शिक्षकलाई टिप्स
कोही शिक्षक विद्यार्थीका लागि आमाबाबुभन्दा प्यारा हुन्छन् भने कोही हाउगुजी। कतिपय शिक्षकको नाम विद्यार्थीले सुन्न पनि चाहँदैनन्। यो शिक्षकको बानी व्यवहारमा भर पर्छ। असल अनि सबैको प्यारो शिक्षक बन्नका लागि के गर्ने ? पढ्नुहोस् केही टिप्सः
१. शिक्षकले विद्यार्थीको ध्यान पाठ्यवस्तुमा केन्द्रित गर्न हरेक समय प्रयत्न गरिरहनु पर्छ। यसका लागि सिकाइ प्रक्रियाका अतिरिक्त पाठ्यसामग्री समेत बदल्नुपर्ने हुन सक्छ।
२. शिक्षक अध्ययनशील हुनुपर्छ। यसले समयसापेक्ष ज्ञान हासिल गर्न सहज हुन्छ। अलमलमा पर्नु हुँदैन। शिक्षकले विद्यार्थीलाई स्वाध्ययनमा समेत लगाउनुपर्छ। पाठ्यक्रमले निर्धारण गरेका पाठ्यवस्तुको पढाइले मात्र पुग्दैन भन्ने कुरा विद्यार्थीलाई बुझाउन सक्नुपर्छ।
३. विद्यार्थीका सकारात्मक व्यवहारको प्रशंसा गर्ने बानी गर्नुपर्छ। शिक्षकले उनीहरूका कमजोरीप्रति नकारात्मक व्यवहार देखाउनु हुँदैन।
४. शिक्षकले विद्यार्थीसँग संवादको वातावरण तयार गर्नुपर्छ। उनीहरूका रुचि पहिल्याएर सोहीअनुसार सिकाइको वातावरण तयार पार्नुपर्छ।
५. शिक्षकले अध्यापनका क्रममा दृष्टान्त, उदाहरणहरू दिइरहनुपर्छ। यसले विद्यार्थीलाई पढेको कुरा सम्झिन सहयोग गर्छ।
६. विद्यार्थीलाई गृहकार्य थोपर्ने मात्र होइन, हेरेर पृष्ठपोषण दिने बानी बसाल्नुपर्छ। शिक्षक सदैव मार्गदर्शक बन्नुपर्छ।
७. शिक्षकले प्रविधिको उपयोग गर्न जान्नुपर्छ। शिक्षण सिकाइमा यस्ता सामग्री बहुउपयोगी हुन्छन्।
८. शिक्षक अध्यापक मात्र नभएर व्यवस्थापक पनि हो। शिक्षकले कक्षाकोठा व्यवस्थापनमा समेत ध्यान दिनुपर्छ। कक्षाकोठाको वातावरण सिकाइ अनुकूल भएन भने विद्यार्थीको पढाइमा सोचेअनुसार प्रगति हुन सक्दैन।
९. शिक्षकले विद्यार्थीका अभिभावकसँग उनीहरूका नानी बाबुको सिकाइको स्तरबारे छलफल गर्नुपर्छ। यसले विद्यार्थीको भविष्य निर्माणमा सहयोग गर्छ।