रानीपोखरीबारे खास कुरा

रानीपोखरीबारे खास कुरा

कुरा धेरै पुरानो होइन, साढे पाँच महिनाअगाडि मात्र उब्जेको हो। वि.सं. २०७४ फागुन १०–१६ गतेको साप्ताहिक ‘अन्नपूर्ण सम्पूर्ण’मा ‘रानीपोखरीबारे फरक कुरा’ (९ पृ.) छापियो। हरिराम जोशी (वि.सं. १९९२ मा जन्म)सँगको कुराकानीका आधारमा त्यो लेख शिशिर वैद्यद्वारा प्रस्तुत रहेछ। ‘प्रताप मल्लले रानीपोखरी बनाएका होइनन्। पोखरी संरक्षण मात्र गरेका हुन्। अर्थात्, व्यवस्थित मात्रै गरेका हुन्। मल्लकालीन समयभन्दा अघि नै रहेको उक्त पोखरीमा प्रताप मल्लले मन्दिर बनाउन लगाए। डिल मिलाए र सुन्दर बनाए। हात्तीमाथि आफू र आफ्नो परिवारको आकृति बनाउन लगाए। देशदेशावरका ५१ तीर्थबाट जल ल्याई पोखरीलाई पवित्र गरे’ भन्ने कुरा नै त्यस लेखको चुरो रहेछ।

त्यसमाथि, ‘यो पोखरीलाई सबै रानीपोखरी भन्छन् तर म यसलाई कमल पुखू हो भन्छु (पोखरीलाई नेवारी भाषामा पुखू भनिन्छ), कमलपुखूको पश्चिममा कमलाक्षी रहेको छ। पूर्वमा कमलादी छ। पूर्वको कमलादी वास्तवमा कमलाती हो। कमलादी गणेशस्थानसँगै रहेको सानो कमलपोखरी यहीँबाट बगेर गएको पानीले बनेको पोखरी हो। कमलपोखरीको पानी झरेर बनेको पोखरी रहेको स्थान भएकैले यसलाई कमलाती भनिएको हो। कमलाती (कमल या ती) अर्थात् कमलको जल। कमलादी गणेशस्थानको मूल घर जमलनजिकै त्यरःमा छ। यो मन्दिरको हेरचाह जमःमी गुठीले गर्ने गरेको छ। जमःमी अर्थात् जमलका मानिसहरू। यी आधारहरूले पनि यो पुखू जमल पुखू नै हो भन्न सकिन्छ। पश्चिमपट्टि छ कमलाक्षी। कमलपुखूसँगै रहेको लाक्षी भएकैले यसलाई कमलाक्षी भनिएको हो’ भनी हरिराम जोशीले बोलेका रहेछन्।

रानीपोखरी प्रताप मल्लले बनाएका होइनन् भन्ने कुरा एक जना प्रतिष्ठित ऐतिहासिकको मुखबाट निस्केकाले जनसाधारणमा त्यस बेला निकै हल्लाखल्ला भयो। अझ, उनले गरेको कमलाछिको व्यूत्पत्ति पढेर प्रबुद्ध पाठकहरू दिक्क भए। हरिराम जोशीको रानीपोखरीसम्बन्धी यो कुरा आउनुभन्दा अघि रानीपोखरीसँग सम्बद्ध तीनवटा लेख मैले लेखिसकेकाले (‘रानीपोखरी’, ‘राजधानी’, २०७१।४।१५।५, ९ पृ.; ‘बालगोपालेश्वर कि गौरीशङ्कर’, ‘राजधानी’, २०७४।१०।२०।७, ९, ११ पृ.; ‘रानीपोखरीको गूठी, पूजाआजा र पुजारी’, ‘राजधानी’, २०७४।११।५।७, ९ पृ.) फेरि त्यही पोखरीको विषयमा अर्को लेख लेखिहाल्ने मेरो विचार थिएन। तर रानीपोखरीको विषयमा निराधार कुरा छापिएकाले र त्यसबाट भ्रम फैलिएकाले फेरि लेख्न म विवश भएँ। फलस्वरूप ‘रानीपोखरीबारे फरक कुरा’ पढेपछि’ भन्ने शीर्षकमा वि.सं. २०७४ फागुन १९ गते शनिबारको ‘राजधानी’ (९ पृ.) मा एउटा लेख छपाएँ।

