विमानस्थलको धावनमार्गले पाइलटलाई सधैं सास्ती

विमानस्थलको धावनमार्गले पाइलटलाई सधैं सास्ती

काठमाडौं : रनवेमा जहाज ल्यान्ड गर्दा घोडा उफ्रिए जस्तै हुन्छ । जहाज कन्ट्रोल गर्न सकस हन्छ । कमजोर स्ट्रक्चरमा बनेको रनवेको पिच बारम्बार भत्किएको छ । जहाज ल्यान्ड गर्ने बेला तनाव हुन्छ । जहाज आकाशमा घुमाउने त बानी परिसकेको छ । रनवेको पिच भत्कने र पार्किङको समस्याले जहाज समयमै ल्यान्ड गर्न पाइँदैन ।यो भनाइ हो, नेपाल एयरलाइन्सका क्याप्टेन सन्तोष शर्माको ।

उनले नेपाल एयरलाइन्सको बोइङ जहाज उडाउँदै आएका छन् । रनवेको पिच उप्कँदा कतिपय अवस्थामा ४० मिनेटसम्म जहाज आकाशमा होल्ड गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

रनवे अति संवेदनशील हुन्छ । रनवेको काम पनि प्राविधिक रूपमा बलियो भएको कम्पनीलाई दिनुपर्छ । तर, यहाँ बाटो पिच गर्ने कुनै प्राविधिक दक्षता नभएको कम्पनीलाई दिइएको छ । यो रनवेमा जहाज ल्यान्ड गर्न नहुने अवस्थामा पुगिसकेको छ । तर विकल्प नहुँदा काम चलाउ भएको छ ।

विकल्प भएको भए यो रनवे पूर्ण रूपमा बन्द गराएर मर्मत गर्नुपर्ने अवस्थामा पुगेको शर्मा बताउँछन् । ‘पाइलटले इन्धन रहँदासम्म जहाज आकाशमा होल्ड गर्ने हो । इन्धन सकिने अवस्थामा भने अन्यन्त्र पनि ल्यान्ड गर्नुपर्छ’, उनले भने ।

टर्चर छ । सयम तालिकाअनुसार जहाज अवरतण गर्न पाइने अवस्था छैन । जहाज ल्यान्ड गर्न बेला के हो सयम तालिका थाहा हुन्न । कुनै उडान सहज रूपमै समयमै अवतरण गर्न पाउनु भनेको ठूलै जित हो जस्तो लाग्छ । दैनिक तीन देखि चार पटकसम्म रनवेको पीच उप्किएको हुन्छ । २५–२६ मिनेटको उडानमा घण्टांैसम्म आकाशमै जहाज घुमाउनुपरेको सिम्रिक एयरलाइन्सका वरिष्ठ क्याप्टेन केशव सिलवाल बताउँछन् ।

सिलवालले जहाज उडान थालेको १८ वर्ष भइसकेको छ । उनले १६ हजार घण्टा जहाज उडाइसकेका छन् । पछिल्लो समय उनले ६ दिनसम्म निरन्तर जहाज उडाए । यी बीचमा अगस्ट ६ को दिन सिलवाल पोखराबाट ११ बजेतिर काठमाडौंका लागि उडे । त्यो दिन अनौठो अनुभव लिनुपरेको उनको भनाइ छ ।

काठमाडौं–पोखराको उडान बढीमा २७ मिनेटको थियो । तर, सिलवालले जहाज आकाशमै ५८ मिनेट घुमाइरहे । जहाज आकाशमा घुमाउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको कुनै समस्या थिएन । तर, रनवेको पिच उप्किएको थियो । सिलवाललाई टावरले रनवेमा समस्या छ । २० मिटेट पर्खनुहोस् भन्यो । उनले ओके भन्दै अवतरण गर्नुपर्ने जहाज आकाशमै घुमाउन थाले । २० मिनेटपछि फेरि टावरले १० मिनेटको समय थप्यो । सिलवालले हुन्छ भने । १० मिनेटपछि फेरि टावरबाट सूचना आयो– ३० मिनेट अझै पर्खनुहोस् ।

