मेसी बार्सिलोनाका नयाँ कप्तान
म्याड्रिड : स्पेनिस क्लब बार्सिलोनाले नयाँ सिजनका लागि लियोनल मेसीलाई कप्तानको जिम्मेवारी दिएको छ । नियमित कप्तान एन्द्रेस इनइस्टाले क्लब छाडेसँगै बार्सिलोनाले मेसीलाई आफ्नो नयाँ कप्तान चयन गरेको हो ।
गत सिजन बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जित्दा टोलीका कप्तान रहेका इनइस्टा त्यसपछि जापानी क्लब भिसेल कोबेसँग अनुबन्धित भएका छन् । त्यससँगै लामो समयदेखि आफ्ना लागि खेल्दै आइरहेका मेसीलाई बार्सिलोनाले कप्तानको जिम्मेवारी दिएको हो । मेसी १३ वर्षको उमेरदेखि बार्सिलोनासँग छन् । बार्सिलोनाले पछिल्लो समयमा हात पारेका सबै उपाधि र उपलब्धिमा उनै मेसीको महŒवपूर्ण भूमिका रहँदै आएको छ ।
मेसीको अनुपस्थितिमा सर्जियो बसक्वेट्स, जेरार्ड पिके र सर्जियो रोबर्टाेमध्ये एकले कप्तानी गर्नसक्ने बार्सिलोनाले जनाएको छ । बार्सिलोनाले आफ्नो आधिकारिक वेबसाइटमा मेसीलाई पहिलो रोजाइको कप्तान र बसक्वेट्सलाई उपकप्तान नियुक्त गरेको जनाएको छ ।
त्यसअनुसार पिके तेस्रो तथा रोबर्टाे अन्तिम रोजाइमा रहेको बार्सिलोनाले जनाएको छ । यो सिजन जेभियर मास्केरानोले क्लब छाड्दा रोबर्टाेले त्यो स्थान लिएका हुन् । मास्केरानोले बार्सिलोना छाडेर चिनियाँ क्लब हेबेई चाइना फर्चुनसँग अनुबन्ध गरेका छन् ।
बार्सिलोनाले यही अर्काे शनिबार अलाभेसविरुद्धको खेलसँगै स्पेनिस ला लिगाको नयाँ सिजनमा उपाधि रक्षाको अभियान सुरु गर्दै छ । त्यसअघि बार्सिलोनाले यही आइतबार स्पानिस सुपर कपको उपाधिका लागि सेभिल्लासँग प्रतिस्पर्धा गर्दै छ । आइतबारको यही खेलमा मेसी बार्सिलोनाका लागि पहिलो रोजाइको कप्तानको रूपमा मैदानमा उत्रनेछन् ।