अग्रिम हाजिर गर्ने डाक्टर अख्तियारको फन्दामा
जाजरकोट : महिना नबित्दै हाजिर गर्ने जाजरकोट अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राई अख्तियारको फन्दामा परेकी छन् । साउनको अग्रिम हाजिर गरेर डाक्टर बेपत्ता भएको समाचार अन्नपूर्ण पोस्ट्ले बिहीबार प्रकाशन गरेपछि उनलाई अख्तियारले छानबिन थालेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट खटिएको टोलीले डा. राईको हाजिरलगायत कागजात नियन्त्रणमा लिई अनुसन्धान थालेको हो । शाखा अधिकृत सुरेशकुमार विसीको नेतृत्वमा खटिएको टोली जाजरकोट अस्पताल पुगेर हाजिरलगायतका कागजात संकलन गरेको हो । टोलीले अस्पताल प्रमुखसँग पनि आवश्यक सोधपुछ गरेको थियो ।
अख्तियार सुर्खेतका उपसचिव तथा वरिष्ठ अनुसन्धान अधिकृत जंगबहादुर डाँगीले भने, ‘उनको हाजिर जाँच गर्दा साउनभरिको हाजिर अगाडि नै गरेर जिल्ला छाडेको पाइयो । शनिबारको दिन पनि हाजिर गरिएको छ । उनलाई के कारबाही गर्ने र कस्तो प्रकारको मुद्दा लगाउनेबारे केही दिनमै टुंगो लाग्नेछ ।’ उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट विशेषज्ञ सेवा दिन जेठदेखि काजमा खटिएकी हुन् । विशेषज्ञ सेवा दिनुको साटो महिनाभरिको अगाडि नै हाजिर गरेर उनले जिल्ला छाडेपछि प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प भएको छ ।
स्वास्थ्य कार्यालय जाजरकोटले डा. राईलाई महँगो तलब दिएर जटिल प्रकृतिका सुत्केरीको अपरेसन, स्त्रीरोगलगायत उपचार गर्न काजमा राखेको हो । उनले मासिक दुई लाख ७७ हजार दुई सय ५० रुपैयाँका दरले जेठ र असारको पाँच लाख ५४ हजार पाँच सय रुपैयाँसमेत भुक्तानी लिइसकेकी छन् । दुई महिनामा आधा दर्जन सुत्केरीलाई उपचार गर्न नसकेर अस्पतालले रेफर गरेको छ ।
गत शुक्रबार जिल्ला प्रशासन कार्यालय जाजरकोटले पनि हाजिर छड्के गरी साउनभरिको हाजिर अगाडि नै गरेर गएको प्रमाणसहित कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक कारबाहीका लागि सिफारिस गरेको छ । तर, डा. राईलाई कारबाही गर्नुको साटो प्रतिष्ठानले उनलाई बचाउन काज फिर्ता गरी जुम्लामा हाजिर गर्ने तयारी गरिरहेको बताइएको छ । जाजरकोट अस्पतालका निमित्त प्रमुख डा. केशरजंग कार्कीले भने, ‘डा. राई व्यक्तिगत कामको सिलसिलामा नेपालगन्ज जानुभएको थियो । उतैबाट जुम्ला फर्किसक्नुभएको छ । यता, स्थानीय प्रशासन र अख्तियारले छापा मारेपछि उहाँ उतै फर्किनुभएको हो ।’ डा. राईलाई कारबाहीबाट जोगाउन विभिन्न शक्तिकेन्द्रबाट दबाब दिन थालिएको बताइएको छ ।