‘त्यसपछि मैले जहाज पोखरा फर्काउन खोजें । मौसमका कारण त्यहाँ जानु सजिलो लागेन । जहाज भरतपुरमा ल्यान्ड गरें । भरतपुरमा करिब ४५–५० मिनेटको पखाइपछि फेरि काठमाडौंका लागि उडें,’ उनले भने, ‘फेरि जहाज ल्यान्ड गर्न पाउने अवस्था नरहेको टावरले सूचना ग¥यो ।’

तर, त्यसपटक भने सिलवालले टावरलाई भने मेरो जहाजको इन्धन सकिन लागेको छ । म आकाशमा घुम्न सक्दिनँ भनपछि आफूले जहाज ल्यान्ड गर्न पाएको सिलवाल बताउँछन् ।

लगातर ६ दिन जहाज उडाउँदा कुनै पनि उडान सहज रूपमै अवतरण गर्न नपाएको उनले बताए । ‘अहिले त बानी नै परिसक्यो,’ उनले भने, ‘नेपाली यात्रुले पनि कुरा बुझ्न थालेका छन् । विदेशी यात्रु भने केही त्रासमा हुन्छन् ।’

जहाज ल्यान्ड गर्ने ठाउँदेखि पार्किङ गर्ने सबै ठाउँमा समस्या छ । रनवेमा जहाज निकाल्ने ठाउँमा सडकका जस्तै खाल्ड छन् । एक सकेन्डमा मर्मत गर्ने फेरि एक सेकेन्डकै भत्कने गरी काम भइरहेको छ । रनवेको पिच नभत्किएको दिन छैन । दैनिक चार पटकसम्म पिच भत्कने गरेको छ । ‘रनवेको मर्मत गर्ने प्रविधि कस्तो छ, हामी चकित भएका छौं । जतिखेर पनि रनवे मर्मत र भत्किएको सूचना आउँछ छ’, उनले भने ।

यी त प्रतिनिधि पात्र र घटना मात्रै हुन् । विगत ४÷५ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच उप्कँदा दैनिक जसो २० मिनेटदेखि एक घण्टासम्म उडान तथा अवतरण बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्री बताउँछन् । धावनमार्गसँगै ट्याक्सी वेको सी र डी खण्डमा बढी समस्या रहेको क्षेत्री स्वीकार गर्छन् । अहिले दैनिक सदरमा दुईपटकसम्म रन वेको पीच उप्कँदा जहाजलाई आकाशकै घुमाउन परेको उनी स्वीकार गर्छ ।

रनवे टालटुल गर्नकै लागि विमानस्थल कार्यालयअन्तर्गतको सिभिल इन्जिनियरिङ महाशाखाले वार्षिक दुई करोड रुपैयाँ खर्च गर्दै पनि गर्दै आएको छ । तर, पुरानो संरचनामा निर्माण भएको रनवेमा बारम्बार समस्या आएको उनले बताए । अहिले विमानस्थलमा बढी लोड भएका जहाज ल्यान्ड तथा अवतरणको समयपछि बढी समस्या देखिने गरेको उनी बताउँछन् । त्यसमा पनि जाडो मौसमभन्दा गर्मी र वर्षा मौसम बढी समस्या आउने गरेको उनको भनाइ छ । पछिल्लो एक महिना बढी समस्या देखिएको हो । समस्या तत्काल समाधन गर्न एक करोड रुपैयाँ रकमसमेत विनियोजन भइसको छ । त्यो काम एक दुई दिनबाटै सुरु हुने उनको भनाइ छ । यो सँगै बढी समस्या देखिएको ठाँउको रनवे मर्मतका लागि चौथो पटक टेन्डर भइसेको उनी बताउँछन्

‘यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सधंै भइरहने घटना हो’, क्षेत्रीले भने, ‘घामपानी हुनासाथ विमानस्थलको रनवेको तापक्रममा तलमाथि हुन्छ र रनवेको पिच उप्किने गर्छ । मर्मत गरेर मात्र नियमित विमान उडान र अवतरण हुने प्रक्रिया नै हो ।’ क्षेत्रीका अनुसार विमानस्थलको रनवेमा कुनै समस्या आउनासाथ मर्मतका लागि २४ घण्टा एउटा प्राविधिक टिम तैनाथ हुने गरेको छ । तर, यो हिसाबले सधंै काम चल्ने अवस्था छैन ।

