नेपाल एयरलाइन्सको नाफा ३५ करोड

नेपाल एयरलाइन्सको नाफा ३५ करोड

काठमाडौं : राष्ट्रिय ध्वाजाबाहक नेपाल एयरलाइन्सले गत आर्थिक वर्ष २०७४/०७५ मा ३५ करोड रुपैयाँ नाफा गरेको छ। नेवानिले गत आवमा गरेको नाफा आर्थिक वर्ष २०७३/०७४ कोभन्दा झन्डै ११ करोड रुपैयाँले बढी हो।

नेवानिले अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा कुल २४ करोड २६ लाख ५८ हजार पाँच सय २१ रुपैयाँ नाफा गरेको थियो। साथै नेवानिले आर्थिक वर्ष २०७२/०७३ मा भने १६ करोड ८३ लाख २२ हजार सात सय ६० रुपैयाँ नाफा गरेको थियो।

गत आव २०७४/०७५ मा कुल १२ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको नेवानिका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए। यसैगरी नेवानिले गत आवमा नै कुल १२ अर्ब १५ करोड रुपैयाँ खर्च गरेको छ। नेवानिको कुल आम्दानीमा ग्राउन्ड ह्यान्डलिङको आय मात्रै तीन अर्ब ९२ करोड रुपैयाँभन्दा बढी छ। नेवानिको प्रमुख आम्दानीको स्रोत पनि ग्राउन्ड ह्यान्डलिङ नै हो।

नेवानिले वार्षिक आम्दानी निरन्तर बढाए पनि ठूलो फाइदा भने लिन सकेको छैन। आम्दानीसँगै खर्चको अनुपात पनि बढिरहेको छ। नेवानिले अहिले गरेको नाफा विभिन्न संघसंस्था, सरकार र दातृ निकायबाट लिएको ऋणको ब्याज तिर्न पनि पुग्ने अवस्था पनि छैन। नेपाल वायु सेवा निगमको ऋण मात्रै ३६ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी छ।

नेवानिले अहिले आम्दानी गरेको रकम ऋणको ब्याज तिर्नमा खर्च भइरहेको छ। त्यसमा पनि जहाज चलाएर नेवानिले फाइदा गर्न नसकेको छैन।

नेवानिको खर्च व्यवस्थापनको प्रमुख स्रोत ग्राउन्ड ह्यान्डलिङ मात्रै हो। यस्तो अवस्थामा नेवानिको पुँजी विस्तार नहुने हो भने नयाँ जहाज खरिददेखि ऋण चुक्ता गर्नसमेत मुस्किल हुने अवस्था छ।

नेवानिले ऋणको बोझ बढ्दै गएको भन्दै सरकारसँग पुँजी विस्तारका लागिसमेत पाँच अर्ब रुपैयाँ माग गरिसकेको छ। नेवानिको पुँजी अहिले ३७ करोड रुपैयाँ मात्रै छ। तर, चीनले अनुदानमा उपलब्ध गराएको एउटा एमए ६० र वाई १२ जहाजको रकमलाई समेत पुँजी विस्तारमा जोड्दा नेवानिको पुँजी तीन अर्ब १० करोड रुपैयाँभन्दा बढी हुन्छ। सरकारले चीनले अनुदानमा दिएको एउटा एमए ६० लागत दुई अर्ब १३ करोड र एउटा वाई १२ जहाजको लागत ५८ करोड रुपैयाँ पनि पुँजी विस्तार गर्न नेवानिलाई सुझाएको छ।

नेवानिले एयरबस खरिद गर्न आर्थिक वर्ष २०७१/०७२ बाट किस्ताबन्दीमा रकम तिर्ने गरी सञ्चय कोषसँग लिएको १० अर्ब ऋण छ। यो ऋणको ब्याजदर अहिले १०.५ प्रतिशत छ। यसैगरी चिनियाँ जहाज खरिदमा अबको ६ वर्षपछिबाट १.७५ प्रतिशत ब्याजदरमा रकम तिर्ने गरी लिएको दुई अर्ब १२ करोड रुपैयाँ पनि नेवानिको ऋण छ।


नेवानिले आर्थिक वर्ष २०७३/०७४ भन्दा गत वर्ष झन्डै ११ करोड रुपैयाँले नाफा बढाएको छ।

यसैगरी वाइडबडी जहाज खरिदका लागि पछिल्लो समय सञ्चय कोष र नागरिक लगानी कोषसँग १२/१२ अर्ब रुपैयाँका दरले २४ अर्ब रुपैयाँ पनि नेवानिको ऋण छ। वाइडबडी जहाज खरिदका लागि सञ्चय कोषको ब्याज ९.५ प्रतिशत र नागरिक लगानी कोषको नौ प्रतिशत ब्याज तोकिएको छ। यसबाहेक पनि नेवानिले नेपाल सरकारलाई ५८ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ।

नेवानिले नयाँ दुईवटा वाइडबडी फुल फेजमा सञ्चालनमा आएसँगै वार्षिक नाफा बढ्दै जाने बताएको छ। नेवानिले अहिले अन्तर्राष्ट्रिय उडानमा रहेको कुल नौ प्रतिशतको बजार हिस्सालाई पनि १७ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ।

नेवानिले अहिले अन्तर्राष्ट्रिय उडानमा चारवटा जहाज उडाइरहेको छ भने एउटा वाइडबडी उडान प्रक्रियामा छ। नेवानिले पाँचवटा जहाजमार्फत ११ गन्तव्यमा उडान गर्ने योजना बनाएको छ। नेवानिले अहिले भारतका तीन सहर, मलेसिया, हङकङ, बैंकक, कतार र दुबईमा नियमित उडान गरिरहेको छ भने अब जापान, कोरिया र साउदी अरबमा पनि उडान गर्ने तयारी गरेको छ। यसैगरी नेवानिसँग आन्तरिक उडानका लागि आठवटा जहाज छन्। नेवानिले सन् २०२० भित्र थप दुईवटा एयरबस र आन्तरिक उडानका लागि आवश्यक आठ जहाज थप्ने तयारी अगाडि बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.