६१ करोडमा बिक्री भयो सौर्य एयरलाइन्स
काठमाडौँः निजी हवाई सेवा प्रदायक सौर्य एयरलाइन्स ६१ करोड रुपैयाँमा बिक्री भएको छ । व्यवसायी श्याम अधिकारी, श्यामकृष्ण महर्जन र रामप्रसाद पन्थीको नयाँ व्यवस्थापकीय टिमले सौर्य एयरलाइन्स खरिद गरेको हो ।
लामो समयदेखि आर्थिक संकट झेलिरहेको सौर्य एयरलाइन्स अन्ततः नयाँ व्यवस्थापकीय टिमको जिम्मामा पुगेको छ । अबको केही दिनमै नयाँ व्यवस्थापकीय टिमले सौर्य एयरलाइन्स सञ्चालन गर्ने भएको छ।
तर स्वामित्व हस्तान्तरण प्रक्रिया पुरा गर्न भने केही समय लाग्नेछ । तत्कालको अवस्थामा सबै स्वामित्व नयाँ व्यवसथापकीय टिमको हुनेछ । केही स्वामित्व आफूले पनि लिन सकिने नसकिने भन्ने विषय छलफलबाट टुंगिने सौर्य एयरलाइन्सका तत्कालीन सञ्चालक दीपक पोखरेलले बताएका छन् ।
अहिले सौर्य एयरलाइन्स कम्पनी रामप्रसाद पन्थीका छोरा बुद्धिराज पन्थीको नाममा हस्तान्तरण भएको छ । तर सञ्चालक टिममा भने अरु पनि सदस्य छन् ।
सौर्यसँग सीआरजे २०० सिरिजका दुईवटा जहाज छन् । एउटा जहाजले नियमित उडान भरिरहेको छ । अर्को जहाजमा प्राविधिक समस्या आएकाले उडान भरेको छैन । त्यो जहाजको मर्मतपछि उडान सुरु हुनेछ ।