प्रेमको अभावमा बलात्कार

प्रेमको अभावमा बलात्कार

मानिस प्रेमको पर्याय हो। सृष्टिको स्रोत नै प्रेम हो। बिनाप्रेम मानिसको सृष्टि भएकै छैन र सम्भव पनि छैन। समाजमा बर्षेनी, दैनिक बलात्कारका घटना बढ्दै जानु भनेको बिरामी बढ्दै जानु हो। किनभने प्रेमको अभाव नै घटनाका कारण हुन्, अमानवीय घटना नै व्यक्ति स्वयंका र समाजका महामारी रोग हुन्। जुन व्यक्तिमा प्रेम फलित भएको छैन, जुन घरले प्रेमको संस्कार पाएको छैन, जुन समाजमा चेतनामूलक शिक्षा प्रदान गरिएको छैन त्यही समाजमा, तिनै चेतनाहीन व्यक्तित्व र कुसंस्कारयुक्त घर, परिवार, व्यक्तिबाट बलात्कारका घटना बढाउने काम हुन्छन्।

भर्खरमात्र साना बालिका बलात्कारमा परी सुन्दर जीवन नै त्याग्नुपरेको कहालीलाग्दो घटना आँखाअगाडि देखिएको भए पनि यसभन्दा अघिदेखि नै समाज बलात्काररूपी रोगले ग्रस्त छ। बलात्कारमा उत्रिने त्यो अमानवीय स्वभावरूपी व्यक्तिले प्रेम भन्ने जानेकै छैन, प्रेम पाएकै छैन, संस्कार पाएकै छैन। त्यसैले ऊ जघन्य अपराधमा उत्रेको छ। जीवन जिउन आवश्यक शिक्षा, चेतना जागृतका शिक्षा, व्यक्तिलाई व्यस्त राख्ने कला, अवसर र शिक्षा हामीले समाजमा दिएकै छैन भने बलात्काररूपी रोग कसरी मुक्त हुन्छ ?

बलात्कारी प्रवृत्ति त रोगको एउटा लक्षण मात्र हो। अझै पनि घरघरमा, समाजमा प्रेम र संस्कार प्राप्त हुने शिक्षा दिन सकिएन भने यो महामारी अझै विकराल भएर फैलिनेछ। किनभने ‘कोही किन बर्बाद होस्’ भने जस्तै ती अस्थिर मनस्थिति, अशान्त भावना, राक्षसरूपी चेतना बोकेर हिँडेका युवा, वृद्ध सबैलाई प्रेमको संस्कार नजगाउँदासम्म बलात्कारका घटना रोकिने छैनन्।

बलात्कारी जोसुकै होस् तर त्यो एउटा घरको, परिवारको सदस्य हो, कसैको छोरा हो, कसैको बुबा हो, यही समाजको एउटा व्यक्ति हो। जीवनशैली स्वस्थ र सही नहुनु, सञ्चारमाध्यमको पहुँचसँगै दुरुपयोग बढ्नु, नकारात्मक फिल्म र दृश्य हेर्ने बानी बढ्दै जानु, सामाजिक सन्जालको बढ्दो दुरुपयोग हुनु र बाहिरी देखासिकी बढ्दै जानु यस्ता घटनालाई थप प्रभाव पर्ने कारक तत्व हुन्।

व्यक्ति मानसिक रूपमै विक्षिप्त भएपछि मात्र यस्ता घटनामा उत्रिने गर्छ। त्यसैले सम्बन्धित परिवारले आफ्ना सन्तानलाई यस्ता कुलतबाट पीडित त छैनन् भनेर निगरानी गर्न जरुरी छ। हामी घटना भएपछि र व्यक्तिको जीवन समाप्त भएपछि सुरक्षा र कानुनका कुरा गर्दछौं। घटना हुन नदिन के कस्ता सुरक्षा, निगरानी र सावधानी आवश्यक पर्छ भन्नेमा सुरक्षा निकाय र सम्बन्धित पक्ष हरपल चनाखो रहनुपर्छ। 

प्रत्येक वर्ष यस्ता अमानवीय घटना बढ्दै जाँदा र कानुन र सुरक्षाका कुरा उठिरहँदा पनि घटना किन कम हुँदैनन् ? किन रोकिँदैनन् ? किनकि गहिराइमा पुगेर निवारणको उपाय खोजेकै छैनौं हामीले, राष्ट्रले र सरोकारवाला पक्षले ! घटना परिस्थितिबाट होइन मनस्थितिबाट उब्जन्छन् भन्ने कुराबाट अनभिज्ञ छौं हामी नै। मनस्थितिलाई सकारात्मक बनाउने ध्यान, योग र उत्प्रेरणात्मक शिक्षा खोइ ? हामीले चाहेको विकास के हो ?

