सस्तो भाडाले लियो ज्यान
जाजरकोट : सानैमा बाबुआमा गुमाएका नलगाड–३ करुवाका दशरथ परियार र गोविन्द परियार दिदी शर्मिलासँग सदरमुकाम खलंगामा बसेर पढ्दै थिए । बाबुआमालाई दैवले सानैमा चुँडेर लगे पनि उनीहरूको एउटै सपना थियो पढेर आफ्नो खुट्टामा आफैं उभिने तर प्राकृतिक विपत्तिले उनीहरूको सबै सपना सदाका लागि माटोमा मिलाइदियो ।
घटनामा बाँचेका दिदी शर्मिला, सुरिता र उनका अर्का भाइका आँखा शोकले अझै ओभाएका छैनन् । आँसु अझै थामिएको छैन । कोठाभाडा सस्तोमा पाएपछि भेरी–३ ठाँटीनजिक गोपाल सुनारको घरमा उनीहरू बस्दै आएका थिए । दैनिक गुजारा चलाउनै मुस्किल पर्ने उनीहरूका लागि त्यही सस्तो भाडाको घर नै मृत्युको कारण बन्यो । दिदी शर्मिला काममा गएको र अर्को भाइ पानी लिन धारामा गएकाले उनीहरू जोगिएका हुन् । ८ कक्षामा पढ्ने दिदी शर्मिलाले मजदुरी गरेर भाइहरूलाई पाल्दै आएकी थिइन् । ‘बाबुआमाले सानैमा टुहुरो बनाएर गए । भाइहरूलाई पढाएर ठूलो मान्छे बनाउँला भन्ने सोचेकी थिएँ दैवले उनीहरूलाई पनि चुँडेर लग्यो’ उनले भावविह्वल हुँदै भनिन्, ‘सस्तो कोठाको लोभमा पर्दा भाइहरूको ज्यान लियो ।’ सदरमुकामका अन्य ठाउँमा कोठाभाडा प्रतिकोठा कम्तीमा दुई हजार भए पनि उनीहरू बस्ने ठाउँ पहिरोको जोखिम भएको र घर पनि जीर्ण भएकाले प्रतिकोठा मासिक भाडा पाँच सय रुपैयाँ थियो । घरधनी त्यस घरमा बस्दैनथे ।
उनीहरूकी आमा अमला परियारको ०७३ भदौ ९ गते उपचार अभावमा मृत्यु भएको थियो । पत्नी शोक र गरिबीले विक्षिप्तजस्तै बनेको बाबु जितबहादुर परियारले त्यसको दुई महिनापछि आत्महत्या गरेपछि उनीहरू टुहुरा भएका हुन् । उनीहरूका दुई छोरी र चार छोरा हुन् । तीमध्ये एक दिदी र तीन भाइ सदरमुकाममा बस्दै आएका थिए । अर्की छोरी सुरिता घरमै बाजेबज्यैसँग बस्दै आएकी छन् । एउटा भाइ मजदुरीका लागि भारतमा छ । मृत्यु भएका गोविन्द र दशरथ हनुमान प्राथमिक विद्यालय थाप्लेमा अध्ययनरत थिए ।
खलंगामा सिलाइकटाइ पेसा गरेर बस्ने कुसे गाउँपालिका–६ भार्माका कृष्णबहादुर परियारको छोरा ११ वर्षीय नवीन र सोही गाउँपालिका–५ नाउलीखेतका प्रेमबहादुर परियारका १३ वर्षीय छोरा नरेन्द्र पनि पहिरोमा पुरिएर ज्यान गुमाएका थिए । उनीहरू भेरी–३ का प्रकाश विकको घरमा भाडामा बस्दै आएका थिए । कपडा सिलाउने ठाउँ बजारमा भए पनि सस्तो भाडाका कारण जंगल छेउको जोखिमपूर्ण घरमा बस्दै आएका थिए । बाबुआमा कपडा सिलाउन गएपछि साथीसँगै बसेर गृहकार्य गर्ने भन्दै अर्को घरमा गएका बेला उनीहरू पहिरोमा पुरिएका हुन् । उनीहरू बसेको घर केही नभए पनि साथीहरू बस्ने डेरामा जाँदा ज्यान गएको हो । उनीहरू पनि प्रतिकोठा पाँच सयका दरले भाडामा बस्दै आएका थिए । मृतक नरेन्द्रका बुवा प्रेमले सस्तो भाडाको लोभले जोखिमयुक्त ठाउँमा बस्दा छोरा गुमाउनुपरेको दुखेसो पोखे ।
