चीन आउने बस्तुमा करवृद्धि अमेरिकाका लागि घाँडो
सांघाई : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको प्रमुख उद्देश्य बेइजिङमाथि ‘अमेरिकी सामान खरिद गर्न’ दबाब दिनु थियो । यसको परिणाम भने अमेरिकाका लागि प्रत्युत्पादक बन्न पुगेको छ ।
अमेरिकाबाट वार्षिक करोडौं अमेरिकी डलरको मासु आयात गर्ने चीनको रोजाइमा आजभोलि अरू देश पर्न थालेका छन् । पछिल्लो समय अमेरिकी करवृद्धिको प्रतिशोधस्वरूप चीनले अमेरिकाबाट आयात हुने सुँगुर र गाईको मासुमा करवृद्धि गरेको छ । त्यही कारण चिनियाँ बजारमा अमेरिकी मासुको मूल्य आकासिएको छ ।
चिनियाँ आयातकर्ताहरूले स्वाभाविकरूपमा अरू स्रोत र विकल्प खोजी गर्न थालेका छन् । यो प्रवृत्ति अन्य अमेरिकी बस्तुमा पनि देखा पर्न थालेको छ । ‘चिनियाँ करवृद्धिका कारण अमेरिकी बस्तु ज्यादै महँगो भएको छ । अहिले हामीले अरू नै मुलुकबाट आयात गर्न थालेका छौं’, मासु कम्पनी पीएमआई फुड्सका व्यवस्थापक चाङ लिहुईले भने, ‘हामीले आजभोलि अस्ट्रेलिया, दक्षिण अमेरिका र क्यानडाबाट मासु आयात गर्न थालेका छौं ।’
पीएमआई फुड्सले बेइजिङले करवृद्धि गर्न थालेसँगै अमेरिकाबाट सुँगुरको मासु आयात घटाएपछि अमेरिकी मासुको मूल्य एकाएक बढेको छ । ‘करवृद्धिको लडाइँका कारण व्यापारको विश्वव्यापी परिदृश्यमै परिवर्तन ल्याउने सम्भावना देखिएको छ’, उनले अगाडि भने, ‘यसबाट अरू मुलुकलाई फाइदा पुग्नेछ । चिनियाँ बजार निश्चित रूपमै प्रतिस्थापन हुनेछ ।’ व्यापारिक युद्धको परिणाम फैलिँदै गएमा त्यसको असर प्रक्षेपण गर्न मुश्किल हुनेछ ।
आर्थिक विश्लेषकहरूले अमेरिकी निर्यातकहरूले चिनियाँ बजार गुमाउने खतरा औंल्याएका छन् । अमेरिकाले जुन महिनामा मात्र करिब १४ करोड अमेरिकी डलर बराबरको मासुजन्य बस्तु आयात गरेको थियो । यो अमेरिकाबाट हुने कुल मासुजन्य बस्तुको निर्यातको करिब १० प्रतिशत हो । चीनले मुख्य रूपमा मासु, भटमास, गहुँ र पेट्रोकेमिकल जस्ता बस्तुको आयातमा करवृद्धि गरेको छ’, क्यापिटल इमोनोमिक्समा कार्यरत जुलियन इभान्स–प्रिटचार्डले भने, ‘किनभने चीनको विश्वासमा यी बस्तु विश्व बजारबाट सहजै आपूर्ति गर्न सकिन्छ ।’