गहभरि आँसु पार्दै कर्णबहादुरले भने, ‘प्रधानमन्त्रीज्यू छोरा नेपाल फर्किएको सुन्न पाऊँ’
काठमाडौं : ‘प्रधानमन्त्रीज्यू’, ७८ वर्षीय कर्णबहादुर बमले गहभरि आँसु पार्दै भने, ‘८० वर्ष पुग्न लागे, १६ वर्षदेखि छोरा कुरेर बसेको छु। ऊ जिउँदो आउँछ कि लाश आउँछ, थाहा छैन। मर्नुअघि छोराको अनुहार देख्न पाए हुन्थ्यो।’
आइतबार बिहान प्रधानमन्त्री केपी ओलीलाई भेट्ने क्रममा दार्चुलाका कर्णबहादुरका आँखाभरी आँसु थियो। उनी १६ वर्षदेखि संयुक्त अरब इमिरेट्स (युएइ) को जेलमा रहेका छोराको सकुशल घर फिर्तीका लागि प्रधानमन्त्रीसँग अनुनय गरिरहेका थिए। कर्णबहाुदरले यसो भनिरहँदा प्रधानमन्त्री गम्भीर मुद्रामा कुरा सुनिरहेका थिए। कर्णबहादुरले अघि थपे, ‘मेरो छोरालाई बचाइदिनुस्, हजुरले पहल गरिदिनुपर्यो। ऊ निर्दाेष छ।’ कर्णबहादुर बम अर्थात् अमरबहादुर बमका बुबा। कुरा सन् २००३ को हो। दार्चुलाका अमरबहादुर बमको सपना पनि आमयुवा जस्तै थियो, ‘विदेश जाने, पैसा कमाउने अनि खुसीसाथ परिवारसँग बाँकी जीवन जिउने।’ किसान परिवारमा जन्मिएका अमरले विदेश जाने योजना बुँने र विदेश जानु ठीक एक महिना अघि बिहे गरे।
भारतमा ड्राईभिङ गर्दै आएका उनले यूएईमा पनि यही पेशा अँगाले। सबै ठिकठाक चल्दै थियो। विदेश गएको छोराले पैसा पठाएपछि आफ्ना गरिबीका दिनहरू पनि अन्त्य हुने कल्पनामा दार्चुलामा रहेका आमाबुवा र श्रीमति पनि दंग थिए। त्यो खुसी लामो समय टिकेन। युएई गएको दुई महिना नबित्दै अमरका बारे दुखद् खबर आयो, उनी हत्या अभियोगमा जेल परेको।
भारतीय नागरिकको गाडी चलाउने उनलाई एकजना भारतीयको हत्या गरेको अभियोगमा त्यहाँको प्रहरीले पक्राउ गर्यो। अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनायो। उनलाई अहिलेसम्म मृत्युदण्ड त दिइएको छैन तर रिहाइ पनि भएको छैन। उनको भविष्य पूर्णत अन्यौलमा छ। यता छोरालाई मृत्युदण्ड दिने खबर सुनेलगत्तै उनकी आमाको हृदयघातबाट ज्यान गयो। अमरकी श्रीमति उनको बाटो पर्खेर बसेकी छन्। कर्णबहादुर कहिले बुहारीलाई साथमा लिएर त कहिले एक्लै, सरकारसँग छोराको उद्धारका लागि हार गुहार गर्न नौ पटक काठमाडौं आइसके।
हरेक पटक नयाँ सरकार बनेसँगै उनी काठमाडौं आइपुग्छन्। मन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेट्छन्। सबैलै पहल गर्ने आश्वासन दिन्छन्। उनी त्यही आश्वासन बोकेर घर फर्कन्छन्। त्यसैको निरन्तरता स्वरूप उनी नौ दिन अघि काठमाडौं आइपुगेका हुन्, प्रधानमन्त्रीलाई भेट्न। लामो समयदेखि ‘अमर बम बचाउ अभियान’ चलाएर जीवन रक्षाका लागि सक्रिय पत्रकार राजेन्द्र कुँवरसहितको टोलीले आइतबार प्रधानमन्त्रीलाई भेटेर अमरको जीवन रक्षाका लागि पहल गरिदिन आग्रह गरेको हो।
‘बुढो मान्छे काठमाडौं धाउँदा धाउँदा थाकिसक्नुभयो। सबैले आश्वासन त दिन्छन्, तर अहिलेसम्म गम्भीर पहल नहुँदा अमरका बुबा निकै दुखी हुनुहुन्छ’, दार्चुलाका पत्रकार कुँवरले भने, ‘प्रधानमन्त्रीले गम्भीरतापूर्वक कुरा सुन्नुभएको छ। चाँडै पहल गर्ने बताउनुभएको छ।’ प्रधानमन्त्रीको कुरा सुनेपछि कर्णबहादुर पनि केही आशावादी बनेका छन्। उनले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीज्यूले म चाँडै पहल गर्छु भन्नुभएको छ, मेरो छोरा सकुशल देश फर्कने विश्वास छ।’ उनी सोमबार दार्चुला जाँदैछन्। उनले प्रधानमन्त्रीलाई भनेका छन्, ‘अब अर्काे पटक काठमाडौं आउँदिन, छोरा फर्किएको खबर उतै सुन्न पाउँ हजुर।’
भारतीय नागरिकको हत्यामा अमरको संलग्नता नरहेको दाबी गर्छन् पत्रकार कुँवर। उनले घटनाका बारे भने, ‘एउटा क्लबमा भारतीय नागरिक शरद सेट्टीको हत्या भयो। अमर बम गाडी लिएर क्लब बाहिर बसेका थिए। उनी जसको गाडी चलाउँथे, ति दुईजना क्लबबाट बाहिर आएर र गाडीमा चढे। पछि हत्या अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गर्यो।’
अदालतमा भाषाको समस्याका कारण उनले न्यायाधीशको जवाफ दिन नसक्दा दोषी ठहर भएको कुँवर बताउँछन्। ‘उनी निर्दाेष छन्, मैले नै तीन वर्षअघि जेल पुगेर उनलाई भेटें। भाषा नबुझ्दा उनी फसे। पक्राउ परेका भारतीय नागरिकले पनि अमर निर्दाेष भनिसकेका छन्’, उनले भने।
तर त्यहाँको शेख (राजा) ले निर्णय नगरेसम्म अमर बम रिहा हुन नसक्ने उनको निचोड छ। त्यसका लागि प्रधानमन्त्री वा राष्ट्रपतिले नै सिधै त्यहाँका शेखसँग कुरा गरेर अमरको रिहाई हुन सक्ने विश्वास कुँवरको छ। अमरका बुबा कर्णबहादुरले पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, शेरबहादुर देउवालाई यसअघि नै भेटिसकेका छन्। उनले पूर्वराष्ट्रपति रामवरण यादव र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेर छोराको रिहाइका लागि अपिल गरेका थिए।