त्यस्तै, भेरी–६ गंगटियाका लालबहादुर लुहार तीन महिनाअघि मात्र छोरीहरूलाई पढाउने भन्दै सदरमुकाम खलंगा आएका हुन् । पाँच सय रुपैयाँमा कोठा पाएपछि स्थानीय तीर्थराज बोहराको घरमा बस्दै आएका उनीहरू घटना भएकै दिन अन्य ठाउँमा कोठा खोजेर सर्ने योजनामा थिए । आफू ज्यालामजदुरी गर्ने र श्रीमती खाना पकाउने तथा छोरीहरूको स्याहार गर्ने भन्दै सदरमुकाम झरेका थिए उनीहरू । ‘आइतबार बिहान छोरीहरू गृहकार्य गर्दै थिए । श्रीमती खाना पकाउँदै थिइन् । श्रीमान् उनीहरूलाई सघाउँदै थिए । यहाँ बस्नु ठीक छैन । माथिबाट पहिरो आउने खतरा छ । पहिरो आयो भने हामी सबैलाई एउटै चिहान बनाउँछ भनेर श्रीमती भन्दै थिइन् । खाना खाएर अन्यत्र कोठा खोज्न जाने सोच बनाएको आधा घण्टा नबित्दै पहिरोले सबैलाई पुरिहाल्यो’, घटनामा परी बाँचेका लालबहादुरले भने । जोखिम थाहा पाउँदा पाउँदै सस्तो भनेर बस्दा परिवारका सबै सदस्य गुमाउनुपरेको उनले बताए । पुरिएको डेढ घण्टापछि जीवितै उद्धार गरिएका उनले भने, ‘मैले त पुनर्जीवन पाएँ तर परिवारका सबै सदस्य गुमाएँ । बरु मलाई पनि कालले सँगै लगेको भए हुन्थ्यो । सबै गुमाएर एक्लै म मात्र कसरी बाँच्नु । दैव पनि कति निष्ठुरी !’ उनकी श्रीमती २५ वर्षीया शितला लुहार, छोरी ९ वर्षीया भावना, ६ वर्षीया रञ्जना र ३ वर्षीया मनीषालाई पहिरोले क्षणभरमै माटोमा मिलायो ।
त्यस्तै, बारेकोट नायकवाडाका तीर्थराज बोहराले केही वर्षअघि मात्र स्थानीय रत्नबहादुर कार्कीसँग उक्त घर किनेका हुन् । सस्तोमा किनेका बोहराका लागि त्यही घर छोरीको मृत्युको कारण बन्यो । बोहराका श्रीमान्÷ श्रीमती अर्को कोठामा भएकाले आफूहरू धन्न भागेर बाँचे तर ७ वर्षीय छोरी नज्मलाई पहिरोले पुरिदियो । पुत्रीवियोगमा पत्रकारसमेत रहेका बोहरा विक्षिप्त अवस्थामा विस्थापित भएर बसेका छन् ।
एक महिनाअघि पश्चिम जाजरकोटको गर्खाकोटमा गएको पहिरोमा परी दुई जनाको ज्यान गएको थियो । जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका ५५ वर्षीया ललि बुढा र उनकै नातिनी ९ वर्षीया सिर्जना बुढाको मृत्यु भएको थियो । बुढा परिवारले जोखिमपूर्ण भिरालो जमिनमा बनाइएको घर माथिबाट आएको पहिरोले पुर्दा उनीहरूको ज्यान गएको हो ।
जोखिम ख्याल नगरी घर बनाउने गर्नाले मानवीय क्षति बढ्न थालेको प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए । पहिरोको ख्याल गरेर मात्र घर बनाउन र बस्न उनले सबैलाई आग्रह गरेका छन् । मापदण्डविपरीत जथाभावी डोजर प्रयोग गगरी सडक बनाउनु, ढल निकासको उचित प्रबन्ध नहुनु, वन जंगल विनाश आदि कारणले पहिरोको जाखिम बढ्दै गएको उनको भनाइ छ ।