रानीपोखरी बनाउनका लागि वि.सं. १७२१ मा जमिन खनेदेखिको र वि.सं. १७२५ मा पोखरीको प्रतिष्ठा भएको दिनसम्मको तिथिमिति भएको तात्कालिक टिपोट पाइन्छ। त्यसमाथि, ‘ श्री श्रीजयप्रतापमल्लदेवेन, आफुले शास्त्र हेरिकन, असंख्यात पुण्य देखिकन निकासिकन, गङ्गा आदि नाना तीर्थको जल ल्यायिकन महाराजाधिराज नेपालेश्वर राजराजेन्द्र श्री श्रीजयचक्रवर्तीन्द्रमल्लदेवको नामले बनायाको पोषरिमाहा राष्याको छ’ भनी प्रताप मल्लले रानीपोखरीको वरपर राखेका शिलापत्रमा पनि लेखिएको छ। यस कारण त्यस पोखरीको जग खन्ने कामदेखि प्रतिष्ठा गर्ने कामसम्म प्रताप मल्लकै इच्छाअनुसार भएकाले ‘प्रताप मल्लले रानीपोखरी बनाएका होइनन्। पोखरी संरक्षण मात्र गरेका हुन्’ भनी हरिराम जोशीले बोलेकोको कुनै अर्थ छैन भनी मैले त्यस लेखमा लेखेको थिएँ।

‘कमलपुखूसँगै रहेको लाक्षी भएकैले यसलाई कमलाक्षी भनिएको हो’ भनी हरिराम जोशीले बोलेको कुराको खण्डन पनि मैले त्यस लेखमा गरेको थिएँ। वास्तवमा कर्मी अर्थात् सिकर्मीहरूको ‘लाछि’ भएकोले ‘क्रमिलाछि’ शब्द चलेको हो, यसैको अपभ्रंश ‘कमलाछी’ हो, यसको ‘कमलपोखरी’सँग कुनै सम्बन्ध छैन। संस्कृतभाषाको ‘रथ्या’ अर्थात् ‘रथ गुड्ने सडक’को पर्याय आफ्नो भाषामा ‘लाच्छ’ हुन्छ भनी ‘अमरकोष’का बङ्गाली टीकाकारहरूले दिएका छन्। त्यही शब्द ‘लाछ’ भई नेवारीमा चल्न गयो। पछि अन्त्याक्षरमा इकार थपिई ‘लाछि’ बन्न गयो। पुराना कानुनी लिखतमा ‘क्रमिलाछ/क्रमीलाछ’ टोल जति पनि पाइन्छ। यी सबै कुरा त्यही लेखमा मैले प्रमाणसहित खुलाएको थिएँ।

हरिराम जोशीले यस्तै छाँटले इतिहासको व्याख्या गर्ने गरेको अर्को एउटा उदाहरण पनि मैले त्यस लेखमा दिएको थिएँ। खुलाएर भन्दा, वि.सं. २०३६–३७ मा हरिराम जोशी पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’मा मध्यकालका, पहिल्यै प्रकाशित, भएभरका अभिलेख सार्दै क्रमशः छाप्दै थिए। त्यसै प्रसंगमा उनले यक्ष मल्ल (वि.सं. १४६५–१५३८, राज्यकाल वि.सं. १४८५–१५३८)को पालाको, टेबहालको ने.सं. ५८३ तदनुसार वि.सं. १५१९ को अभिलेख पनि छपाए।

मूर्तिको पादपीठमा कुँदिएको त्यस अभिलेखमा ‘स्थापितोऽयं निशाकरः’ अर्थात् ‘यी चन्द्र स्थापना गरिए’ भनी लेखिँदा लेखिँदै पनि हरिराम जोशीले यस अभिलेखको विषयमा लेख्दा यसलाई ‘सूर्य मूर्तिको पादपीठ लेख’ र ‘प्रस्तुत पादपीठ लेखमा निशाकर स्थापना गरेको कुरा वर्णित भएबाट निशाकर शब्दले चन्द्रमाको साथै सूर्यलाई पनि बुझाउने कुराको पत्तो हुन्छ’ भनी लेखे (‘मध्यकालीन अभिलेख’, ‘प्राचीन नेपाल’ ५८ संख्या, नेपाली खण्ड, २०३७, २१–२२ पृ.)।

रानीपोखरी प्रताप मल्लले बनाएका होइनन् भन्ने कुरा एकजना प्रतिष्ठित ऐतिहासिकको मुखबाट निस्केकोले जनसाधारणमा त्यस बेला निकै हल्लाखल्ला भयो। अझ, उनले गरेको कमलाछिको व्यूत्पत्ति पढेर प्रबुद्ध पाठकहरू दिक्क भए।

