जेर्राड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए
काठमाडौँ: बार्सिलोनाका स्पेनिस डिफेन्डर जेर्राड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । स्पेनबाट १०२ खेल खेलेका उनले आइतवार यस्तो घोषणा गरेका हुन् ।
३१ वर्षीय डिफेन्डर पिकेले स्पेनका लागि सन् २००९ देखि सन् २०१८ सम्म १०२ खेल खेलेका छन् । त्यसक्रममा उनले पाँच गोल पनि गरेका थिए ।
स्पेनले सन् २०१० को विश्वकप जित्दा पिके भरपर्दा डिफेन्डर थिए । त्यसपछि सन् २०१२ मा स्पेनले युरोकप उचाल्दा पनि पिके रक्षापंक्तिमा सबैभन्दा भरपर्दा खेलाडी बनेका थिए ।
पिके आफ्नो फुटबल जीवनका क्रममा विवादमा पनि तानिए । स्पेनबाट अलग्गै राज्यको मागसहित अभियान चलाइरहेको क्याटालोनियाको पक्षमा उभिएपछि उनले चर्को आलोचना सहनुपरेको थियो ।
क्याटालोनिया स्पेनको उत्तर-पूर्वी क्षेत्रमा अवस्थित ७५ लाख जनसंख्या भएको एउटा भूभाग हो । जहाँका मानिसको छुट्टै भाषा र संस्कृति रहेको छ भने यहाँका बासिन्दाले बार्सिलोनालाई राजधानी मान्दै आएका छन् ।