सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन
काठमाडौं : साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको निधन भएको छ। फेरिएको मृर्गौलाले काम नगरेपछि लामो समयदेखि डायलसिस गर्दै आएका दाहाल बुधबार बिहान घरमै लडेपछि गम्भीर बिरामी भएका थिए। नियमित डाइलसिसका लागि जान खाना खाइसकेर जुठो थाल धारामा राखेर फर्किदै गर्दा दाहाल लडेका थिए।
बुधबार नियमित डाइलसिसका लागि ट्याक्सी चढेर राष्ट्रिय मृर्गौलारोग उपचार केन्द्रमा पुगेका दाहाललाई त्यहाँ समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको इमर्जेन्सिमा भर्ना गरिएको थियो। न्यूरो अस्पतालको आइसियुमा राखेर दुई दिन उपचार गरिएपछि शुक्रबार उनलाई सेमेरु अस्पताल रिफर गरिएको थियो।
शुक्रबार साँझ दाहालको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको उनका ज्वाइँ दिलिप भट्टराईले अन्नपूर्णलाई जानकारी दिए।
सञ्चारकर्मी दाहाल नेपाली रेडियो उद्घोषणमा प्रिय मानिन्छन्। रेडियो नेपाल, एचबिसी एफएममा लामो समय बिताएका दाहाल पछिल्ला दिनमा रेडियो अन्नपूर्णमा कार्यरत थिए। ६५ वर्षीय दाहाल मण्डिखाटारस्थित घरमा आमा र श्रीमतीसँग बस्दै आएका छन्।