‘न सहिद देखे, न हामीलाई सुने’
सुर्खेत : कर्कट पाताले छाएको दुईकोठे सानो घर । त्यही घरको आँगनमा उनी आफन्तसँग पीडा भुल्ने प्रयास गर्दै थिइन् । तीन वर्षअघिको त्यही घटनाले उनको आँखाबाट टिलपिल आँसु बगिरहेको थियो, जुन घटनामा उनले पति गुमाउनुपरेको थियो । जब साउन २५ गते नजिक आउँछ, तब वीरेन्द्रनगर–४ भैरवस्थान निवासी दुर्गादेवी गौतमलाई पति गुमाउनुको पीडाले सताउन थाल्छ ।
०७२ साउन २५ गते प्रदेश सीमांकनविरुद्ध सुर्खेतमा भएको आन्दोलनमा दुर्गादेवीका पति टीकाराम प्रहरीबाट मारिए । उनका पतिले बगाएको रगतको बलमा आन्दोलन सफल भयो, सुदूरपश्चिममा गाभिएका जिल्ला पनि फिर्ता भए । आन्दोलनकै बलमा स्थापना भएको प्रदेशमा अहिले सरकार र संसद् पनि गठन भइसके । तर, दुर्गादेवीको आँगनमा आजसम्म न मन्त्री पुगेका छन्, न त कोही सांसद र नेता नै ! दुर्गादेवीले पति गुमाएको र यस क्षेत्रका नागरिकले नयाँ प्रदेश पाएको तीन वर्ष पूरा हुँदै छ । तर, दुर्गादेवी मात्र होइनन्, प्रदेश आन्दोलनमा मारिएका चार जना सहिदका आफन्त र परिवार भने हालसम्म उपेक्षामा छन् ।
‘मेरा पतिले रगत बगाउँदा आन्दोलन सफल भयो, अहिले आफ्नै प्रदेश र सरकार भन्न पाएका छौं’, दुर्गादेवीले भनिन्, ‘प्रदेश र स्थानीय सरकार आएको यतिका भयो तर आजसम्म कोही पनि मेरो आँगनमा फर्केर आएका छैनन् । आन्दोलन सफल भएपछि न सहिद देखे न त हामीलाई सुने ।’ छाती र मुटुको समस्याले घरबाहिर राम्रोसँग हिँडडुलसमेत गर्न नसक्ने उनले प्रदेश सरकारले आफूहरूको पीडा नसुनेको गुनासो गरिन् । पति गुमाउँदाको पीडाले बेलाबेला भक्कानिने गरेकी उनले भनिन्, ‘यो प्रदेशमा हाम्रा आफन्तको रगत मिसिएको छ तर आज सत्तामा पुगेपछि कसैले सहिदलाई सम्झेनन् । हामीसँग गरिएको वाचा पनि पूरा भएनन्, हामीलाई राज्यबाटै अपहेलना भयो ।’
सीमांकनविरुद्ध भएको आन्दोलन क्रममा सुर्खेतमा टीकाराम गौतमसँगै यामबहादुर विसी र गोपालसिं रजवार मारिएका थिए । १३ दिनसम्म चलेको सोही आन्दोलनमा जुम्लामा हरिबहादुर कुँवरको पनि ज्यान गएको थियो । चार जनाको ज्यान जाने गरी भएको सोही आन्दोलनको बलमा अहिले कर्णाली प्रदेश प्राप्त भएको छ । कर्णालीको नाम र स्थायी राजधानी पनि टुंगो लागिसकेको छ । तर, आन्दोलनका सहिदलाई औपचारिक कार्यक्रममा सम्झनेबाहेक प्रदेश सरकारबाट ठोस सम्मानका काम नभएको सहिद परिवारको गुनासो छ । सहिद यामबहादुर विसीका बुबा शेरबहादुर बुढा भन्छन्, ‘हामीले छोरा गुमाएको तीन वर्ष भयो, छोराको रगतबाट आज प्रदेशमा सरकार र संसद् छन् । तर, हाम्रा आफन्तले बगाएको रगतको उचित सम्मान भएन, हामीलाई पनि कसैले आजसम्म हेरेनन् ।’
आन्दोलन क्रममा यहाँका राजनीतिक दलले प्रदेश सरकार बनेपछि सहिदका सालिक स्थापना गर्ने, पीडित परिवारलाई रोजगारी, सहिदको नाममा चोकको नामकरण र पार्क बनाउने प्रतिबद्धता जनाएका थिए । तर, हालसम्म कुनै प्रतिबद्धता पूरा नभएको सहिद परिवारले गुनासो गरेका छन् । प्रदेश सरकार र संसद्ले आफूहरूको पीडा नसुनेको भन्दै उनीहरूले सहिदको पनि अपमान भएको बताएका हुन् । यस्तै, संसद् र मन्त्रालयमा समेत सहिदका फोटा राख्न आनाकानी गरिएको सहिद परिवारको दुखेसो छ । ‘रगतको उचित सम्मान हुनुपर्छ, हाम्रा आफन्तले यो प्रदेशका लागि रगत बगाएका हुन्’ सहिद हरिबहादुर कुँवरका दाजु राजबहादुर भन्छन्, ‘प्रदेश सरकार र संसद्ले सहिदलाई बिर्सिए, यो दुःखद पक्ष हो । हालसम्म सहिदलाई सम्झनलायक कामै हुन सकेन अब यसतर्फ पहल गरियोस् ।’ उपलब्धि हात लागेपछि सहिद र तिनका परिवारलाई भुल्न नहुने उनको भनाइ छ ।
आन्दोलनमा ज्यान गुमाएका चारै जनाको कुनै व्यक्तिगत स्वार्थ थिएन । उनीहरू कर्णाली छुट्टै प्रदेश भएको हेर्न चाहन्थे । तर, जसको रगतसँग साटेर कर्णाली प्रदेश स्थापना भयो, आज उनीहरू नै ओझेलमा परेका छन् । प्रदेश घोषणा भएपछि सहिदका सालिक निर्माण र चोक नामकरण गर्ने उद्घोष गरिएको थियो । तीन वर्ष पुग्नै लाग्दा एउटा पनि प्रतिबद्धता पूरा नभएपछि सहिद परिवार र तिनका आफन्त निरास बनेका हुन् । आन्दोलनका नेतृत्वकर्ता र राज्य दुवै पक्षबाट आफूहरूलाई बेवास्ता गरिएको उनीहरूको दुखेसो छ । आन्दोलन क्रममा ज्यान गुमाएका टीकाराम गौतमकी पत्नी दुर्गादेवी भन्छिन्, ‘आन्दोलमा हामीले घरको मूली गुमायौं, श्रीमान्को रगतले प्रदेश आयो । तर, जसको रगतले प्रदेश स्थापना भयो, आज उनीहरूलाई नै अपमान गरिँदै छ ।’