भारतले धौलीगंगा बाँध खोल्यो, महाकालीमा बाढीको खतरा
दार्चुला : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ। पानीको मात्रा बढेको र नियमित सरसफाइ समेत गर्नुपर्ने भएकोले सोमबार बिहान ७ बजे बाँध खुला गरिएको धारचुला प्रशासनले जनाएको छ।
बाधँको पानी खोलिँदा महाकाली नदी तटीय क्षेत्रमा जोखिम बढ्ने भएकोले पूर्वसतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए। बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउ नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्। खासगरी दार्चुलाको ब्यास, दुहू, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नगरपालिकामा नदीतटीय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई सुरक्षित भएर बस्न एवं तुइन, ट्युबको प्रयोगगरी महाकालीमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो।
पछिल्लो समय भारतीय प्रशासनले बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नबराज अधिकारीले बताए।
गत महिना दार्चुलामा सम्पन्न नेपाल र भारतका जिल्ला अधिकारीहरुको सिमा सुरक्षा बैठकमा बाँधको पानी छाड्ने समयबारे पूर्वसूचना आदानप्रदान गर्ने सहमति भएअनुसार भारतीय प्रशासनले जानकारी गराउँदै आएको छ। २८० मेगावाट विद्युत क्षमताको धौलीगंगा बाँध यस वर्षमात्रै चारपटक खोलिएको छ।