साहित्यकार दाहाल यज्ञनिधि गम्भीर बिरामी
काठमाडौं : साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधि गम्भीर बिरामी भएका छन्। फेरिएको मृर्गौलाले काम नगरेपछि लामो समयदेखि डायलसिस गर्दै आएका दाहाल बुधबार बिहान घरमै लडेपछि गम्भीर बिरामी भएका हुन्।
नियमित डाइलसिसका लागि जान खाना खाइसकेर जुठो थाल धारामा राखेर फर्किदै गर्दा दाहाल लडेका हुन्। ‘खाएको थाल आफैं धारामा लाने बानी उहाँको पुरानै हो। थाल धारामा राखेर कचौरा चाहिँ बोकेर फर्किर्दै गर्दा लड्नुभयो। टाउँकोमा सामान्य चोट लागेको छ। लडेको ठाउँमा बेहोस् हुनुहुथ्यो’, श्रीमती सुधा दाहालले भनिन्, ‘उठाएको केही बेरमा होस खुल्यो। उहाँकै सल्लाहमा नियमित डाइलसिसका लागि ट्याक्सी चढेर राष्ट्रिय मृर्गौला रोग उपचार केन्द्रमा पुग्यौँ।’
बनस्थलीसथत मृर्गौला उपचार केन्द्रमा डायलसिसकै क्रममा फेरि दाहाललाई समस्या देखियो। ‘डाइलसिस गर्दागर्दै भोक लाग्यो भन्नुभयो। खानेकुरा दिएँ। तर हातले समातेन भन्नुभयो’, सुधाले भनिन्, ‘खानेकुरा आफैँ खुवाइदिएँ। खाइसक्दा उहाँले शरीरको दाइने पाटो नचलेको बताउनुभयो। त्यसपछि हतारहतार डाइलसिस रोकेर अन्नपूर्ण अस्पताल आयौँ।’
माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको इमर्जेन्सिमा भर्ना भएपछि दाहालको स्वास्थ्यमा फेरि थप समस्या देखिएको छ। त्यसपछि उनले कुराकानी गर्न सकेका छैनन्।
अहिले उनको आइसियुमा उपचार भइराखेको छ। अन्नपूर्ण न्यूरो अस्पतालका प्रमुख डा. वसन्त पन्तका अनुसार दाहालको टाउकोमा रगत जमेकाले उपचार जटिल बन्दै गएको छ। अपरेशन गर्नुपर्ने समस्या देखिए पनि लामो समयदेखि डाइलसिस भएकाले अपरेसन गर्नु खतरा हुने उनको भनाइ छ।
दुईवटै मृर्गौलाले काम नगरेपछि २०५७ फागुन १० गते उनको मृर्गौला फेरिएको थियो। फेरेको मृर्गौलाले काम नगरेपछि २०६८ साउत २२ गतेदेखि ओछ्यान परेका दाहाल त्यसयता डाइलसिस गराउँदै आएका छन्।
सञ्चारकर्मी दाहाल नेपाली रेडियो उद्घोषणमा चर्चित छन्। रेडियो नेपाल, एचबिसी एफएममा लामो समय बिताएका दाहाल पछिल्ला दिनमा रेडियो अन्नपूर्ण नेपालमा कार्यरत छन्।
नेपाली निबन्ध कविता र गीतका सर्जक दाहालको साझा प्रकाशनबाट ‘जदौका निबन्ध’ नाम एकमात्र कृति प्रकाशित छ। ६५ वर्षीय दाहाल काठमाडौंको मण्डिखाटारस्थित घरमा आमा र श्रीमतीसँग बस्दै आएका छन्।