इलेक्ट्रिसियन र प्लम्बिङमा आकर्षक कमाइ

इलेक्ट्रिसियन र प्लम्बिङमा आकर्षक कमाइ

दयाराम श्रेष्ठ १९ वर्षअघि आफ्ना ठेकेदार दाजुको साइटमा काम गर्थे। कमाइ खासै थिएन। दुःख धेरै भएपछि विकल्प खोज्न थाले। केही वर्षपछि उनले इलेक्ट्रिसियनको काम सिके। सीप सिक्नासाथ उनलाई कामको खाँचो भएन। केही वर्षपछि उनले प्लम्बिङको काममा पनि हात हाले। प्लम्बिङको ठेक्का पनि लिँदै गरेका उनीसँग हाल सात जना कामदारहरू छन्। उनको पाँच जनाको परिवार यही कामबाट पालिएको मात्र होइन, छोराछोरी राम्रा विद्यालयमा पढिरहेका छन्।

उनको अनुभवमा इलेक्ट्रिसियनको काम सिक्न चाहनेले ६ महिनादेखि एक वर्षमा सामान्य काम गर्न जान्ने हुन्छ। उनले भने, ‘पढेको मान्छेलाई काम सिक्न सजिलो हुन्छ। चित्त लगाएर सिक्नेले एक वर्षमा ७० प्रतिशत काम गर्न सक्छ। यो काममा आम्दानी पनि राम्रो हुन्छ। प्रशिक्षणको क्रममा सामान्य भए पनि काम सिकेको मान्छेले २५–३० हजार सजिलै आम्दानी गर्न सक्छ।’

विदेशमा गएर अनेक काम गर्न तयार हुने नेपाली युवालाई सीप सिक्न उनी सुझाउँछन्। विदेशमा गएर जुनसुकै काम गर्न तयार हुने तर नेपालमा भने ठूलो र सानो काम भन्दै तुलना गर्ने परम्परालाई उनी ठीक मान्दैनन्। ‘काम ठूलो सानो हुँदैन। सीप जहिले र जहाँ पनि काम लाग्छ। हिजोआज इलेक्ट्रिसियन र प्लम्बिङको काम पर्याय जस्तै भएका छन्। सबै काममा जोखिम नहुने होइन। भवितव्य भनेको अलग कुरा हो।’

इटहरीका ईश्वर दाहाल झन्डै एक लाख खर्चेर मलेसिया गए। पाँच वर्ष बस्दा पनि खास उपलब्धि भएन, उनले ऋणसम्म तिरे। स्वदेश फर्किएपछि उनलाई सानैमा सिकेको इलेक्ट्रिसियनको कामलाई तिखार्न मन लाग्यो। उनले सीटीईभीटीबाट दोस्रो लेभलको तालिम लिए। उनलाई अहिले एक दिन पनि खाली बस्नु पर्दैन। इलेक्टे«सियन र प्लम्बिङ दुवै काम गर्छन्। ‘दिनको हजार, बाह्र सय सजिलै बचाउँछु। कामको खाँचो छैन। प्लम्बिङको काम अझ सजिलो हुने रहेछ।’

सीप नसिकी विदेश जाँदा दुःख मात्र पाइने दाहालको अनुभव छ। उनीसँगै इलेक्ट्रिसियनको काम सिकेर विदेश जाने तीन, चार जना साथीहरूको कमाइ ५०–६० हजार भएको उनी बताउँछन्, ‘विदेश गए पनि नेपाल बसे पनि सीपको महत्व आफ्नै हुन्छ। सीप आफू बाँचुञ्जेल काम लाग्छ।’

काभ्रेका २७ वर्षीय निराजन सापकोटाले इलेक्ट्रिसियन र प्लम्बिङको काम सिकेको ६ वर्ष भयो। उनी ८ बजे नै काममा निस्किन्छन्। दिनभर व्यस्त हुन्छन्। ‘अहिले धारा र बत्तीको काम एकै जनाले गर्ने चलन आएको छ। यो काम सजिलो छ। ठूलो बलको काम गर्नु पर्दैन। खट्न सके काम सिकेको मान्छेले दैनिक १५ सय कमाउन गाह्रो छैन।’ विदेश गएर दुःख गर्न भन्दा सीप सिकेर आफ्नै घरको भात खाएर काम गर्न सक्ने हुन उनको अनुभव छ।

