नेपाल टेलिकमको नाफा १५ अर्ब ६६ करोड रुपैयाँ
काठमाडौं: सरकारी स्वामित्वको नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/०७५ मा १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । गत आवमा गरेको नाफा आर्थिक वर्ष २०७३/०७४ को भन्दा १.९२ प्रतिशत बढी भएको टेलिकमले जनाएको छ ।
अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरण पश्चात् गत आर्थिक वर्षमा टेलिकमले कुल ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । टेलिकमको गत आवको आम्दानी आर्थिक वर्ष २०७३/०७४ को तुलनामा २.१९ प्रतिशतले बढी हो ।
टेलिकमले गरेको नाफाको आधारमा अब प्रतिसेयर आम्दानीमा अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को तुलनामा १.९६ ले वृद्धि भई प्रतिसेयर आम्दानी एक सय चार दशमलब ४५ रुपैयाँ पुगेको छ ।
यस्ता छन् गत वर्षका काम
टेलिकमले केही वर्ष अघिदेखि सुरु गरेको ‘एकीकृत बिलिङ प्रणाली’ ल्याण्ड लाइन सेवासमेत सम्पन्न गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्रमध्ये अतिप्रभावित चार जिल्लाका ७४७ स्थानमा ब्रोडव्याण्ड इन्टरनेट सेवा सञ्चालन गर्ने जिम्मेवारी कम्पनीलाई दिइएकोमा तोकिएको समय अगावै सबै स्थानमा सेवा सञ्चालनमा भएको टेलिकले जनाएको छ ।
यति पुगे ग्राहक
२०७५ जेठ मसान्तसम्ममा टेलिकमको टेलिफोन ग्राहक आधार १ करोड ९७ लाख ४७ हजार ४ सय ४५ रहेको छ । यसैगरी इन्टरनेट ग्राहक आधार १ करोड ६ लाख ५२ हजार ४ सय २९ रहेको छ ।
यसरी २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २ सय २३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार ५ सय ३५ ले बृद्धि भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षको सुरुवातमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकोमा गत जेठ महिनामा सो बजार हिस्सा २ प्रतिशतले बृद्धि भई ५१ प्रतिशत पुगेको छ ।
अबको लक्ष्य
टेलिकले चालु आवमा सूचना महामार्गको पूर्वाधार विस्तार गर्ने लक्ष्य लिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषबाट वित्तीय सहयोग प्राप्त हुने गरी प्रदेश १,२,३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइवर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गर्ने योजना अगाडि बढाएको छ ।
यसका लागि पाँचवटा बोलपत्र आह्वान भइसकेको छ । यसैगरी पाँचथरको चिया भञ्ज्याङदेखि गोर्खा–धादिङको आरुघाटसम्म कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने टेलिकमले योजना बनाएको छ ।
यस्तैगरी जीएसएम मोवाइल सेवामा चालु आर्थिक वर्ष २०७५/७६ मा पोष्टपेडतर्फ ५९ हजार ८ सय ३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने लक्ष्य लिइएको छ । साथै यसै आवमा सीडीएमए प्रविधिका ८१ हजार ६ सय २ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य टेलिकमले लिएको छ ।
चालु आर्थिक वर्षमा पीएसटीएन (ल्यान्ड लाइन)सेवातर्फ ४२ हजार २ सय ६१ लाइन टेलिफोन वितरण गर्ने टेलिकमको लक्ष्य छ । दूरसञ्चार क्षेत्रको बजारमा मोबाइल तथा डाटा सेवाको माग बढ्दै गएकाले आगामी दिनमा डाटा सेवाको विस्तारको लागि सेवामार्फत वायरलेस ब्रोडब्यान्ड सेवालाई थप प्रवद्र्धन गर्ने टेलिकमले जनाएको छ ।
यसकाा साथै शहरी क्षेत्रका ग्राहकहरुलाई उच्च क्षमताको डाटा सेवा प्रदान गर्न काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य–मुख्य सहरमा तीन लाख क्षमताको फाइवर टु दी होम नेटवर्क विस्तार गरी १ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्ने टेलिकमले जनाएको छ ।
बिस्तार हुँदै वाइम्याक्स
चालु आवमै विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधिमार्फत् न्युनतम ५ सय १२ केविपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवाको हट स्पट स्थापना गरी मुलुकका ७७ वटै जिल्ला सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्रहरुमा वार्ईफाई सेवा सञ्चालनमा ल्याउने टेलिकमले तयारी गरेको छ ।
२२ अर्ब पुँजीगत लगानी
टेलिकमले सेवा विस्तार तथा गुणस्तर विकासका लागि करिब २२ अर्ब पुँजीगत लगानी गर्ने योजना तय गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा भ्वाइस सेवातर्फ कुल २७ लाख ३३ हजार टेलिफोन लाइन थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पुर्याउने तथा डाटा सेवाको घनत्व पनि वृद्धि गर्दै ४५ प्रतिशत पुर्याउने कार्यक्रम राखेको छ ।
यस्तैगरी कम्पनीले आर्थिक वर्ष २०७५/७६मा कम्पनीको सञ्चालन आय ४४.२५ अर्ब पुर्याउने र कुल आय १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य तय गरेको छ ।