शरद भेषावकरले एसिया कप गुमाउने
काठमाडौं : नेपालको ऐतिहासिक एकदिवसीय खेलका क्रममा चोटग्रस्त बनेका ब्याट्सम्यान शरद भेषावकरले यसै महिना हुने एसिया कपको छनोट प्रतियोगिता भने नखेल्ने भएका छन्।
चोटबाट मुक्त हुन अझै चार साता आराम गर्नुपर्ने भएकाले शरद एसिया कप छनोटमा सहभागी नहुने भएका हुन्। सोही कारण उनलाई बन्द प्रशिक्षणका लागि बोलाइएको १९ खेलाडीको सूचीमा समेत समेटिएको छैन।
‘शरद नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा चोटग्रस्त भएका थिए’, राष्ट्रिय टोलीका प्राविधिक विश्लेषक रमण शिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उनलाई चोटबाट मुक्त हुन अझै चार साता लाग्नेछ।’ अर्काे महिना (सेप्टेम्बर १५ देखि २८ तारिख) संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एसिया कपका लागि अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा छनोट प्रतियोगिता हुँदैछ।
शरद नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय खेलका क्रममा चोटग्रस्त बनेका थिए। फिल्डिङ गर्ने क्रममा उनको औंलामा बलले चोट लागेको थियो। उनले उक्त खेलमा ११औं क्रममा ब्याटिङ गरेका थिए। उक्त खेलमा ५५ रनले पराजित भएको नेपाल दोस्रो एकदिवसीय खेलमा भने एक रनले विजयी भएको थियो। त्यहाँबाट फर्किएपछि नेपाल अर्काे महत्वपूर्ण प्रतियोगिताको तयारीमा जुटेको हो।
भारत र पाकिस्तानको सिनियर टोलीसँग पहिलो पटक प्रतिस्पर्धा गर्ने अवसरको रूपमा रहेको एसिया कपसम्म पुग्ने छनोट प्रतियोगितालाई नेपाली टोलीले महत्वपूर्ण मानेको छ। छनोट प्रतियोगिताको विजेता बनेमा नेपाली टोली एसिया कपमा भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ। त्यससँगै नेपालले भारत र पाकिस्तानको सिनियर राष्ट्रिय टोलीसँग पहिलो पटक प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ।
भारत र पाकिस्तानले एसियालीस्तरको प्रतियोगितामध्ये एसिया कपमा मात्र आफ्नो सिनियर टोली पठाउने गरेका छन्। यद्यपि त्यसअघि नेपालले हङकङ, यूएई, ओमान, मलेसिया र सिंगापुरजस्ता बलिया टोलीलाई पन्छाउनु पर्नेछ। आगामी मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणका लागि पछिल्लो समय टोलीमा नपरेकामध्ये विनोद भण्डारी, किशोर महतो, सागर पुन, प्रदीप ऐरी, सुनील धमला र सुशन भारीलाई समावेश गरिएको छ।
त्यसबाहेक हालै नेपालको पहिलो एकदिवसीय शृंखलामा सहभागी भएर फर्किएका कप्तान पारस खड्का, अनिलकुमार शाह, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल पनि बन्द प्रशिक्षणमा सहभागी हुनेछन्।