हत्या अभियुक्त राज्यमन्त्री शर्मा साधारण तारखेमा रिहा
महोत्तरी : सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतमा साधारण तारखेमा रिहा गर्न आदेश दिएको छ ।
सोमबार बिहान अदालतमा उपस्थित भएपछि सोमबार दिनभर चलेको थुनछेकको बहसपछि अदालतले उनलाई साधारण तारेखमा छाड्ने रिहा गर्ने आदेश दिएको हो ।
महोत्तरी जिल्ला अदालत एक नम्बर बेन्चका न्यायाधीश ब्रजेश प्याकुरेलले यस्तो आदेश दिएका हुन् । राज्य मन्त्री शर्माको पक्षबाट तीनजना वकिलले बहस गरेका थिए । जिल्ला अदालत जलेश्वरका अनुसार अधिवक्ताहरु रमेशकुमार पाण्डे, ज्ञानेन्द्रलाल कर्ण र देवेन्द्र ठाकुरले मन्त्री शर्माको पक्षबाट बहस गर्दै साधारण तारेखमा रिहा गर्नुपर्ने जिकिर गरेका थिए ।
२०७२ भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरका निरीक्षक विकको आन्दोलनकारीले महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर हत्या गरेका थिए । त्यही घटनाका प्रमुख दोषीकारुपमा शर्मा पनि मुछिएका थिए ।
विभिन्न सञ्चारमाध्यममा उनी फरार रहेको समाचार आएपछि अदालतमा हाजिर भएको उनले बताएका थिए । जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर उनी हाजिर भएका थिए ।
शर्माका वकिल रमेशकुमार पाण्डेले सशस्त्र प्रहरी निरीक्षक हत्यामा उनको संलग्नबारे अदालतले ७० दिने म्यादीपूर्जी ९समन० समेत नपठाएकाले राज्यमन्त्री शर्मालाई घटनाबारे केही थाहा नरहेको जिकिर गरेका थिए । उनले पछि सञ्चारमाध्यममा उनको नाम आरोपीको सूचीमा रहेको जानकारी भएपछि आफैँ अदालतमा हाजिर भएको दाबी गरे ।
वकिल पाण्डेले जिल्ला प्रहरीले राज्यमन्त्री शर्माको म्यादी पूर्जी हराएकाले पठाउन नसकिएको अदालतलाई जानकारी दिएको बताए । पाण्डेका अनुसार अदालतको सम्मानका लागि आफैँ हाजिर भएका राज्यमन्त्री शर्माबारे बहस जारी छ ।