बिहानै घरबाट हिँडेका लघुबित्तका प्रमुख आँधीखोलामा मृत भेटिए
स्याङ्जा: एकाबिहानै वालिङ नगरपालिका–८ स्थित जैंसी पधेराबाट सुकौली जाने पक्की पुलको छेमा चाबीसहितको मोटरसाइकल, हेल्मेट, चप्पल र चुरोटको खाली बट्टा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरे ।
सुजुकी कम्पनीको १६० सिसी अनटेष्ट लेखिएको मोटरसाइकल भेटिएको खबर पाउनासाथ प्रहरीसहित स्थानीयबासीले खोजतलास थाले । त्यसक्रममा ५ किलोमिटर तल भिमसेनढुंगास्थित आँधीखोला किनारमा एक युवकको शव भेटियो ।
वालिङ नगरपालिका–८ बगालथोक घर भएका ३६ वर्षीय प्रकाश बगालेको शवका रुपमा प्रहरीले पहिचान गर्यो । बगाले गरिमा विकास बैंक वालिङ शाखा अन्र्तगत लघुबित्त शाखा प्रमुख हुन । उनी ५/६ वर्षदेखि त्यही शाखामा कार्यरत थिए ।
मोटरसाइकलसहित सबै सामान पुलको छेउमा भेटिएको अवस्थामा करिब ५ किलोमिटर तल वालिङ–१३ गाहाखोलास्थित आँधीखोलाको किनारमा शव फेला परेपछि अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।
दुई बच्चा र पत्नीसँग सुतेका बगाले सोमबार बिहान साढे ४ बजे उठेको परिवारले जनाएको छ । घटनाको कारण खुल्न सकेको छैन भने शवको पोष्टमार्टम गरी सोमबारै परिवारलाई बुझाइएको छ ।