २०१३ मा आरम्भ गरिएको फ्रान्सेली नेतृत्वको सैनिक अपरेशनले उनीहरूलाई त्यहाँबाट तितरबितर पारेको दाबी गरिएको छ।

यद्यपि मुलुकको ठूलो हिस्सा अझै पनि माली, फ्रेन्च र राष्ट्रसंघीय सैनिकको नियन्त्रणभन्दा बाहिर छ र अलकायदाका लडाकुले बारम्बार आक्रमण गरिरहेका छन्। ‘हामी राष्ट्रसंघलाई मद्दत गर्न चाहन्छौं तर यो अति कठिन अभियान हो’, मालीमा तैनाथ क्यानडाली सेनाका कमान्डर क्रिस म्याकेन्ना भन्छन्, ‘यो निकै जटिल पनि छ। यहाँको वातावरण कठोर छ, धुलो र प्रचण्ड गर्मी छ। तैपनि हामीले रामै्रसँग काम गरिरहेका छौं।’

क्यानडाले राष्ट्रसंघीय मिसनमा आफूलाई पुनः समाहित गरेकामा यहाँ तैनाथ सैनिकले खुशी व्यक्त गरेका छन्। ‘मिसनमा पुनः काम गर्न पाउँदा खुशी लागेको छ। हामी यहाँ मानिसको जीवन बचाउन आएका हौं’, हेलिकप्टरका पाइलट डोमिनिक सिमार्डले भने। क्यानडाली सैनिकहरूले हवाई सेवा मात्र उपलब्ध गराउनेछन्। उनीहरूलाई पैदल लडाइँमा खटाइनेछैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.