फ्रान्सेलीको सम्पत्ति छानबिन गर्दै राजस्व
काठमाडौं : राजस्व अनुसन्धान विभागले ठमेलस्थित हिमालयन बैंक लिमिटेडमा रहेको खातामा अस्वाभाविक रूपमा ठूलो रकम जम्मा गरेको अभियोगमा पक्राउ फ्रान्सेली रेगिस बर्नाल्ड एन्टोनीको सम्पत्तिको छानबिन थालेको छ। हिमालयन बैंकमा उनको मुद्दती खातामा अस्वाभाविक रकम जम्मा भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एन्टोनीलाई पक्राउ गरेको थियो।
शुद्धीकरण विभागले एन्टोनीको कारोबार शंकास्पद हुन सक्ने भन्दै थप अनुसन्धान गर्न फाइल राजस्व अनुसन्धानलाई जिम्मा दिएको हो। हिरासतमा रहेका एन्टोनीलाई अध्यागमन विभागले राजस्व अनुसन्धान विभागमा पठाउने तयारी गरेको छ। शुद्धीकरण विभागले एन्टोनीको हिमालयन बैंकको खातामा जम्मा भएको रकमको स्रोत गैरकानुनी भए÷नभएको आफंैले पनि अनुसन्धान जारी राखेको जनाएको छ।
पर्यटक भिसामा बस्दै आएका एन्टोनीले हिमालयन बैंकमा मुद्दती खाता खोली रकम जम्मा गर्दै आएका थिए। पर्यटक भिसामा आएका कुनै पनि विदेशी एक भिसा वर्षमा १ सय ५० दिनभन्दा बढी बस्न पाउँदैनन्। उनको पर्यटक भिसाको म्यादसमेत बिहीबार सकिएको छ। शुद्धीकरण विभागले उनको विदेश यात्रामा रोक लगाउन पत्राचार गरेपछि अघिल्लो साता विमानस्थल अध्यागमन कार्यालयले उनलाई पक्राउ गरेको थियो। हिमालयन बैंकमा रहेको एन्टोनीको खातामा जम्मा रकम शंकास्पद देखिएको सूचना दिँदै शुद्धीकरण विभागले उनको विदेश यात्रामा रोक लगाउन अध्यागमन विभागलाई पत्र पठाएको थियो।
सम्पत्ति शुद्धीकरण विभागले एन्टोनीको कारोबार शंकास्पद हुन सक्ने भन्दै थप अनुसन्धान गर्न फाइल राजस्व अनुसन्धानलाई जिम्मा दिएको हो।
अध्यागमनको हिरासतमा रहेका एन्टोनीलाई राजस्व अनुसन्धान विभागमा बुझाइ दिन आग्रह गर्दै अध्यागमनलाई बुधबार पत्र पठाएको थियो। शुद्धीकरण विभागले उनीबारे गरेको प्रारम्भीक जाँचबुझ र त्यसको निष्कर्ष, हालसम्म फेला परेका प्रमाणलगायत आवश्यक कागजपत्र राजस्व अनुसन्धानमा पठाइएको पत्रमा उल्लेख छ।
पटक पटक नेपाल आउँदा रकम ल्याएर उनले हिमालयन बैंकमा जम्मा गरेका थिए। प्रारम्भिक बयानमा उनले आफू रसुवाको स्याफ्रुबेंसीमा सामाजिक सेवाको काम गर्दै आएको बताएका थिए। उनी १७ डी १४२५१५ नम्बरको फ्रान्सेली राहदानीमा नेपाल ओहोरदोहोर गर्दै आएका छन्।