सुशासन र शान्ति अनि मुलुकको समृद्धि वास्तवमै चाहेको हो भने हरेक घरमा प्रेम र शान्तिको वातावरण सिर्जना गर्नुपर्ने अभियानको सख्त जरुरत छ।

मानिस मानिसबाट नै पीडित हुनुपर्ने कस्तो दुर्भाग्य ? स्वतन्त्र जन्मेको मानिसलाई कानुन बनाएर, कब्जामा लिएर सुधार्नुपर्ने कस्तो विडम्बना ? मानिसले मानिसलाई नै मृत्युदण्डको सजाय माग गर्नुपर्ने कस्तो लाजमर्दो ? यी सबका कारण हुन् हामीले मानिसलाई मानिस भएर बाँच्ने शिक्षा दिएनौं। हामीले प्रेमको शिक्षा दिएनौं। जीवनलाई एउटा उपहारको रूपमा लिन र जीवनलाई उत्सवपूर्ण जिउने कला सिकाएनौं। मानिसलाई मानिस बनाउने काम गरेनौं, सानातिना कुरामा ध्यान दिएनौं, समृद्धि मात्र खोज्यौं !

केलाई भन्ने समृद्धि ? कसलाई चाहिएको हो समृद्धि ? स्वतन्त्र बाँच्न र घरवरपर हिँड्डुल गर्ने सुरक्षा छैन कहाँबाट सुरु गर्ने समृद्धि ? आफ्नै समाजमा आफ्नै मानिसबाट जोगिन गाह्रो छ, खोइ मानवीयताको, मित्रता र करुणाको शिक्षा दिएको हामीले ? अशान्ति, अमानवीयता र अराजकता बढ्दै गइरहेको थाहा छ हामीलाई भने, मौनता, प्रेम, करुणा, दया, अहिंसा, ध्यान, योग, क्षमा, समर्पण, संयम, त्याग, सकारात्मक सोच आदि मानिसका स्वभाव हुन् र यिनै स्वभाव शान्तिका स्रोत हुन् भन्ने कहिले थाहा पाउने ? घरघरमा यो शिक्षारूपी समृद्धि कहिले पुग्छ ?

सुशासन र शान्ति अनि मुलुकको समृद्धि वास्तवमै चाहेको हो भने हरेक घरमा प्रेम र शान्तिको वातावरण सिर्जना गर्नुपर्ने अभियानको सख्त जरुरत छ। घरघरमा मर्यादापूर्ण वातावरण सिर्जना गराउनु जरुरी छ। उदण्डता, अश्लिलताबाट बचाएर कुशलता वृद्धि गर्नु छ। फाल्तु, काम नपाएर बेकारमा डुलीहिँड्ने व्यक्तिलाई र विशेष गरी युवा वर्गलाई सिर्जनात्मक काममा लाग्ने अवसर जुटाइदिनु आवश्यक छ। आफ्ना बालबालिकालाई निरन्तर निगरानीमा राख्ने, सुरक्षामा ध्यान दिने र उनीहरूको संगत कस्तो छ ख्याल गर्ने कलाको विकास गर्नु छ। समाजमा हुने अपराधका घटना लुकाउने होइन बरु त्यस्ता घटनालाई बाहिर ल्याएर आगामी दिनमा दोहोरिन नदिन सार्वजनिकरूपमा सबैलाई जानकारी गराउनुपर्छ।

छोरीलाई, किशोरीलाई बलात्कारबाट जोगिनका लागि साइरनयुक्त मोबाइल फोन या अन्य सामग्रीको विकास हुनु जरुरी छ। अपरिचित व्यक्तिसँग कसरी बच्ने, आफ्नो सुरक्षा कसरी गर्ने, आत्मविश्वास कसरी बढाउने, एकअर्कामा प्रेम भाव कसरी बढाउने भन्ने नैतिक शिक्षा विद्यालयबाट समयसमयमा दिइनुपर्छ। के कस्ता सतर्कताका उपाय अपनाएर घटनाबाट जोगिन र जोगाउन सकिन्छ त्यसको खोजी गर्नु जरुरी छ। विक्षिप्त व्यक्तिलाई सुधार्ने प्रयास गर्नुपर्छ। पीडित त पीडित भई नै हाले पीडकलाई समेत बचाउने शिक्षाको सख्त जरुरत छ।

सजाय के

दिने पछिको कुरा हो, सजाय नै दिनु नपर्ने प्रेमपूर्ण व्यक्ति कसरी बनाउने त्यो वातावरणको सिर्जना गर्नु अत्यावश्यक छ। अन्यथा समाजमा विक्षिप्त व्यक्तिको संख्या बढ्दै जान्छ, बलात्कारका घटना बढ्दै जान्छन् र इन्काउन्टरमा मारिनेको संख्या पनि बढ्दै जानेछ।

मानिसमा सकारात्मक सोच बढाउन प्रेम–दया र करुणा–ध्यानले महत्वपूर्ण भूमिका खेल्ने कुरा वैज्ञानिक अनुसन्धानले समेत पुष्टि गरिसकेको छ। के प्रेम, दया, करुणा र ध्यानको शिक्षा दिने खुबी छैन हामीमा ? यिनै सकारात्मक र प्रेरणात्मक शिक्षालाई अघि बढाई स्वतन्त्रपूर्वक, प्रेमपूर्वक, आत्मीयतामा बाँच्न र बचाउन पाउने समाजको निर्माण गर्न सके त्यो भन्दा ठूलो समृद्धि अरू के होला ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.