फर्कियो बाढीले लुटेको खुसी

फर्कियो बाढीले लुटेको खुसी

सुर्खेत : भेरी नदीमा आएको उर्लंदो बाढीले चार वर्षअघि झोलुंगे पुल बगायो। बाढीमा पुल मात्र बगेन, पश्चिम सुर्खेतको पञ्चपुरीस्थित तातोपानीमा भेरी किनारमा रहेको बस्ती नै बाढीसँगै बग्यो। दर्जनौं व्यक्तिको मृत्यु भयो, ठूलो संख्यामा परिवार घरवारविहीन भए। नदी वारपार गर्ने एक मात्र पुल बगेपछि आफन्त छुट्टिए, नजिकका छिमेकी पनि टाढा बने। स्थानीयलाई नदी वारपार गर्ने बाटो नै बन्द भयो।

तर, चार वर्षपछि अहिले बाबियाचौरको तिखाकुना र तातोपानी जोड्ने जामुस्थित भेरी नदीमा पक्की पुल ठडिएको छ। बाढीका कारण आफन्त र घरबास गुमाएका स्थानीयले लामो समयपछि बल्लतल्ल भेरीमा पक्की पुल पाएका हुन्। पुल निर्माण भएसँगै चार वर्षअघि बाढीले लुटेको स्थानीयको खुसी फर्किएको छ। नदीमा पक्की पुल पाएपछि स्थानीयमा यतिबेला खुसीको सीमै छैन।

पुल बगेपछि चार वर्षसम्म आपसमा टाढिएका स्थानीय बीचको सम्बन्ध विस्तारै बाक्लिन थालेको छ। कहिलेकाहीँ डुंगा चल्दा जोखिमपूर्ण यात्रा गरेर नदी तर्दै आएका र डुंगा नचल्दा वारपार गर्न नपाएका स्थानीयले हिजोआज यही पुलबाट निर्धक्क वारपार गर्न पाएका छन्। बाढीको विनाशपछि चार वर्षसम्म नदीको दुई किनारमा सीमित भएको स्थानीयको सम्बन्ध पुनः जोडिएको हो।

‘चाहेका बेला आफन्त भेट्न पाएका थिएनौं, नदीमा डुंगा नचल्दा एउटै परिवारका सदस्य पनि छुट्टिएर बस्नुपर्ने बाध्यता थियो’, तातोपानीका उपेन्द्र नेपालीले भने, ‘बाढीले पुल बगाएपछि हामी आफन्त र छिमेकीसँग टाढिएका थियौं, चार वर्षसम्म हामीले पाउनु दुःख पायौं। अहिले त पक्की पुल बनेको छ, सजिलै नदीमा वारपार गरेर आफन्तलाई भेट्न पाएका छौं।’ बाढीका कारण विस्थापित भएपछि तातोपानीका अधिकांश परिवार बाबियाचौरस्थित सामुदायिक वनमा अस्थायी रूपमा बस्दै आएका छन्। जन्मेको थातथलो छाडेर जंगलमा बस्दै आएका बाढीपीडित पुल बनेपछि सबैभन्दा बढी खुसी भएका छन्। पुलबाट सजिलै वारपार गर्न पाएपछि उनीहरूले आफन्त भेट्न थालेका छन्। जसकारण उनीहरू बीचको सम्बन्ध पनि बाक्लिँदै गएको छ।

अहिले जामुस्थित भेरी नदीमा तीन सय ५० मिटर लामो पक्की पुल निर्माणको ९० प्रतिशत काम सकिएको छ। पुल निर्माण भएसँगै त्यस क्षेत्रका बासिन्दालाई नगरपालिकाको कार्यालय र सदरमुकामसम्म पुग्न पनि सहज भएको हो। अहिले पुलको काम अन्तिम चरणमा पुगेको र भदौदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। ०७२ साल माघदेखि पुल निर्माण सुरु भएको थियो। अनक—लुम्बिनी—हिम्दुङ जेवी कन्स्ट्रक्सनले निर्माण जिम्मा लिएको यो पुलको ९० प्रतिशत काम सकिएको कम्पनीका प्रतिनिधि ओभरसियर विनोद पाण्डेले जानकारी दिए। उनका अनुसार बाँकी काम पनि सकेर भदौदेखि नै पूर्णरूपमा खुला गर्ने तयारी छ। यो पुलको लागत एक अर्बभन्दा बढीको भएको बताइएको छ। पुल निर्माण मात्र होइन, पुल वारिपारि चार सय २५ मिटर तटबन्धको काम पनि निर्माण कम्पनीको जिम्मामा छ।

ओभरसियर पाण्डेका अनुसार पुल सुरक्षित बनाउन पुलको वारिपारि चार सय २५ मिटरसम्म तटबन्धसमेत गरिएको छ। सम्झौताअनुसार पुल बनाउने अवधि पाँच वर्षको भए पनि तोकिएको अवधिभन्दा छिट्टै पुल निर्माण गरिसक्ने उनले बताए। यही कम्पनीले नै भेरी नदीको अन्य तीन ठाउँमा पनि त्यस्तै पक्की पुल निर्माण सुरु गरेको छ। पञ्चपुरी नगरपालिकालाई कैलाली जोड्ने कुइने-कचालीघाट पुल, घाटगाउँ र तातोपानी जोड्ने पुल र चिप्ले पुलको काम सुरु गरिएको ओभरसियर पाण्डेले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.