तीन वर्षअघि चितवनका खेम कार्की वैदेशिक रोजगारीको सिलसिलामा राजधानीमा भौंतारिरहेका थिए। आफ्ना प्रमाणपत्र पेस गरेको मेनपावरमा भिसा नआएपछि उनी दिक्क थिए। रित्तो हात घर फकिर्ने आँट थिएन। यत्तिकैमा एक दिन उनका मावली दाजुले उनको अफिसमा बोलाएर सीप सिक्न सुझाए। उनले इलेक्ट्रिसियनको काम सिके। ६ महिना नपुग्दै काम पाए।

विस्तारै अरू साथीभाइले जस्तै उनले पनि प्लम्बिङको पनि काम सिके। अहिले दुवै खाले काम आफैं जिम्मा लिन्छन् र पार लगाउँछन्। ‘सुरुमै दैनिक आठ सय ज्याला पाउन थालेँ। यसले मलाई हौस्यायो र विदेश जान रोक्यो। मैले झन्डै चार वर्ष राजधानीमै काम गरेँ। त्यसपछि गाउँमै फर्किएर काममा लागेको छु। मैले अरु तीन चार जना साथीहरूलाई पनि काम दिएको छु। मासिक २५–३० हजार आम्दानी गर्न कुनै असजिलो छैन।’ सीपको काममा प्रमाणपत्रले मात्र केही नहुने र अनुभवले मान्छे खारिने उनको अनुभव छ। गाउँगाउँमा नयाँ घर निर्माण भइरहेकाले युवा पुस्तालाई यो क्षेत्रमा लाग्न उनी सुझाउँछन्। यो काम महिलाले पनि गर्न सक्ने उनी बताउछन्।

सीटीईभीटीमा तीन वटा कोर्स

सीटीईभीटीको पाठ्यक्रम विकास महाशाखाका प्रमुख दीपक पौडेलका अनुसार त्यहाँ इलेक्ट्रिसियनका तीनवटा कोर्स पढाइ हुन्छ। पहिलो, तीन सय ९० घन्टादेखि एक हजार ६ सय ९६ घन्टासम्मको कोर्स। यो कोर्स सामान्य नेपाली र अंग्रेजी बोल्न सकै जोसुकैले सिक्न सक्छन्। यो कोर्समा पछिल्लो तीन महिना अन द जब ट्रेनिङ अर्थात् तालिमको समयमा समेत कामको अवसर हुन्छ।

दोस्रो कोर्स हो, टी एसईई। जुन एसईई परीक्षामा सहभागी विद्यार्थीले सिक्न सक्छन्। तेस्रो हो, डिप्लोमा कोर्स। यो तीन वर्षको हुन्छ। यसमा एसईई परीक्षामा अंग्रेजी विषयमा डी प्लस र गणित र विज्ञान विषयमा न्यूनतम सी ग्रेड ल्याएका विद्यार्थी सामेल हुन पाउँछन्।

रोजगारीका सम्भावनै सम्भावना

पौडेलका अनुसार कुनै पनि सीप सिकेको मान्छे प्रायः खाली बसेको छैन। पहिलो सम्भावना भनेको स्वरोजगार नै हो। सीप सिकेर स्किल टेस्ट परीक्षामा सामेल भएर लेभल २ पास गरेको व्यक्ति सरकारी तहमा समेत चौथो र पाँचौ तहमा जाँच दिन सक्छ। ‘हाम्रा उत्पादन विशेषगरी नेपाल विद्युत् प्राधिकरण, हाइड्रोपावर, सरकारी कार्यालय, नेपाल टेलिकम, वायुसेवा निगम आदिमा कार्यरत छन्। त्यसका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्राविधिक तहमा जान पाउँछन्।’ पौडेलले भने।

उनका अनुसार प्लम्बिङको पनि तीन सय ९० देखि एक हजार ६ सय ९६ घन्टाको कोर्स छ। यसमा डिप्लोमा कोर्स छैन। यसको पनि लेभल टेस्ट पास गरेका विद्यार्थीले सरकारी तहका परीक्षामा सामेल हुन पाउँछन्। प्लम्बिङको सम्भावना खानेपानीअन्तर्गतको कार्यालयमा बढी छ। सुरक्षा प्राविधिक यसैबाट आएका हुन्। सबैभन्दा महत्वपूर्ण कुरा सीप सिकेको व्यक्ति स्वरोजगार बन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.