गरिबको ढाड भाँच्ने कर

गरिबको ढाड भाँच्ने कर

जाजरकोट : जिताएर पठाएका जनप्रतिनिधिबाट जनताले सुविधा चाहेका थिए । सेवा दैलामै आउला भन्ने आशा गरेका थिए । तर, पचास गुनासम्म कर बढाएपछि भेरी नगरका जनता आक्रोशित छन् ।

भेरी नगरपालिका–२ रिसाङ्गकी डिला पुनले घरजग्गाको मालपोत प्रतिवर्ष १६ रुपैयाँ बुझाउँथिन् । तर नगरपालिकाले गत वर्षदेखि लगाएको एकीकृत सम्पत्ति करबापत उनले एकैपटक १९ सय बुझाउनु पर्‍यो ।

एकाएक भएको करवृद्धिबाट उनी दिक्क छिन् । ‘आम्दानी खासै नहुने १७ रोपनी बारी र चारकोठे घर मात्रै छ,’ पुनले भनिन्, ‘स्थानीय सरकार बनेपछि सेवासुविधामा परिवर्तन छैन, अस्पतालमा सिटामोल नि पाइँदैन । सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । तर हामीजस्ता गरिबको ढाड सेक्ने गरी कर उठाइएको छ । हामीलाई बिल्कुल चित्त बुझेको छैन ।’

भेरी–३ थाप्लेका कृष्णविक्रम शाहले घरजग्गाको कर हरेक वर्ष नौ सय ११ रुपैयाँ बुझाउँथे । अहिले एकीकृत सम्पत्ति करबापत उनले ४० हजार रुपैयाँ तिरे । उनको ६५ रोपनी खेत तथा पाखोबारी र सदरमुकाममा दुई घर छन् । ‘त्यो जमिन र घरबाट खासै आम्दानी छैन’, शाहले भने, ‘तर स्थानीय सरकारको चर्को कर तिर्न म बाध्य छु । एकैपटक पचासौं गुणा बढेको छ ।’

तस्बिर : राजेन्द्र कार्की

सेवासुविधा नपाइने, आम्दानी नहुने तर करवृद्धि गर्ने कार्यले जनताले सुशासन अनुभुति नगरेको उनले सुनाए । उनले भने, ‘करवृद्धि जनतामाथि अन्याय हो । आम्दानीअनुसार पो कर हुनुपर्‍यो । यसरी त हाम्रो छाक नै काटिने भयो ।’ नगरले कर बढाएसँगै बजारमा मूल्यवृद्धि भएको उनले बताए ।

भेरी–४ का ललितजंग शाहले यसअघि सात रुपैयाँ तिरो तिर्थे । अहिले एक हजार तिरे । सोही वडाकी योगमाया कार्कीले पाँच रुपैयाँ तिर्थिन् । यसपटक ६ सय ५० तिर्नुपर्‍यो । ‘स्थानीय सरकारसँगै सिंहदरबारको अधिकार गाँउमै आउला र सेवासुविधा बढ्ला भन्ने सोचेका थियौं,’ लतिलजंगले भने, ‘तर एक वर्षको अनुभवले त्यो गलत सावित गरिदियो । सुविधा बढेको छैन, कर मात्रै बढाइएको छ ।’ उनले संघीयता जनताका लागि नभएर नेताका लागि मात्रै भएको गुनासो पनि सुनाए ।

तस्बिर : राजेन्द्र कार्की

भेरी नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ देखि एकीकृत सम्पत्ति कर लगाएको हो । सो करको नाममा चर्को शुल्क असुलेको भन्दै गत वर्ष नगरवासीले आन्दोलन समेत गरेका थिए । आन्दोलन रोक्न केही कर र सिफारिस दस्तुर हेरफेर गरिएको थियो । तर स्थानीय बासिन्दा अझै असन्तुष्ट छन् । कतिले बढेको रकम तिर्न सकेका छैनन् ।

सेवा शुल्कमा १२ गुणा वृद्धि

एकीकृत सम्पत्ति करको नाममा चर्को राजश्व असुलिरहेको भेरी नगरपालिकाले सेवा शुल्क पनि १२ गुणा बढाएको छ । जन्म, मृत्यु र विवाह दर्ताबापत २५ रुपैयाँ लिन्थ्यो । अहिले तीन सय रुपैयाँ पुर्‍याएको छ । त्यस्तै नामथर तथा जन्ममिति संशोधन सिफारिसमा २५ रुपैयाँ लिन्थ्यो । अहिले त्यो पनि तीन सय पुर्‍याएको छ ।

तस्बिर : राजेन्द्र कार्की

मुद्दा दर्ता र उपभोक्ता समिति गठन सिफारिसमा एक सय ५० दस्तुर लिइन्थ्यो । त्यो बढाएर पन्ध्र सय बनाइएको छ । नगरपालिकाले निजी टेलिफोन र धारा जडान सिफारिसमा पाँच सय लिन्छ । विद्युत जडान सिफारिस, बसोबास प्रमाणित, घरको चार किल्ला प्रमाणितमा प्रत्येकमा एक हजार लिन्छ । नगरभित्रका योजनाको कार्य सम्पन्न सिफारिसमा एक हजारदेखि दश हजारसम्म लिन्छ । यसअघि यिनै कामको सिफारिस गर्दा निकै कम शुल्क लिने गरिन्थ्यो ।

रुखको हाँगा काट्दा पनि दस्तुर

भेरी नगरले रुखको हाँगा काट्नेदेखि कुखुरा निकासीसम्ममा दस्तुर लिन्छ । रुख काट्न खोजे सिफारिसमै पाँच सय रुपैयाँ र हाँगा काट्ने भए दुई सय दस्तुर तिर्नुपर्छ ।

नगरले सानो कुखुरा निकासी पैठारीमा प्रतिकुखुरा ५ रुपैयाँ लिन्छ । खसीबाख्राको ५०, गोरुको एक सय, र राँगा÷भैसीको दुई सय रुपैया प्रतिगोटा निकासी दस्तुर तोकेको छ । नगरपालिकाका लेखापाल डम्बर विष्टले भने, ‘नगरसभाबाट एकीकृत सम्पति कर लागू गरिएको हो र सेवा शुल्क पनि बढाइएको हो ।’ नगरप्रमुख चन्द्रप्रकाश घर्तीले नगरकै विकासका लागि करका दायरा बढाइएको दाबी गरे ।

तस्बिर : राजेन्द्र कार्की


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.