मैले पुनर्जन्म पाएँ : बुद्धमाया
बर्दिबास : जातीय विभेदमा परेपछि आत्महत्याको प्रयास गरेकी महोत्तरीको बर्दिबासकी बुद्धमाया विश्वकर्माले पुनर्जन्म पाएको बताएकी छन् । ‘मलाई बचाउने सबै भगवान् हुन्’, बर्दिबास—४ स्थित माईस्थान भब्सी हवलदार टोलकी बुद्धमायाले भनिन्, ‘सबैको सहयोगमा मैले पुनर्जन्म पाएँ । मलाई संसार देखाउने सबै भाग्यमानी होउन् ।’
पानी छोएको निहुँमा कुटाइ खाएकी उनले अदालतबाट न्याय पाएकी थिइन् । तर, छिमेकीले सामाजिक बहिष्कार गरेपछि उनले गत असार २७ गते विष सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन् । ‘म सञ्चो भएँ’, काठमाडौंबाट घर फर्किन आतुर रहेकी उनले अन्नपूर्णसँग भनिन्, ‘मेरा गाउँलेलाई छुवाछूत गर्नु हुँदैन भनेर सरकारले सिकाइदिउन्, घरमा आनन्दले बस्ने माहोल मिलाइदिओस् । मलाई अब धेरै बाँच्ने मन छ ।’
बुद्धमाया र उनकी छोरी मनीषामाथि दुव्र्यवहार गर्ने छिमेकी कमला गिरी र उनका भान्जा रामबाबु दाहाललाई जिल्ला अदालत महोत्तरीले असार २४ गते ६ महिनासम्म कैदसहित जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । ‘सम्भवतः छुवाछूतमा यति ठूलो कारबाही पहिलो नै हो’, प्रदेश २ का विश्वकर्मा समाजका अध्यक्ष तथा दलित अधिकारकर्मी मीन रहपालले भने ।
पीडकहरू जेल जाने भएपछि बुद्धमायाको परिवारमाथि छिमेकी खनिएका थिए । त्यसपछि उनले आत्महत्याको प्रयास गरेकी थिइन् । ‘मैले अदालतबाट न्याय पाएँ । त्यसपछि घाँसदाउरा, पानीपधेंरो जाँदा मेरै कुरा हुन थाल्यो । छिमेकीले भन्थ्योे तेरै कारणले उनीहरू जेल गए’, उनले भनिन् ।
विष सेवनपछि उनको मुटुमा समस्या भएको थियो । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंमा उपचारपछि उनलाई निको भएको छ । ‘मुटुको भल्भ साँघुरिएको थियो’, डा. रामेश कोइरालाले भने, ‘मुटुको भल्भ बेलुनको माध्यमले खोलियो । उपचार सफल भयो ।’
केन्द्रले उनको उपचार निःशुल्क गरिदिएको छ । यतिसम्म कि त्यहाँ कार्यरत डाक्टरले बुद्धमायाको अवस्था सुनेर आफैं रकम हालेर औषधि किनिदिएको जनाइएको छ । ‘अब बुद्धमायाको मुटुमा समस्या आए जिन्दगीभरि उपचार गर्छौं’, डा. कोइरालाले अन्नपूर्णसँग भने ।
बुद्धमायाको उपचार सुरुमा बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा गरिएको थियो । थप उपचारका लागि उनलाई ग्रिनसिटी अस्पताल बसुन्धारा काठमाडौंमा भर्ना गरिएको थियो । सात दिन आईसीयूमा राखी उपचार गरेर उनको ज्यान बचाइएको जनाइएको छ ।
बुद्धमायाको उपचारमा १ लाख ७५ हजार खर्च भएको जनाइएको छ । पानी छोएको निहुँमा गत वैशाख १५ गते साँझ छिमेकी कमला गिरी र उनका भान्जा रामबाबु दाहालले गाली–बेइज्जत गर्दै कुटपिट गरेका थिए ।