कर्णालीमा पनि खतराको संकेत
टीकापुर : कर्णाली नदीमा पनि पानीको सतह बढ्दै गएको छ । जलमापन केन्द्र चिसापानीका गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह खतराको लेबलमा पुगेको बताइन् ।
सोमबार बिहानैबाट कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले अझै बढ्न सक्ने गुरुङको भनाइ छ । दिउँसो मापन गरिएको तथ्यांकमा कर्णाली नदीमा पानीको सतह १० मिटर १५ सेन्टिमिटर पुगेको छ । कर्णाली नदीको चिसापानीमा पानीको सतह १० मिटर ८० सेन्टिमिटर पुगे खतरा मानिन्छ ।
पहाडमा केही दिनदेखि लगातार पानी परिरहेका कारण कर्णाली नदीमा बाढीको खतरा रहेको गुरुङले बताइन् । कर्णाली नदीमा बाढी आए लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दियाको राजापुर नगरपालिकाका केही भाग डुबानमा पर्ने गरेका छन् । प्रशासनले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
कर्णाली नदीमा आउने बाढीबारे विपद् पूर्वसूचना प्रणालीमार्फत प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क गराउने गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दाको मोबाइलमा एसएमएस पठाइएको गुरुङले बताइन् । जिल्ला प्रशासन कार्यालय कैलालीमा समेत कर्णालीको पानीको सतहको रेकर्ड हुन्छ । गत वर्षदेखि कर्णालीमा पानीको सहत खतरामा पुग्नेबित्तिकै तटीय क्षेत्रका जनतालाई एसएमएस पठाएर सतर्क रहन आग्रह गरिँदै आएको छ ।