विमानस्थलले वर्षा सकिएलगत्तै रनवे सुधार प्रक्रिया सुरु गर्नुपर्ने क्षेत्री बताउँछन् । तत्काल देखिने समस्या समाधानका लागि विमानस्थल कार्यालयले सक्दो प्रयास गरिरहेको उनको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बढी समस्या रहेको ठाउँको पहिचान गर्दै तत्काल मर्मतका लागि साढे आठ करोड रुपैयाँ विनियोजन गर्दै रनवे मर्मत गर्ने अख्तियारी दिएको थियो ।

सोहीअनुसार विमानस्थल कार्यालयले रनवे मर्मतका लागि तीन पटकसम्म बोलपत्र आह्वान गरेको क्षेत्री बताउँछन् । तर, बोलपत्र आह्वानमा कुनै पनि ठेकेदार कम्पनीले उक्त रकममा काम गर्ने चासो नदेखाएको उनको भनाइ छ ।

फेरि विमानस्थल कार्यालयले चौथो पटक रकम बढाएर भए पनि रनवे मर्मतका लागि बोलपत्र गरेको उनले बताए । प्राधिकरणले पनि रनवे मर्मतका लागि बाहिरको रेटभन्दा बढी राखेर भए पनि प्रक्रिया थालनी गर्ने स्वीकृति दिइसकेको छ । रनवे मर्मत अति संवेदनशील काम हो । निश्चित मापदण्डभित्र रही तोकिएको समयमा र रातको समयमा मात्रै काम गर्नुपर्ने हुँदा पनि समस्या आएको उनको भनाइ छ । तत्काल रनवे मर्मत गर्ने गरिए पनि दीर्घकालीन समस्या समाधानमा लागि भने रनवेको पिच परिर्वतन गर्नुपर्ने उनको भनाइ छ ।

तर, विमानस्थल कार्यालयले गौतमबुद्ध विमानस्थल निर्माण नसकिए पनि पिच परिर्वतनको काम थालनी गर्ने तयारी अन्तिम चरणमा पु¥याएको क्षेत्रीले बताए । रनवे सुधारका लागि प्राविधिक रूपमा छनोट भएका कम्पनीबीच अब आर्थिक प्रतिस्पर्धा गराएर काम थालनी गरिने उनले जानकारी दिए ।

रनवे सुधारका लागि पैसा, डिजाइन र प्राविधिक रूपमा सक्षम कम्पनी जुटिसकेको छ । रनवे सुधारका लागि विमानस्थल कार्यालयले विमानस्थल विकास खर्चका नाममा रकम उठाइरहेको छ । विकास खर्च कोषमै अहिलेसम्म करिब पाँच अर्ब रकम संकलन भइसकेको छ । विमानस्थल कार्यालयले प्राविधिक रूपमा सक्षम चारवटा कम्पनीको फाइल गत आवमै प्राधिकरणको बोर्ड बैठकमा पेस गरिसकेको छ । प्राविधिक रूपमा छनोट भएका कम्पनीबीच आर्थिक रूपमा प्रतिस्पर्धा गराउने गरी फाइल स्वीकृति हुने प्राधिकरणको महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।

‘टालटुल गरेर सञ्चालनमा ल्याइएको रनवेमा जुनसुकै समयमा जहाज ल्यान्ड गर्दा दुर्घटना हुन सक्छ’, इन्जिनियरिङ महाशाखाका प्रमुख मुरारि भण्डारीले भने, ‘हामीले अति संवेदनशील अवस्थामा विमानस्थल सञ्चालन गरिरहेका छौं ।’ टालटुल गरेको ठाउँमा जहाज ल्यान्ड गर्दा त्यसको सन्तुलन बिग्रन सक्छ । ‘रनवे टालेर मात्रै राम्रो हुन अवस्था पनि छैन’, उनले भने, ‘त्यसको स्ट्रक्चर नै ड्यामेज भइसकेको छ ।’ रनवेकै कारण जहाज दुर्घटना भएको अवस्थामा नेपालको नकारात्मक प्रचार हुने उनको भनाइ छ । त्यसैले सरोकारवालाको समयमै यसतर्फ ध्यान जानुपर्ने उनले बताए ।

