मैदानमा महिला रेफ्री
फुटबलमा महिला पनि चम्किँदै छन् तर महिला रेफ्री भने औंलामा गन्न लायक छन्। धनगढीकी लक्ष्मी श्रेष्ठ महिला रेफ्रीमध्ये एक हुन्। लक्ष्मीले कक्षा ५ पढ्नेबेला फुटबल खेल्न सुरु गरेकी हुन्। धनगढीको ऐश्वर्या विद्या निकेतनमा मात्र नभई रंगशालामा नै गएर उनले खेल सिक्ने गर्थिन्। स्नातक पढ्नका लागि काठमाडौं आएकी उनले इन्जिनियरिङ विषयमा इलेक्ट्रोनिक्स र कम्युनिकेसन लिएर पढाइ अगाडि बढाइन्।
बीई तेस्रो वर्षको परीक्षा अलि पर सरेपछि धनगढीमा भइरहेको नेसनल लिगमा भाग लिन उनी घर गइन्। खेलमा भाग लिने अवधि सकिसकेकाले उनले सहभागिता जनाउन पाइनन्।
आफ्ना दाजुहरूको सल्लाहबमोजिम २०६९ सालमा लक्ष्मीले रेफ्रीको तालिम पूरा गरिन्। रेफ्री भएपछि खेल्न पाइन्न। तर यसअगाडि नै उनले केही राष्ट्रिय स्तरका खेल खेलिसकेकी थिइन्। रेफ्रीको कामसँगै पढाइलाई अगाडि बढाएकी उनले रेडार एन्ड कम्युनिकेसनमा एमई पूरा गरेकी छिन्।
हाल आफ्नो अध्ययन अनुरूपको कामको खोजीमा रहेकी लक्ष्मी फुटबलमा आफ्नो मन बसिसकेकोले छाड्न नसकिने बताउँछिन्। ‘कमाइ त हुँदैन, प्यासन छाड्न सकिनँ’, उनले भनिन्।
हाल ओलम्पिया स्कुलमा फुटबल सिकाउँदै आएकी लक्ष्मी कुनै पनि खेल हुँदा दुवै पक्षले नियमअनुसार खेले रेफ्रीलाई गाह्रो नपर्ने अनुभव बाँड्छिन्। ‘खेलका क्रममा दुई पक्षबीच वैमनश्य आए त्यतिबेला रेफीले कुल भएर हाँस्ने र उनीहरूलाई सम्झाउने गर्नुपर्छ’, मैदानमा उत्रिएपछि उग्र हुने खेलाडीलाई उनले यसरी नै ‘ह्यान्डल’ गर्ने गरेकी छिन्।
कराँतेबाट फुटबलमा
संस्कृति इन्टरनेसनल स्कुल र रूपिज इन्टरनेसनल स्कुलकी कराँते शिक्षिका हुन्, माया लामा। जिनियस स्कुल महालक्ष्मीस्थानमा भने उनी खेल शिक्षक र कोचकै रूपमा कार्यरत छिन्। तर यी सबैभन्दा बढी उनी नेपाली फुटबल जगत्मा रेफ्रीको रूपमा परिचित छिन्। विद्यालय तहदेखि नै उनले कराँते खेल्न सुरु गरेकी हुन्। काभ्रे घर भई ललितपुरबाट खेल्दै आएकी उनले त्यतिबेला कराँतेमा त्यति राम्रो ‘स्कोप’ देखिनन्। २०६७ सालदेखि फुटबलमा लागेकी मायाले केही मैत्रीपूर्ण खेलहरूका साथै कोकाकोला कप र राष्ट्रिय खेलमा पनि सहभागिता जनाइसकेकी छिन्।
नेपालमा खेलको संख्या बढेसँगै रेफ्रीहरूको भविष्य पनि उज्यालिँदै गएको महिला रेफ्रीहरूको भनाइ छ। फिफाको इलिट रेफ्री कोर्स गर्ने अस्मिता मानन्धर र वीना श्रेष्ठ मात्रै दुई महिला रेफ्री हुन्।
एन्फा कोर्सका साथै नेसनल रेफ्री कोर्ससमेत गरेकी उनी २०७१ सालदेखि नेसनल रेफ्रीका रूपमा कार्यरत छिन्। हाल नेपालमा पनि अन्डर १४, अन्डर १८, अन्डर १९ जस्ता खेलहरू नियमित हुन थालेकाले रेफ्रीको माग पनि बढेको उनको अनुभव छ।
कुनै पनि मैत्रीपूर्ण खेलमा आयोजकले जिते उनीहरूलाई समर्थन ग¥यो भनेर रेफ्रीलाई आरोप लाग्ने गरेकाले त्यतिबेला रेफ्रीहरूलाई गाह्रो हुने उनको गुनासो छ। यस्ता खेलहरूमा केटाहरू छरिएर खेल्ने तर केटीहरू गज्याङमज्याङ भएर बलकै पछाडि सबै झुम्मिने भएकाले खेल तनावपूर्ण हुने उनले देखेकी छिन्। केटीहरूको खेल त्यति नहुने हुनाले महिला रेफ्रीले केटाहरूको खेल पनि खेलाउनुपर्ने हुन्छ। पुरुष खेलाडी पनि पहिलेभन्दा अहिले निकै अनुशासित र संयमित भइसकेकाले नराम्रो शब्दको प्रयोग नगर्ने र नियममा बसेर खेल्ने गरेको उनले पाएकी छिन्। कहिलेकाहीँ निर्णय गर्दा रेफ्रीकै गल्ती भए पनि उनीहरूले ‘यस्तो होइन नि दिदी यस्तो हुनुपर्छ’ भनेर आफूलाई सम्झाउने गरेको उनले पाएकी छिन्। ‘महिला रेफ्री देखेपछि खेलाडीले आफ्ना बोली सच्याउन थालेका छन्’, अर्की रेफ्री राधिका शाक्यको भोगाइ पनि मायाको जस्तै छ।
