काँक्रोको बीउले गाउँले धनी
कुस्मा : फलेवास नगरपालिका–११ पाङराङका किसानले यस वर्ष मात्रै गाउँमा डेढ करोड रुपैयाँ भिœयाएका छन् । सदरमुकाम कुस्माबाट ३४ किलोमिटर दक्षिणमा पर्ने पाङराङका झन्डै ८० घरधुरी व्यावसायिक रूपमा काँक्रोको बीउ उत्पादनमा लागेका छन् ।
उक्त वडाका अधिकांश घरधुरी अन्य व्यवसाय छाडेर तरकारी खेतीमा केन्द्रित भएका हुन् । नेपालकै मुख्य तरकारी बीउ केन्द्रका रूपमा रहेको यो ठाउँका किसानले डेढ करोड रुपैयाँसम्मको सालिन्दा उत्पादन गर्छन् ।
भक्तपुर लोकल जातको काँक्रोको बीउ यहाँ उत्पादन हुन्छ । स्थानीय नारायणस्थान बीउ उत्पादक सहकारी संस्थामा आबद्ध किसानले ५ टन काँक्रोको बीउ उत्पादन गरेको संस्थाका संस्थापक सदस्य बाबुराम भुसालले जानकारी दिए । ‘यो वर्ष सहकारीमा आबद्ध किसानले ५ टन बीउ बिक्री गरेर डेढ करोड रुपैयाँ गाउँमा भिœयाउन सफल भएका छौं’, उनले भने, ‘गाउँमा काँक्राको बीउ बिक्रीबाट भित्रिने रकम सुनजस्तै बहुमूल्य छ ।’
किसानले काठमाडांै कालीमाटीमा रहेका निमाकोल र हार्कजस्ता सहकारी संस्थामा बीउ बिक्री गर्दै आएका छन् । एक किलो बीउ ३ हजार रुपैयाँका दरमा बिक्री हुँदै आएको भुसालले सुनाए ।
काँक्रोको बीउ उत्पादनमा मुलुककै अग्रणि गाउँ मानिने कर्नासमा उत्पादित बीउको गुणस्तर कायम राख्न सकेका कारण बजार अभाव नभएको भुसालको दाबी छ । उनकै भनाइमा नेपालमा ७ टन भक्तपुर लोकल जातको काँक्रोको बीउको माग छ । मुलुकभरको मागमध्ये एउटै गाउँले ५ टन उत्पादन गर्छ ।
कर्नासमा किसानले काँक्रोको बीउ उत्पादनबाट घटीमा एक लाखदेखि बढीमा ७ लाख ५० हजार रुपैयाँसम्म एउटा घरमा भित्रिने गरेको छ । माघमा काँक्रो रोपेदेखि जेठमा बीउ निकाल्ने ५ महिनामा एउटै परिवारले ७ लाख रुपैयाँसम्म भिœयाउन सकेका छन् । यस वर्ष किसान टुकप्रसाद पौडेलले २ हजार ५ सय किलो काँक्रोको बीउ बिक्री गरेर ७ लाख ५० हजार भिœयाएका छन् । किसान बाबुराम भुसाल, ताराप्रसाद पौडेललगायतले २ हजार किलो काँक्रोको बीउ बिक्री गरेर ६ लाख रुपैयाँ कमाइ गरेका छन् ।
फलेबास नगरपालिका–११ की वडा सदस्यसमेत रहेकी लालु उप्रेतीले पनि यस वर्ष १ हजार ५ सय किलो बीउ बिक्री गरेर ४ लाख ५० हजार आम्दानी गरेको बताइन् । यहाँ बीउ उत्पादनका लागि प्रशस्त सम्भावना भएकाले किसानलाई सिँचाइ, बीउको व्यवस्था गर्न सके बर्सेनि लाखौं रुपैयाँ भिœयाउन सकिने उप्रेतीले बताइन् ।