ठेकेदारले तुहाए बारपाकको सडक सपना

ठेकेदारले तुहाए बारपाकको सडक सपना

गोरखा : विगत बिर्सने प्रयास गर्दै बारपाकका भूकम्पपीडित जितबहादुर घलेले भने, ‘जे नहुनु भइहाल्यो । अब बाँचेकाहरूको पीडा भुलाउन राज्यले केही सुविधा दिनुपर्छ भन्ने हाम्रो माग थियो, त्यतिबेलाका प्रधानमन्त्री अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ, उहाँबाट दुई वर्षभित्र बारपाकसम्म पिच सडक आउने आश्वासन पायौं । यो आश्वासनका आधारमा हामीले आँसु पुछ्ने प्रयास गरेका थियौं । तर ४० महिना बितिसक्यो एक किलोमिटर पनि पिच थपिएको छैन ।’

अहिलेको सडक हिउँदमा मात्र काम लाग्ने बताउँदै उनले भने, ‘बर्खाको तीन महिना बारपाकमा गाडी नै चल्दैन ।’ गोरखादेखि बारपाकसम्मको ४६ किलोमिटर सडक कालोपत्रे गर्न सडक विभागले ६५ करोड रुपैयाँ विनियोजन गरेको थियो । ११ किलो छेपेटार–बारपाक सडक योजना कार्यालयले चार वटा प्याकेज बनाएर टेन्डर गरेको हो । तर योजना सम्झौता गरेर ठेकेदार भागेको आरोप लगाउँदै सडक योजना कार्यालयका प्रमुख अमृतमणि रिमालले निर्धारित काम हुन नसकेको बताए ।

रिमालका अनुसार पहिलो खण्डको ८ किलोमिटर सडक कालोपत्रे गर्न नौ करोड ३७ लाख रुपैयाँको ठेक्का आह्वान भएको थियो । नागार्जुन त्रिशूली जेभी कम्पनीले २०७२ मंसिरमा सम्पन्न गर्ने गरी कामको जिम्मा लिएको थियो तर काम सम्पन्न नगरेपछि फेरि ०७३ चैत ३० सम्म म्याद थप गरिएको थियो । थपिएको म्यादभित्र अलिकति पनि काम नभएको सडक योजना कार्यालयले जनाएको छ । कार्यालयले ठेकेदारसँग ७० लाख रुपैयाँ जमानत जफत गरिसकेको जनाएको छ ।

त्यस्तै दोस्रो खण्डको ५ किलोमिटर सडक कालोपत्रे गर्न कन्काई गोरखा जेभी कम्पनीले ११ करोड ९४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । सोको पनि अहिलेसम्म ५५ प्रतिशत मात्र काम भएको साइट सबइन्जिनियर रेयोन फुयाँलले बताए ।

तेस्रो खण्डको ८ किलोमिटर खण्ड कालोपत्रे गर्न लोहनी एन्ड ब्रदर्स कम्पनीले १० करोड ७० लाख रुपैयाँमा ठेक्का लिएको थियो । ०७४ जेठभित्र सम्पन्न गर्ने गरी सम्झौता गरे पनि सम्पन्न नभएपछि गत जेठ १५ गतेसम्मका लागि म्याद थप गरिएको थियो । म्याद थप गर्दा पनि जम्मा ३१ प्रतिशत मात्र काम भएको सबइन्जिनियर फुयाँलले बताए ।सडक योजना कार्यालयले चौथो खण्डको १६.७ किलोमिटर सडक कालोपत्रे गर्न रसुवा इलाइट सूर्य जेभी कम्पनीलाई ३५ करोडमा ठेक्का दिएको थियो । ‘गत असार मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो, तर निर्धारित समयमा जम्मा ३० प्रतिशतमात्र काम भएको छ’, फुयाँलले भने, ‘यो वर्ष फेरि एक वर्षका लागि म्याद थप भएको छ ।’

काम नगर्ने ठेकेदारलाई बारम्बार ताकेता गरेको सडक योजना कार्यालय प्रमुख रिमाल बताउँछन् । ‘काम नगर्ने ठेकेदारको नाम राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन गरेर कारबाही प्रक्रिया अघि बढाएका थियौं’, रिमालले भने, ‘टेलिफोन सम्पर्क गरेर, पत्राचार गरेर पनि बारम्बार ताकेता गरिरहेका छौं ।’११ किलो बारपाक सडकमा पर्ने राङरुङ खोलापुल, बालुवा खोला पुल, झ्याल्ला खोलापुल र दरौंदी खोलामा मोटरेबल पुल बनाउन जापानी सहयोग नियोग (जाइका) ले जिम्मा लिएको थियो । सोे काम भने निर्धारित समयमै सम्पन्न भएर उद्घाटन गर्न मात्र बाँकी रहेको जिल्ला प्राविधिक कार्यालय प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठले बताए ।

‘८० प्रतिशत समय सकिँदासम्म ८० प्रतिशत काम सम्पन्न नगर्नेको पेस्की रकम फिर्ता लिन बैंकलाई पत्राचार गरिसकेको छु’, सडक कार्यालयका प्रमुख इन्जिनियर रिमालले भने, ‘यति दबाब दिँदा पनि अटेरी गरेर काम डामाडोल बनाए कालोसूचीका लागि प्रक्रिया अघि बढाउँछौं ।’काम नगर्ने ठेकेदारलाई ताकेता गर्न खोज्दा ठेकेदारले ‘ठूलाबडा’बाट सोर्सफोर्स लगाउने गरेको उनले बताए ।

‘ताकेताका लागि पत्रपत्रिकामा नाम प्रकाशित गराएका थियौं, तर काममा आउनुको साटो ठूला मान्छेहरूलाई फोन गर्न लगाएर ठेकेदारले हैरान पारेका छन्’, रिमाल भन्छन्, ‘तर कसैले केही भनेर हुनेवाला छैन । काम अलपत्र बनाउने ठेकेदारलाई कारबाही हुन्छ ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.