सन् १९८० मा निर्माण भएको रनवे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन । रनवे सुधार (रिह्याबिलिटेसन) प्रक्रिया सुरु तीन वर्ष भइसकेको छ । तर रनवे सुधारका लागि प्राविधिक रूपमा छनोट भएका कम्पनीबीच प्रतिस्पर्धा हुन सकेको छैन । प्राविधिक रूपमा सक्षम ठहर भएका कम्पनीबीच आर्थिक रूपमा प्रतिस्पर्धा गराउन तयार गरिएको टेन्डर डकुमेन्टको फाइल प्राधिकरण बोर्डमा रोकिएको छ ।

‘वर्षा सिजनमा रनवे मर्मत गर्न झनै गाह्रो हुन्छ’, उनले भने । विमानस्थल खुला रहेको समयमा पनि दैनिक तीनदेखि चारपटकसम्म जहाजलाई आकाशमै होल्ड गरेर रनवे मर्मतको काम गर्नुपर्ने अवस्था रहेको भण्डारी बताउँछन् ।

रनवेमा सानो समस्या आएको अवस्थामा २० मिनेट र ठूलो समस्या देखिएको अवस्थामा पौने एक घण्टासम्म आकाशमै जहाज होल्ड गरेर काम गर्नपर्ने अवस्था रहेको उनको भनाइ छ । तर रनवे सुधारका लागि पैसा, डिजाइन र प्राविधिक रूपमा सक्षम कम्पनी सबै जुटिसक्दा पनि काम अगाडि बढ्न नसकेको उनले बताए ।

सन् २०१४ मै स्पेनिस कम्पनी ‘आइसा’ले विमानस्थल रनवे सुधारका लागि डिजाइन तय गरेको थियो । तर सन् २०१५ को भूकम्पपछि विमानस्थलमा देखिएको प्राविधिक समस्यासँगै विमानस्थल कार्यालयले ‘डिजाइन रिभ्यू’का लागि कोरियन योसिन इन्जिनियरिङ कम्पनी छनोट गरेर काम ग‍¥यो ।

परामर्शदाताकै रिपोर्टका आधारमा कार्यालयले रनवे सुधारका लागि ग्लोबल टेन्डर गरेको थियो । टेन्डरमा ११ वटा कम्पनीले काम गर्ने इच्छा देखाए पनि परामर्शदाता र टेन्डर मूल्यांकन कमिटीले चार कम्पनीलाई मात्रै प्राविधिक रूपमा सक्षम भनेर छनोट गरेको थियो ।

यसमा चाइना रेलवे नम्बर फाइभ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिडेड, चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पारेसन, चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिडेड र बेइजिङ चाङदो म्युनिसिपल इन्जिनियरिङ ग्रुप कम्पनी छन् । विमानस्थलकै रनवे सुधारसम्बन्धी दुई काम गरेको, आर्थिक रूपमा कति सक्षम र औजार कति भएको कम्पनी हो भनी यकिन गरेर मात्रै कम्पनी छनोट भएको भण्डारीले जानकारी दिए ।

तर अहिलेसम्म यी कम्पनीबीच लागतका विषयमा प्रतिस्पर्धा हुन सकेको छैन । विमानस्थल कार्यालयले कम्पनी छनोटदेखि ‘रिपोर्ट रिभ्यू’मा सहयोग गर्ने परामर्शदातालाई मात्रै मासिक १० लाख रुपैयाँ खर्च गर्दै आएको छ ।

परामर्शदाताको रिपोर्ट एवं अध्ययनले तीन हजार मिटरको रनवे र दुई हजार मिटरको ट्याक्सी वे मर्मतका लागि करिब तीन अर्ब रुपैयाँ लागत अनुमान गरेको छ । रनवे मर्मतका लागि विमानस्थल बन्द भएको र सुक्खा समयमा मात्रै काम गर्नुपर्ने हुँदा तीन सय ६५ दिन लाग्ने रिपोर्टमा उल्लेख छ । तर, अब यो प्रक्रिया सुरु गर्दा पनि रनवेको पिच परिर्वतन गर्न तीन वर्ष लाग्ने उनको भनाइ छ ।

माघदेखि विमानस्थल १६ घण्टा मात्रैकाठमाडौं ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच परिवर्तनका लागि माघदेखि दैनिक आठ घण्टा विमानस्थल बन्द हुने भएको छ । व्यस्थापिका संसद्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उक्त जानकारी दिएका हुन् । तर काम सुरु भएको चार महिनामै २०७६ जेठबाट चौबीसै घण्टा विमानस्थल सञ्चालनमा ल्याइने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.