अस्ताए पहिलो संसद्का विपक्षी नेता भरत शम्शेर

अस्ताए पहिलो संसद्का विपक्षी नेता भरत शम्शेर

काठमाडौं : पहिलो संसद्का विपक्षी दलका नेता, कांग्रेसका पुराना नेता भरत शम्शेर राणाको शनिबार निधन भएको छ । ८९ वर्षीय राणाको भारतको कोलकातास्थित निवासमा निधन भएको उनका भतिजा एवं कांग्रेस नेता उदय शम्शेर राणाले जानकारी दिए ।

नेता उदयशम्मेरशका अनुसार ठूलो बुबाको इच्छा अनुसार उनको पार्थिव शरीर कोलकाताको निल रतन सरकार मेडिकल रिर्सच कलेजमा बुझाइने भएको छ । उदयले भने, ‘ठूलो बुबालाई पुनर्जन्ममा विश्वास थिएन । त्यसैले उहाँको इच्छा अनुसार मृत्युपछि शवलाई दाहसंस्कार नगर्ने र शव अस्पताल बुझाउने भयौं ।’ भरत शम्शेर गोर्खा परिषद्का संस्थापक अध्यक्ष थिए । दरवारनिकट मानिने गोर्खा परिषद् २०१५ सालको पहिलो आम निर्वाचनमा १९ सिटसहित दोस्रो पार्टी बनेको थियो । निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चार सिट जितेको थियो । प्रथम जननिर्वाचित संसद्मा दोस्रो ठूलो दलको हैसियतले उनी विपक्षी दलका नेता भएका थिए । पार्टी दरवार निकट भएपनि उनले संसद्मा भने वीपी कोइराला नेतृत्वको सरकारको विरोध नगरेको कांग्रेस नेता एवं वरिष्ठ पत्रकार होमनाथ दाहालले सुनाए । उनले अन्नपूर्णसँग भने, ‘विपक्षी दलको नेता भएपनि भरत शम्शेर जहिले पनि संसद्मा प्रजातन्त्र बलियो हुनुपर्छ भनेर बोल्थे । सरकारले ल्याएका जनहितका काममा सहयोग गर्थे ।’

राजा महेन्द्रले २०१७ पुस १ गते राजनीतिक ‘कु’ गर्दै कांग्रेसको सरकार अपदस्थ गरेपछि उनले प्रजातन्त्रका पक्षमा समर्थन जनाउँदै गोर्खा परिषद्लाई निःशर्त कांग्रेसमा विलय गराए । ‘०१७ सालमा कांग्रेस नेतासँगै उनी पनि पक्राउ परे, केही समयमै उनी रिहा भएर कोलकाता गए’, नेता दाहालले भने, ‘त्यहीं आफ्ना पार्टीका नेतालाई बोलाएर प्रजातन्त्रका लागि क्रान्ति गर्ने भन्दै पार्टीलाई कांग्रेसमा विलय गराएका थिए ।’

कांग्रेसका शीर्ष नेतामध्येका एक भरत शम्शेर २०३६ सालको जनमतसंग्रह अघि राजनीतिक नेता एवं् कार्यकर्तामाथि लगाइएका मुद्दाहरू सरकारले फिर्ता लिएपछि निर्वासित जीवन छाडेर स्वदेश फर्केका थिए । २०३६ सालको जनमत संग्रहका बेला बहुदलका पक्षमा सक्रिय भएर लागेका थिए । राणाको पुरानो पार्टी गोर्खा परिषद् र कांग्रेसका अधिकांश नेता पञ्चायत प्रवेश गरे पनि उनी भने सधैं प्रजातन्त्रका लागि संघर्षरत रहे । ‘उहाँ सुरुमा घोर कांग्रेस विरोधी हुनुहुन्थ्यो, तर संसद्मा विपक्षी दलको नेता हुँदा भने कांग्रेस सरकारलाई सहयोग नै गर्नुभयो, कांग्रेस नेता एनपी साउदले भने, ‘कांग्रेसमा पार्टी विलय गराएपछि भने सधैं पार्टी र क्रान्तिप्रति प्रतिवद्ध भएर लाग्नुभयो । उहाँले पञ्चायतकालमा पनि धोका दिनुभएन ।’

कांग्रेसमा कृष्णप्रसाद भट्टराई निकट मानिने भरत शम्शेर पछिल्लो समय भने पार्टी राजनीतिबाट टाढा थिए । २०४९ सालमा कांग्रेसको केन्द्रीय सदस्य बनेका उनी कांग्रेसभित्र भट्टराईको निष्क्रियतासँगै कोलकातामा बस्दै आएका थिए । उनी त्यहाँ चलचित्र निर्माणमा लागेका थिए । उनका श्रीमति, दुई छोरा र दुई छोरी छन् । उनका भाई सागरशम्शेर राणा पनि कांग्रेसको पुराना नेता हुन् । सागर शम्शेर पछिल्लो समय लेखन कार्यमा सक्रिय छन् भने भतिजा उदय शम्शेर राजनीतिमै सक्रिय छन् । उनी पूर्ववर्ती सरकारका अर्थ राज्यमन्त्री थिए ।

कांग्रेसले बैठक बोलायो

कांग्रेसले आफ्ना पुराना नेता राणाप्रति श्रद्धाञ्जलि दिन आइतबार केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले शनिबार विज्ञप्ती जारी गर्दै मुलुकले लोकतन्त्र र गणतन्त्रको पक्षमा संघर्षरत एक प्रखर गुमाएको उल्लेख गरेका छन् । कांग्रेसको विज्ञप्तीमा भनिएको छ, ‘सम्पूर्ण जीवन प्रजातन्त्रका लागि संघर्ष र वीपी विचारधाराप्रति अर्पित गर्ने अथक योद्धाको भौतिक विदाइको यो क्षणमा कांग्रेस उहाँको अविचलित निष्ठाप्रति उच्च सम्मान व्यक्त गर्दछ ।’ कांग्रेस सभापति शेरबहादुर देउवाले स्वर्गीय राणाको योगदान सधैं स्मरणीय हुने बताएका छन् । लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा राणाले ठूलो योगदान पु¥याएको भन्दै उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको देउवाले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.