जलेश्वर कारागार डुबानमा
गौशाला : भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ। जिल्लामा गएरातिको मुसलधारे वर्षाले जलेश्वर कारागार आज बिहान डुबानमा परेको हो।
एक सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको जेलर शोभेन्द्र ठाकुरले बताए। वर्षाका कारण कारागारको प्राङ्गणभित्र तथा बाहिर चारैतिर पानी भरिएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ।कारागारको भित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानीभित्र प्रवेश गरेको चौकीदार श्रीनारायण महतोले जानकारी दिए।
आगलागीमा आठ लाखको क्षति
यसैगरी महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको एक घरमा सोमबार बिहान भएको भीषण आगलागीमा आठ लाखको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मटिहानी नगरपालिका–८ बस्ने विपीनकुमार लालकर्णको घरमा भएको आगलागीमा आठ लाख मूल्य बराबरको क्षति भएको हो। रासस