चुनौतीसँगै चर्चा पनि
मैदानमा उत्रिएपछि खेलाडीलाई भन्दा बढी चाप रेफ्रीलाई पर्छ। पूरै ९० मिनेटसम्म मैदानमा कुदेको कुदै गर्नुप¥यो। खेलाडीलाई पनि हेर्नुप¥यो, अनि बललाई पनि पछ्याइरहनुप¥यो। सिठ्ठी बजाउनासाथ निर्णय पनि गरिहाल्नुप¥यो। मैदानमा बलले लाग्ने र खेलाडीसँग ठोक्किने त्यत्तिकै सम्भावना हुन्छ। रेफ्रीलाई आफ्नो पोजिसन मिलाउन पनि गाह्रै पर्छ। आफ्नो फिटनेस मेनटेन गर्नेेदेखि डाइट खानेसम्म ध्यान दिनुपर्छ, उनीहरूले विभिन्न संस्थामार्फत बालबालिकालाई फुटबल सिकाउँदै आएकी राधिकाले आफूहरूले एउटा मैत्रीपूर्ण खेलबाट करिव एक हजार रुपैयाँ र टुर्नामेन्टमा करिब आठ सय जति मात्रै पाउने बताउँछिन्। यो क्षेत्रमा कमाइ कम चुनौती बढी छ। यद्यपि नामकै सन्तुष्टिले पनि आफूलाई यसतर्फ प्रेरित गरेको धादिङ घर भई चाबहिल बस्दै आएकी राधिका बताउँछिन्।
फिफाको इलिट रेफ्री कोर्स गर्ने अस्मिता मानन्धर र वीना श्रेष्ठ मात्रै दुई महिला रेफ्री हुन्। अस्मिता फिफा रेफ्री हुन् भने वीना असिस्टेन्ट फिफा रेफ्रीका रूपमा कार्यरत छिन्। एथलेटिक्सअन्तर्गत दौडबाट खेल क्षेत्रमा लागेकी वीना २०५१ सालकी सय, दुई सय र चार सय मिटरको दौडकी च्याम्पियन नै हुन्। उनी लङजम्प र हर्डल्स पनि हान्थिन्। सातौं, आठौं र नवौं साफ गेम उनले खेलिसकेकी छिन्। दौड खेल्दै गर्दा फुटबलमा पनि उनको रुचि जाग्यो। त्यतिबेला पुलिस क्लबबाट खेल्ने गरेकी वीनाले एसियन च्याम्पियनसिप, वल्र्ड च्याम्पियनसिपलगायतका खेल खेलिसकेकी छिन्।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका धेरै खेलमा रेफ्रीको भूमिका निभाइसकेकी वीनासँग कतिपयमा फाइनलसमेत खेलाइसकेको अनुभव छ। विवाह गरेर छोराछोरी पाएपछि उनले स्वर्ण पदक जितेकी छिन्। सुत्केरी भएको दुई महिनापछि नै ट्रेनिङमा गएको अनुभव छ, उनीसँग। उनी करिब पाँच महिनाभित्र फिट भइसक्थिन्। नेवार परिवारकी बुहारी भएर घर सम्हाल्नु र खेलमा लाग्नु पर्दाका दिनहरू उनका लागि निकै संघर्षपूर्ण थिए। तर पनि परिवारको साथ र समर्थनले सफलताको बाटोमा छिन्। दिउँसो ट्रेनिङ नभ्याए बिहान चारै बजे उठेर पनि उनी आफ्नो तालिम आफैं गर्छिन्।
यही साउन २४ देखि भुटानमा सुरु भएको अन्डर १५ साफ च्याम्पियनसिपमा रेफ्रीका रूपमा जान लागेकी वीनालाई साफ च्याम्पियनसिपमा सय डलर र सी गेममा दिनको दुई सय डलरसम्म पारि श्रमिक पाएकी छिन्।
कल्पना शर्मा, अरुणा गुरुङ, पेमा लामा र सिर्जना बर्तौला फिफा रेफ्री एवं असिस्टेन्ट रेफ्रीको रूपमा काम गरिसकेका छन्। त्यस्तै, माया लामा र मेरिना धिमाल हाल नेसनल रेफ्री रहेका छन् भने लक्ष्मी श्रेष्ठ, राधिका शाक्य, अञ्जना राई, रञ्जना एल्मो, सरस्वती लो र उमा श्रेष्ठ एन्फा रेफ्रीका रूपमा रहेका छन्।
नेपालमा खेलको संख्या बढेसँगै रेफ्रीहरूको भविष्य पनि उज्यालिँदै गएको महिला रेफ्रीहरूको भनाइ छ। खेल खेलाउँदा दाम नभए पनि नामकै कारणले यस क्षेत्रमा नसा लागेको बताउने रेफ्रीहरू भविष्यमा यही क्षेत्रमा राम्रो कमाइ हुने पनि आशा गर्छन्।
एन्फाकी केन्द्रीय सदस्य एवं महिला समितिकी महासचिव पेमा लामा रेफ्री महिलाले इलिट कोर्स गर्न सके उनीहरूलाई एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले नै अप्वाइन्टमेन्ट पठाउने हुँदा नाम, दाम दुवै राम्रो हुने बताउँछिन्। अहिले नेपाली रेफ्री महिला धेरै राम्रा भए पनि उनीहरूमा शिक्षाको समस्या पेमाले देखेकी छिन्। यसका लागि महिला रेफ्रीले खेलको साथै आफ्नो अध्ययन पनि साथसाथै लानुपर्ने उनको सुझाव छ।