सातवटा घोडा नारिएको रथमा सूर्य चढ्छन् भन्ने पौराणिक विश्वासअनुसार ‘सूर्य’का पर्यायमा ‘सप्ताश्व’ अर्थात् ‘सात घोडा भएको’ भन्ने शब्द चलेकाले र टेबहालको सो मूर्ति पनि सातवटा वाहनमाथि उभिएकाले त्यो मूर्ति ‘निशाकर’ अर्थात् चन्द्रको हो भनी त्यही मूर्तिको पादपीठको शिलालेखमा लेखिँदा लेखिँदै ‘दिवाकर’ शब्दले बुझिने ‘सूर्य’ ‘निशाकर’ शब्दले पनि बुझिँदो रहेछ भनी हरिराम जोशीले बुजु्रक्याइँ छाँटेको यताबाट देखियो।

त्यो मूर्ति जुन सातवटा वाहनमाथि उभिएको छ, ती वाहन घोडा नभई हाँस हुन् भनी अलिकति विचार गरी हेर्ने जोसुकैले पनि भन्सक्छ। सातवटा हाँसमाथि चन्द्र विराजमान हुने शास्त्रीय वचन (प्रतापादित्य पाल र दीपकचन्द्र भट्टाचार्य, ‘दि यास्ट्रल् डिभिन्इटिज् अफ् नेपाल्’, पृथिवीप्रकाशन, वाराणसी, ई.सं. १९६९, ६२ पृ. मा उद्धृत ‘क्रियासंग्रहपञ्जिका’) र त्यसको उदाहरण व्यवहारमा पनि पाइने (उही, २२–२३ पृ.मा १३ संख्याको चित्र र प्रतापादित्य पाल, ‘दि आर्ट्स् अफ् नेपाल्’ २ भाग, ई.जे. ब्रिल, लाइडन, ई.सं. १९७८, ७८ पृ.मा ९६, १०४ संख्याका चित्र) हुनाले ‘निशाकर’को अर्थ हाँसोउठ्दो ढंगले ‘सूर्य’ भनी गर्नु पर्दैन भनी वि.सं. २०६१ मा प्रसंगवश मैले लेखेको थिएँ (‘ताडपत्रका लिखतपत्रमा अधिमास’, ‘पूर्णिमा’ ११४ पूर्णाङ्क, ३४–३५ पृ.)। त्यही कुरा ‘रानीपोखरीबारे फरक कुरा’को विषयमा लेख्दा पनि मैले दोहर्‍याएको थिएँ।

टोलटोलका पुराना नाउँ अपभ्रष्ट भई अहिले फरक नाम चलेको विषयमा पनि हरिराम जोशीले गरेको कुराकानी शिशिर वैद्यले छापेका छन्। तर ती कुरा प्रमाणद्वारा सिद्ध हुँदैनन्। त्यसको उदाहरण ‘असं’ असन भएको छ’ र ‘ ‘त्यरः’ त्यौड’ भएको भनी उनले बोलेको विषयमा त्यही लेखमा मैले खण्डन गरेको थिएँ।

त्यति पुरानो अभिलेखमा ‘असं’ आएको देखिएको छैन। ने.सं. ८६७ तदनुसार वि.सं. १८०४ को लिखतमा ‘असन’ र ‘असं’ सँगै आएका छन्। बरु ‘अशन’चाहिँ ने.सं. ५१९ तदनुसार वि.सं. १४५६ देखि पछिल्लो कालसम्मका अभिलेखमा प्रशस्त आएको छ। यो कुरा मैले प्रमाण खुलाई त्यहीँ लेखेको थिएँ। त्यस्तै, ‘असन’को अर्थमा ‘आसो’/‘आस्व’ पनि अभिलेखमा आएको दृष्टान्त ने.सं. ४८४ तदनुसार वि.सं. १४२१ देखि पाइन्छ। यो कुरा पनि त्यहीँ खुलाएर लेखेको थिएँ।

‘त्यरः’ ‘त्यौड’ भएको पनि होइन। ने.सं. ५९३ तदनुसार वि.सं. १५३० को अभिलेखमा ‘तेवुर्‍यं’, ने.सं. ७०९ तदनुसार वि.सं. १६४५ को अभिलेखमा ‘तेवुद्यं’, ने.सं. ८७८ तदनुसार वि.सं. १८१४ अभिलेखमा ‘तेओदे’ र ने.सं. ८८४ तदनुसार वि.सं. १८२१ को लिखतमा ‘तेओद’ आएकोले हरिराम जोशीलगायत धेरैले ठाने जस्तो ‘त्यरः’बाट ‘त्यौड’ बनेको होइन भनी त्यहाँ मैले सप्रमाण लेखेको थिएँ।

