आफ्नै मृत्यु दर्ता बोकेर इन्साफ माग्दै रामसेवक

आफ्नै मृत्यु दर्ता बोकेर इन्साफ माग्दै रामसेवक

गोपालप्रसाद बराल/रासस

बर्दिवास : ‘हजुर ! हम बर्बाद भगेलौं, जिन्दे मे मरल।’ (हजुर, म बर्बाद भएँ, जिउँदै मरेको) महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी बैरियाका ५९ वर्षीय रामसेवकराय यादव अचेल जसलाई भेट्दा पनि यस्तै बिलौना गर्छन्।

आफ्नो हातमा आफ्नै मृत्यु दर्ताको प्रमाणपत्र बोकेर इन्साफका लागि विभिन्न कार्यालय धाउने यादव आफन्त, छिमेकी, कार्यालयका कर्मचारी, राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिलाई मात्र नभएर अपरिचित मानिस देख्नासाथ आफ्नो बिलौना सुनाउन थालिहाल्छन्।

‘हजुर, कत्त नई गेली ? सिडियो साब, नेता, प्रधान (आफ्नो स्थानीय तहका प्रतिनिधि) आ प्रहरी सबके कहिक थाइक गेली’ (हजुर, कहाँ गइनँ ? सिडियो साब, नेता, नगर प्रमुख र प्रहरी सबैलाई भनेर थाकिसकें) यादवले आफ्नो मृत्यु दर्ताको प्रमाणपत्र देखाउँदै सञ्चारकर्मीसँग भने, ‘मुदा, हम जिन्दा आद्मीके मरल प्रमाणपत्र कोई नई सकाइर देलक’ (तर म जिउँदो मान्छेको मरेको प्रमाणपत्र कसैले पनि सच्याइदिएनन्)।’ 

किशोरावस्थामै मातृवियोग भएपछि २०४८ सालमा घरमा पत्नीलाई छाडेर कमाउन भारतको पञ्जाब गएका उनी लामो समयसम्म नफर्केपछि पत्नीले अन्तै घरजम गरिन्। यादवकी आमा मरिसकेकी र पत्नी अन्तै हिँडेपछि उनी पञ्जाबतिरै रहेका बेला सौतेनी आमा शकुन्तीदेवी र सौतेलो भाइ रामपुकारको दवाबमा बाबु रामवृक्षले २०६८ साल जेठ १ गते आफैं सूचक भएर रामसेवकको मृत्युदर्ता गरे।

रामसेवकको नाउँको जग्गा नामसारी गरेर बेच्न पनि भ्याए। रामसेवकको २०६७ कात्तिक १४ गते मृत्यु भएको भनी त्यतिबेलाका खोपी गाविसका पञ्जिकाधिकारी (गाविस सचिव) गोपाल पाठकको हस्ताक्षर रहेको मृत्यु दर्ता प्रमाणपत्रमा उल्लेख छ। 

आमा कौशिल्यादेवी जीवित छँदै उहाँले आफ्नो नाउँमा रहेको बर्दिवास–जलेश्वर सडक छेउको १० कट्ठा र आफ्नै बस्तीको पाँच कट्ठा घडेरी रामसेवकको नाउँमा दर्ता गरिदिएका थिए। करोडौं मूल्यको सोही जग्गाको लोभमा परेर सौतेनी आमा शकुन्ती र भाइ रामपुकारले दवाब दिएर बाबुलाई मृत्युदर्ता गर्न लगाएको अहिले थाहा भएको छिमेकी रामप्रसाद रायले बताए।

एक वर्षअघि घर आएको आपूmलाई सौतेनी आमा र भाइले नचिन्ने बताएपछि रामसेवक अहिले बिलखबन्दमा परेका छन्। ‘बाबु देहान्त भगेल, माय आ भाइ नई चिनल बतौलक (बाबु मरिहाले, सौतेनी आमा र भाइले नचिन्ने बताए)’,  आँसु पुछ्दै रामसेवकले भने, ‘कि करुँ ? घर अछैत अखैन मन्दिर में रहिक गामघर टहलैत खाए परैय’ (के गरौं ? घर हुँदै बेघर भएर मन्दिरमा आश्रय लिएको छु, गाउँ चहारेर खाँदैछु।)’ 

रामसेवकले आफ्नो मृत्युदर्ता बदर गर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि कार्यालयले व्यक्तिगत घटना दर्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्जीकरण विभागसँग जोडिएकाले जिल्लामा स्थानीय विकास अधिकारीसँगको समन्वयबाट मात्र समस्या निराकरण हुने जनाएको छ।

‘प्रपञ्च रचेर जिउँदो मान्छे मरेको घटना दर्ता गर्ने गराउने कारबाहीमा पर्छन्’, प्रजिअ उमेशकुमार ढकालले सञ्चारकर्मीको जिज्ञासामा भने, ‘यहाँ (जिल्ला) का स्थानीय विकास अधिकारी कामविशेषले बाहिर हुनुहुन्छ, उहाँ फर्केपछि यथार्थ बुझेर सच्याइनेछ।’ 

जिउँदो मान्छेको मृत्यु दर्ता गर्ने गराउनेविरुद्ध जिल्ला अदालतमा मृत्यु दर्ता खारेजीसँगै जालसाजी मुद्दा दायर गर्न र अंश कायमको मुद्दा चलाउन सकिने यहाँका कानुन व्यवसायीले बताए। पहिलो चरणमा जिउँदो मान्छेको मृत्यु दर्ता गर्ने निकायलाई नै बदर गर्ने अधिकार रहेको अधिवक्ता उद्धव क्षत्रीले जानकारी दिए।

यसअघि उक्त नगरपालिका–६ वडा कार्यालयले रामसेवकको मृत्यु दर्ता खारेजीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन इन्कार गरेकोे पीडित रामसेवकको भनाइलाई उद्धृत गर्दै अधिवक्ता क्षत्रीले जानकारी दिए। जिप्रका र कानुन व्यवसायीले कानुनी उपचारको बाटो बताए पनि पैसा नभई कुनै काम अघि नबढ्ने गुनासो गर्दै पीडितले भने, ‘मन्दिरमा बसेको छु, खाने पिउने ठेगान छैन। एक वर्षदेखि कैयौं ठाउँ धाइसक्दा पनि इन्साफ नपाउँदा मन मर्दै गएको छ।’

नगरपालिका प्रमुख सुनिलकुमार यादवले आफूमा यस्तो गुनासो लिखित वा मौखिक कसैले नगरेकाले सोबारे केही थाहा नभएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.