भारतबाट अवैधरुपमा ल्याइएका ३२० कुखुरा नष्ट
नेपालगन्ज : भारतबाट अवैध रुपमा नेपालगन्जमा बिक्रीका लागि ल्याउँदै गरेका ३२० वटा ब्रोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१० विद्युत रोडमा ९ वटा साइकलमा ल्याउँदै गरेको अवस्थामा मंगलबार बिहान ती कुखुरा ५ नं. प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक देवीप्रसाद पौडेल नेतृत्वको टोलीले ५ जनासहित नियन्त्रणमा लिएको थियो ।
जिल्ला पशु क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी तिलक आचार्यले ती कुखुराको तौल पाँच सय किलो भन्दा बढी रहेको बताए । उनले भने, ‘कुखुरा तस्करी गर्नेहरु प्रतिव्यक्ति १० हजार रुपैयाँ जरिवाना तिरेर रिहा भएका छन् ।’
अवैध कुखुरा भने क्वारेन्टाइन कार्यालयले नष्ट गरेको छ । अवैध कुखुरा ओसार पसार वापत क्वारेन्टाइनले ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । साइकल भने सीमा प्रहरी कार्यालय जैसपुरमा राखिएको छ ।
पछिल्लो समयमा भारतबाट अवैध ब्रोइलर कुखुरा र अण्डा नेपालगन्ज सहरमा ओसार्नेविरुद्ध प्रहरीले अभियान नै सन्चालन गरेर नियन्त्रण गरिरहेको छ ।