अंशुवर्माको पालाको टुँडिखेल सातधाराको अभिलेख ‘संवत् ४५’ हो भनी हरिराम जोशीले बोलेका रहेछन्। वि.सं. १९३७ मा त्यो अभिलेख पहिलोपटक छाप्दा भगवान्लाल इन्द्रजी (वि.सं. १८९६–१९४४) र गेओर्ग ब्यूलर (वि.सं. १८९४–१९५४)ले प्रश्नचिह्न हाली ‘संवत् ४५ (? )’ पढेका थिए। श्री ३ रणोद्दीप सिंह (वि.सं. १८८१–१९४२, शासनकाल वि.सं. १९३३–१९४२)को पालामा महांकालको मन्दिरदेखि उत्तरपट्टिको खेत मासी टुँडिखेल बढाइँदा त्यो धारा पुरियो। यसैले त्यस धाराको अभिलेख मूलबाट हेर्न अभिलेखज्ञहरूले नसक्ने हुँदा कसैले भगवान्लाल इन्द्रजी र गेओर्ग ब्यूलरकै पाठ सकारे र कसैले संवत्पछि उनीहरूले हालेको प्रश्नचिह्न हटाइदिए।

वि.सं. २०४१ मा त्यस ठाउँमा सब्वे खन्दा त्यो धारा फेरि देखियो। अनि लिपि, गणना र इतिहासको दृष्टिले विचार गरी नयराज पन्त (वि.सं. १९७०–२०५९)द्वारा त्यस अभिलेखको संवत् ‘४४’ भनी निर्णीत भयो (‘लिच्छविसंवत्को निर्णय’, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, काठमाडौँ, २०४३, ५०८, ५४०, ६४० पृ.)। हरिराम जोशीले सातधाराको अभिलेखको मितिको विषयमा बोलेको, माथि उद्धरण गरिएको कुराको खण्डन दिनेशराज पन्त (वि.सं. २००६ मा जन्म)ले उत्निखेरै जस्तो गरे (‘४५ कि ४४’, ‘शुक्रवार’, २०७४।११।१८।६, ८ पृ.)।

यही साउन १२ गते शनिबारको ‘अन्नपूर्ण पोस्ट्’ (फुर्सद, ख पृ.)मा हरिराम जोशीको गाथा गाई तिनै शिशिर वैद्यले ‘सीमान्तकृत संस्कृतिविद्’ भन्ने शीर्षकमा एउटा लेख छपाएका रहेछन्। त्यस लेखको विषयमा भनिहाल्नुपर्ने कुरा निकै भए पनि अहिले म त्यतातिर जान्नँ। खालि, एउटा कुरा मात्र स्पष्ट पार्छु।

त्यहाँ एक ठाउँमा यस्तो लेखिएको रहेछ— ‘जोशीले हालै पस्किएको रानीपाखेरीबारे फरक कुरा निकै चर्चाको विषय बन्यो। प्रताप मल्लले बनाएका होइनन् भन्ने उनको तर्कमा डा. महेशराज पन्तले निकै लामो खण्डन लेखे। खण्डनका साथै जोशीलाई व्यक्तिगत रूपमा लाञ्छना लगाउनमा पनि आफ्नो विद्वता खर्चिए पन्तले। जोशीलाई पन्तको खण्डनप्रति कुनै तिक्तता छैन। उनले जे जाने त्यही लेखे, मैले जे बुझेँ त्यही भनेँ।’

हरिराम जोशीले बोलेको कुरा उनका प्रशंसकले ठीकसँग उतारेका हुन् भने हरिराम जोशीलाई कस्तो खालको मसीजीवीमा राख्ने भन्ने कुरा जुनसुकै गम्भीर पाठकलाई लाग्छ। ‘जोशीलाई व्यक्तिगत रूपमा लाञ्छना लगाउनमा पनि आफ्नो विद्वता खर्चिए पन्तले’ भनी भनेकोमा मेरो केही भन्नु छ।

‘राजधानी’मा छापिएको मेरो लेख पढेको खण्डमा त्यहाँ त्यस्तो लाञ्छनाको कुरै छैन भन्ने स्पष्ट हुन्छ। कसैले जानी वा नजानी गरेको गल्ती देखाइदिएकोलाई नै व्यक्तिगत लाञ्छना लगाएको भन्ने हो भने मेरो केही भन्नु छैन। ‘महेशराज पन्तले त्यसरी लाञ्छना लगाउँदा लगाउँदै पनि हरिराम जोशीलाई कुनै तिक्तता छैन’ भनी उनका प्रशंसकले लेखेकाले हरिराम जोशीले मेरो आलोचनालाई सहज रूपमा लिएको र उनका प्रशंसकलाई मात्र त्यो अपच भएको जस्तो लाग्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.