द्वन्द्वपीडितका गुनासा  :‘हामीलाई आयोगले अलमल्यायो’

द्वन्द्वपीडितका गुनासा  :‘हामीलाई आयोगले अलमल्यायो’

काठमाडौं : द्वन्द्वकालीन घटनाका फाइल एकबाट अर्काे आयोगले घुमाएको भन्दै पीडितले असन्तुष्ठि व्यक्त गरेका छन् । एक वर्षअघि वेपत्ता छानबिन आयोगले चार सय चौधवटा फाइल सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठायो । डेढ महिनाअघि मात्रै मेलमिलाप आयोगले एक सय ३७ वटा फाइल वेपत्ता आयोगमै पठायो ।

ती फाइल पीडितसँग राय लिएर वेपत्ता आयोगमा पठाइएको मेलमिलाप आयोगले बताएको छ । मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरूङले पीडितसँग राय लिएरै ती फाइल वेपत्ता आयोगमा पठाएको जनाए ।

मृत्यु भइ र सरकारबाट राहत बुझिसकेका व्यक्तिको विषयमा सत्य निरूपणको कार्यक्षेत्र परेकाले त्यहाँ पठाइएको वेपत्ता आयोगको भनाइ छ ।

‘हाम्रो कार्यक्षेत्रमा नपर्ने उजुरी सत्य निरूपण आयोगमा पठाएका हौं । संवेदनशील विषयमा हचुवाका भरमा निर्णय लिएर हामी कहाँ फाइल पठाइएको छ । ती फाइल के गर्ने भन्नेमा हामी अझै अन्यौलमै छौं’, वेपत्ता आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले भने ।

‘फाइल यता र उत्ता घुमाउँदा पीडितमाथि अन्याय हुन्छ । आयोगमाथिको पीडितको विश्वास गुम्छ’ आयोगका सदस्य प्राडा विष्णु पाठकले अन्नपूर्णसँग भने । उजुरीमध्ये केही कुन आयोग हेर्ने हो भन्नेमै मेलमिलाप आयोग र वेपत्ता आयोगबीच अन्यौल देखिएको छ ।

द्वन्द्वकालीन घटना छानविन गर्न वेपत्ता आयोग तथा मेलमिलाप आयोग २०७१ माघ २७ मा गठन भएका हुन् । दुवै आयोगको क्षेत्राअधिकार फरक–फरक तोकिएका छन् ।

वेपत्ता छानबिन आयोगलाई व्यक्ति वेपत्ता पार्नुको कारण, प्रकृति र स्तरको सत्यता जाँच गरी अभिलेख राख्ने, पीडितको अवस्था बारे छानबिन गर्ने, परिवारलाई परिचयपत्र वितरण गर्ने, परिपूरणको सिफारिस गर्ने, व्यक्ति बेपत्ता गर्ने काममा संलग्न व्यक्तिविरूद्ध मुद्दा चलाउने सम्मको अधिकार दिइएको छ ।

यस्तै मेलमिलाप आयोगलाई मानव अधिकारको गम्भीर उल्लंघनसम्बन्धी घटनाको छानबिन, सत्य अन्वेषण गरी वास्तविक तथ्य जनसमक्ष ल्याउने, पीडित तथा पीडक यकिन गर्ने, पीडक र पीडितबीच मेलमिलाप गराउन पहल गर्ने पीडित परिवारका सदस्यलाई उपलब्ध गराउनुपर्ने परिपूरणको सम्बन्धमा सिफारिस गर्ने, क्षमादानमा नपरेका पीडकलाई कारबाहीका लागि सिफारिस गर्ने जिम्मेवारी तोकिएको छ ।

वेपत्ता परिवार राष्ट्रिय सञ्जालका अध्यक्ष रामकुमार भण्डारीले वेपत्ता व्यक्तिको मृत्यु या घर फर्किने हो भन्ने थाहा नहुँदा पीडित थप पीडामा बाँच्न बाध्य भएको बताए ।

द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले वेपत्ता आयोगमा हालिएका उजुरी सत्य निरूपणमा पठाएर गल्ती गरिएको टिप्पणी गरे ।

वेपत्ता आयोगको काम सुस्त भएको भन्दै पीडितले असन्तुष्टि व्यक्त गरेका छन् । छिटो अनुसन्धान कार्य टुंग्याएर न्याय दिलाउन पनि उनीहरूले माग गरेका छन् ।

आयोगले विभिन्न जिल्लाका १६ जना पीडितसँग काठमाडौंमा अन्तरक्रिया गर्दा उनीहरू यस्तो असन्तुष्टि जनाएका हुन् ।

आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले भने, ‘समयमा न्याय नपाउँदा पीडितको चित्त दुखेको रहेछ । आयोगप्रति उनीहरूको धेरै गुनासो थियो ।’ आयोग गठन भएको तीन वर्ष वितिसक्दा पनि अनुसन्धान सुस्त एवं पीडितले परिपूरण पाउन नसक्दा छिटो छानबिन सक्न र न्याय दिलाउन उनीहरूले माग गरेका छन् ।

पीडितका तर्फबाट वेपत्ता परिवार राष्ट्रिय सञ्चालका अध्यक्ष रामकुमार भण्डारीले अनुसन्धान विधि वेपत्ता परिवार मैत्री नभएको आरोप लगाउँदै आयोगले तीन वर्षसम्म खासै उपलब्धी हासिल गर्न नसकेको भन्दै आक्रोश पोखे ।

आयोग पदाधिकारी सुविधाभोगी भएको आरोप पीडितको छ । ‘आवश्यक ऐन, नियम भए पनि अनुसन्धान कार्य टुंग्याएर पीडितलाई न्याय दिन विलम्व गरिरहेकोमा आयोगप्रति हाम्रो असन्तुष्टि हो’ सञ्जालका अध्यक्ष भण्डारीले भने ।

आयोगले दुई हजार ३ सय ६३ उजुरीको विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको छ । तर हालसम्म ३९ जिल्लाका १ हजार ८३ उजुरीमाथि अनुसन्धान सकिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.