रूस-अमेरिका व्यापार युद्ध बढ्यो
मस्को : अमेरिका र रूसबीच आर्थिक एवं व्यापारिक प्रतिबन्ध लगाइएपछि व्यापार युद्ध बढेको छ । अमेरिकाले रूसका पूर्वजासुस सर्गेई स्क्रिपल र उनकी छोरी युलियामाथि घातक नर्व एजेन्ट आक्रमण गरेको भन्दै २२ अगस्तदेखि रूसलाई आर्थिक प्रतिबन्ध घोषणा गरेको छ ।
रूसी विदेश मन्त्रालयका अनुसार अमेरिकी प्रतिबन्धमा रूसलाई विदेशी सहयोगमा प्रतिबन्धका साथै सैन्य सामग्री पनि किनबेचमा प्रतिबन्ध लगाइएको छ । अमेरिकी विदेश मन्त्रालयले यसबाट लाखौं डलर बराबरको नोक्सानी हुने बताएको छ । अमेरिकाले यसबाट रूस तहसनहस हुने दाबी गरेको छ ।
रूसको ७० प्रतिशत व्यापार ध्वस्त हुने अमेरिकी बुझाइ छ । रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले भने, ‘बैंकिङ परिचालन वा कुनै पनि मुद्राको उपयोगमाथि प्रतिबन्ध लगाइनुलाई नै आर्थिक युद्ध भनिन्छ ।’ रूसी प्रधानमन्त्रीले अमेरिकी प्रतिबन्धको आर्थिक एवं राजनीतिक रूपले सशक्त जवाफ दिने पनि स्पष्ट पारेका छन् ।